बुटवल- बुटवल उपमहानगरपालिकाले आगामी तिहार तथा छठ पर्वमा नगरवासीलाई प्लास्टिकजन्य फूल तथा मालाको प्रयोग नगर्न अपिल गरेको छ।
नगर प्रमुख खेलराज पाण्डेयद्वारा जारी अपिलमा प्लास्टिकका फूलमाला प्रयोग गर्दा वातावरण प्रदूषण हुनुका साथै मानव स्वास्थ्यमा समेत नकारात्मक असर पर्ने उल्लेख गरिएको छ।
उपमहानगरपालिकाले प्लास्टिकका फूलमालाको प्रयोगलाई निरुत्साहित गर्दै स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले स्थानीय रूपमा उत्पादित फूल तथा मालाको प्रयोग गर्न नगरवासीलाई आग्रह गरेको हो।
आगामी दीपावली तथा छठ पर्वमा बाहिरबाट आयातित प्लास्टिकजन्य सामग्रीको सट्टा स्थानीय स्तरमा उत्पादित प्राकृतिक फूल तथा मालाको प्रयोग गर्न उपमहानगरले सम्पूर्ण नगरवासी, आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीलाई अनुरोध गरेको छ।
उपमहानगरपालिकाका अनुसार बुटवलका विभिन्न १७ वटा कृषि फार्मबाट माला बनाउन आवश्यक फूल खरिद गर्न सकिने व्यवस्था गरिएको छ।



