रास्वपा सभापति लामिछानेसँग भेटेर स्वदेश फर्किए मिस्री

हिमाल प्रेस १९ कार्तिक २०८३ १९:४४ | Thursday, November 5, 2026
रास्वपा सभापति लामिछानेसँग भेटेर स्वदेश फर्किए मिस्री

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भारतीय विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेट गरेका छन्। नेपालको दुईदिने भ्रमणमा आएका भारतीय विदेश सचिव मिस्री बूढानीलकण्ठस्थित निवास पुगेर सभापति लामिछानेसँग भेटवार्ता गरेका थिए।

शिष्टाचार भेटवार्तामा सभापति लामिछानेले आफ्नो विगतमा भएको औपचारिक भारत भ्रमणको चर्चा गर्दै आगामी दिनमा दुई मुलुक बीचमा हुन लागेका उच्चस्तरीय भ्रमणहरूको सफलताका लागि शुभकामना दिए। साथै, उनले विकास तथा आर्थिक कूटनीतिमा नेपालले जोड दिइरहेको पनि उल्लेख गरे।

भेटवार्तामा सभापति लामिछाने र विदेश सचिव मिस्रीबीच नेपाल र भारतबीचको बहुआयामिक सम्बन्धका विषयमा कुराकानी भएको थियो। दुवै जनाले दुई मुलुकबीचको गहिरो सम्बन्धलाई थप प्रगाढ बनाउने विषयमा पनि छलफल गरेका थिए।

यसअघि विदेश सचिव मिस्रीले प्रधानमन्त्री वालेन्द्र शाहसँग भेटवार्ता गरेका थिए। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर उनले प्रधानमनन्त्री शाहसँग भेटवार्ता गरेका थिए। भेटका क्रममा प्रधानमन्त्री शाहले नेपालमा हालै गएको विनाशकारी रसुवा-भोटेकोशी बाढीपछि भारत सरकारले ‘फर्स्ट रेस्पोन्डर’का रूपमा राहत सामग्री दिनुका साथै उद्धार टोली खटाएर पुर्‍याएको सहयोगप्रति आभार व्यक्त गरे।

उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालले विपद्को सामना गरिरहेका बेला फोनमार्फत सहयोगको ऐक्यवद्धता जनाएकोमा समेत आभार व्यक्त गरे। प्रधानमन्त्री शाहले नेपालको खेलकुदको विकासका लागि भारतसँग कसरी सहकार्य गर्न सकिन्छ भन्ने विषयमा पनि चासो राखेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।।

शिष्टाचार भेटमा भारतीय विदेशसचिव मिस्रीले प्रधानमन्त्रीको आसन्न भारत भ्रमणलाई लिएर तयारी तीव्र पारेको भारतीय प्रधानमन्त्री मोदीको सन्देशसहित जानकारी गराएका थिए। प्रधानमन्त्री शाहको भारत भ्रमण सफल हुने गरी आफूहरुले तयारी गरिरहेको पनि उनले बताए।

साथै, भारतीय विदेश सचिव मिस्रीले ऊर्जा, जलस्रोत, व्यापार-पारवहन र उड्डयनसम्बन्धी नेपाल र भारतका द्विपक्षीय संयन्त्रका नियमित बैठकहरू सफलतापूर्वक सम्पन्न भएको बताए। भारतको अयोध्यादेखि नेपालको जनकपुरसम्म रेलमार्ग सञ्चालनका लागि आवश्यक तयारी पुगेको उनले प्रधानमन्त्रीशाहलाई जानकारी गराएका थिए। बिहीबार यो मार्गमा रेल परीक्षण सञ्चालनसमेत भएको उनले प्रधानमन्त्रीलाई जानकारी गराए।

समकक्षी अमृतबहादुर राईको निमन्त्रणामा दुई दिने औपचारिक भ्रमणका क्रममा बुधबार काठमाडौँ आएका विदेश सचिव मिस्रीले परराष्ट्रमन्त्री शिशिर खनाल, अर्थमन्त्री डा.स्वर्णिम वाग्ले, पूर्वाधारमन्त्री सुनिल लम्साल, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठसँग भेटवार्ता गरेका थिए। उनले प्रमुख प्रतिपक्ष दलकांग्रेसका एक नेतासँग पनि भेट गरेको बताइएको छ।

विदेश सचिव मिस्री सबै भेटघाट सकेर बिहीबार नै अपराह्न स्वेदश फर्किएका छन्। उनको यो भ्रमणले नेपाल भारतबीच रहेको केही असहमति र वर्तमान सरकारसँगको संसयमा पनि केही खुलापन आएको देखिन्छ। छिमेकबाट नै प्रधानमन्त्री बालेनको दुईपक्षीय राजनीतिक भ्रमण अघि बढ्ने पनि स्पष्ट छ।

प्रकाशित: १९ कार्तिक २०८३ १९:४४ | Thursday, November 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast