सुदूरपश्चिमले कर्णालीलाई ३९ रनले हरायो, डेविड मिलरले हाने अविजित ९३ रन

हिमाल प्रेस २० कार्तिक २०८३ १६:३७ | Friday, November 6, 2026
सुदूरपश्चिमले कर्णालीलाई ३९ रनले हरायो, डेविड मिलरले हाने अविजित ९३ रन

काठमाडौँ- कर्णाली याक्सलाई ३९ रनले पराजित गर्दै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) को अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ।

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको पहिलो खेलमा सुदूरपश्चिमले दिएको १७७ रनको लक्ष्य पछ्याएको कर्णालीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १३७ रन मात्रै बनाउन सक्यो।

कर्णालीका लागि डेविड मिलरले उत्कृष्ट ब्याटिङ गर्दै ५४ बलमा पाँच चौका र सात छक्कासहित ९३ रन बनाए। तर उनको यो प्रदर्शन टोलीलाई जित दिलाउन पर्याप्त भएन। दीपक डुम्रेले १८ रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

सुदूरपश्चिमका स्कट कुग्लेजिनले दुई विकेट लिए। हेमन्त धामी, अनिल खरेल, दीपेन्द्रसिंह ऐरी, थारिन्दु रत्नायके र अविनाश बोहोराले समान एक विकेट हात पारे।

यसअघि टस जितेर कर्णालीले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७६ रन बनाएको थियो।

सुदूरपश्चिमका ओपनर सैफ जैब र विनोद भण्डारीले पहिलो विकेटका लागि ७.३ ओभरमा ६८ रनको साझेदारी गर्दै टोलीलाई बलियो सुरुवात दिलाएका थिए। भण्डारीले २२ बलमा दुई चौका र दुई छक्कासहित २७ रन बनाए। उनी रनआउट भए।

अर्का ओपनर जैबले २४ बलमा चार चौका र एक छक्काको मद्दतमा ३५ रन जोडे। उनी सूर्य तामाङको बलमा बोल्ड भए। ब्रान्डन म्याकमुलेनले २४ रन बनाएर नन्दन यादवको बलमा क्याच आउट भए।

कप्तान दीपेन्द्रसिंह ऐरी १० रन बनाएर मार्क वाटको बलमा विकेटकिपरबाट समातिए। इशान पाण्डेले १३ बलमा तीन छक्कासहित २३ रन बनाए। उनी पनि वाटकै बलमा क्याच आउट भए।

आरिफ शेखले ११ रन जोड्दा थारिन्दु रत्नायके २२ र स्कट कुग्लेजिन १३ रनमा अविजित रहे।

कर्णालीका लागि मार्क वाटले दुई विकेट लिए। उनले चार ओभरमा २७ रन खर्चिए। नन्दन यादव, हुसैन तलात र सूर्य तामाङले समान एक विकेट हात पारे।

यो जितसँगै सुदूरपश्चिमले पाँच खेलबाट तीन जित र दुई हारसहित ६ अंक जोडेको छ। छैटौँ स्थानबाट दोस्रो स्थानमा उक्लिएको सुदूरपश्चिमले शीर्ष स्थानको टोलीलाई चुनौती दिएको छ।

चार खेल खेलेको कर्णालीले दुई जित र दुई हारसहित चार अंक जोडेको छ। हारपछि कर्णाली पाँचौँ स्थानमा झरेको छ।

प्रकाशित: २० कार्तिक २०८३ १६:३७ | Friday, November 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast