पोखरा- दसैँतिहारलगायत ठूला चाडपर्व नजिकिँदै गर्दा बजारमा सहज आपूर्ति व्यवस्थापन, खाद्यवस्तुमा हुने मिसावट तथा महँगी नियन्त्रणमा विशेष ध्यान दिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।
राष्ट्रिय उपभोक्ता मञ्च गण्डकी प्रदेशको आयोजना तथा गण्डकी प्रदेश सरकारको सहकार्यमा पोखरामा आयोजित अन्तरक्रियात्मक सचेतना कार्यक्रममा सहभागी वक्ताले चाडपर्वका समयमा बजार अनुगमनलाई प्रभावकारी बनाउँदै उपभोक्ता हित संरक्षणमा ध्यान दिनुपर्ने बताए।
गण्डकी प्रदेश सरकारका प्रमुख सचिव भूपाल बरालले उपभोक्ता मञ्चले समयसापेक्ष विषयमा कार्यक्रम आयोजना गरेको बताए। उनले जरिवाना र कारबाहीले मात्र समस्या समाधान नहुने भन्दै प्रत्यक्ष रूपमा मानव स्वास्थ्यसँग जोडिएको विषय भएकाले उपभोक्ता स्वयं पनि सचेत हुनुपर्नेमा जोड दिए।
सहज आपूर्ति व्यवस्थापन, मिसावट नियन्त्रण र मूल्य नियन्त्रणका विषयमा प्रदेश सरकार सहकार्य गर्न तयार रहेको उनको भनाइ छ।
कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले सम्बन्धित सबै पक्षले आआफ्नो जिम्मेवारी पूरा गरेमा बजारमा हुने विकृति न्यूनीकरण गर्न सकिने बताए।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बराल, उद्योग तथा पर्यटन मन्त्रालयका महाशाखा प्रमुख महराज ढकाल, नेपाल उद्योग वाणिज्य संघ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष सञ्जीवबहादुर कोइराला र राष्ट्रिय उपभोक्ता मञ्च नेपालका अध्यक्ष प्रेमलाल महर्जनले विषयसँग सम्बन्धित कार्यपत्र प्रस्तुत गरेका थिए।
राष्ट्रिय उपभोक्ता मञ्च गण्डकी प्रदेशका अध्यक्ष कपिलनाथ कोइरालाले उपभोक्ता र सरकारी निकाय एक सिक्काका दुई पाटा भएको बताए।
कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल, नेपाल उद्योग वाणिज्य संघ गण्डकीका कार्यवाहक अध्यक्ष सूर्यबहादुर भुजेल, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष शोभा गौतम, लेखनाथ उद्योग वाणिज्य संघकी अध्यक्ष जानुका अधिकारी पराजुली, संघका वरिष्ठ उपाध्यक्ष विक्रम कर्माचार्य, मञ्चका उपाध्यक्ष अधिवक्ता राजुराज अधिकारी, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता वीरेन्द्र पासवान, मञ्चका उपाध्यक्ष रमेश पौडेल र सचिव अधिवक्ता गीता आचार्यलगायतले धारणा राखेका थिए।


