सुपथ मूल्य पसलमा पाइन्छ यी सामानमा छुट

हिमाल प्रेस १३ असोज २०८३ १३:०९ | Tuesday, September 29, 2026
सुपथ मूल्य पसलमा पाइन्छ यी सामानमा छुट

झापा- दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै झापामा चामलदेखि नुनसम्मका दैनिक उपभोग्य वस्तुमा छुटसहित सुपथ मूल्य पसल मार्फत् बिक्री सुरुवात गरिएको छ।

चाडपर्वका बेला उपभोक्तालाई राहत दिन साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जिरा मसिनो र सोना मन्सुली चामलमा प्रतिकिलो रु पाँच तथा नुनमा प्रतिकिलो रु दुई छुट दिएको छ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले चाडपर्वका बेला उपभोक्तालाई राहत पुग्ने गरी सरकारी संस्थानसँग समन्वय गरेर दैनिक उपभोग्य वस्तु सहुलियत दरमा उपलब्ध गराउने व्यवस्था मिलाइएको बताए।

‘चाडपर्वका बेला उपभोक्तालाई राहत दिन चामल, चिनी र नुनलगायत दैनिक उपभोग्य वस्तु सहुलियत दरमा उपलब्ध गराउने व्यवस्था मिलाएका छौँ,’ उनले भने।

जिरा मसिनो चामल रु ८५ र सोना मन्सुली चामल रु ५७ प्रतिकिलोमा बिक्री भइरहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको बिर्तामोडस्थित मुख्य शाखा कार्यालयका प्रमुख राजबहादुर राईले जानकारी दिए।

उनका अनुसार कार्यालयमा हाल सोना मन्सुली चामल दुई हजार ४०३ क्विन्टल, स्टिम जिरा चामल तीन हजार २३३ क्विन्टल र चिनी ४९५ क्विन्टल मौज्दात छ।

माग र आवश्यकताका आधारमा थप खाद्यान्न मगाइने उनले बताए। त्यस्तै, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले जिल्लाका २५ भन्दा बढी विक्रेतामार्फत नुन तथा चिनी उपलब्ध गराउँदै आएको जनाएको छ।

कार्यालय प्रमुख विष्णुप्रसाद न्यौपानेका अनुसार एथेष्ट नुन मौज्दात रहेको छ। प्रजिअ पोखरेलले चाडपर्वका समयमा बजारमा कृत्रिम अभाव तथा कालोबजारी हुन नदिन बजार अनुगमनलाई समेत प्रभावकारी बनाइने बताए।

उनले उपभोक्ता हितविपरीतका गतिविधि भेटिए प्रचलित कानुनबमोजिम कारबाही गरिने जानकारी दिए।

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले विर्तामोड,विराटनगर,राजविराज,लहान,जनकपुर,वीरगञ्ज,हेटौडा, नारायणगढ,त्रिशुली,पोखरा र बाग्लुङमा दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै सुपथ मूल्य पसल सञ्चालन गरेको छ।

प्रकाशित: १३ असोज २०८३ १३:०९ | Tuesday, September 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast