फ्रान्सको प्रदर्शनलाई चुनावी हतियार बनाउने कूटनीति महँगो पर्ला!

हिमाल प्रेस ५ कार्तिक २०८३ २१:३६ | Thursday, October 22, 2026
14
SHARES
फ्रान्सको प्रदर्शनलाई चुनावी हतियार बनाउने कूटनीति महँगो पर्ला!

काठमाडौँ – कुनै एक देशको सडक जलिरहेको बेला अर्को देशका नेताले त्यसमा आफ्नो चुनावी आगो ताप्न खोज्नु कूटनीतिक मर्यादाको प्रश्नमात्र होइन। यसलाई तथ्य र राजनीतिक स्वार्थबीचको टकरावको रुपमा लिन सकिन्छ। अक्टोबर १७, २०२६ मा फ्रान्समा भएको प्रदर्शन र त्यसपछिको हिंसालाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासन, जिहादिस्ट र कम्युनिस्टसँग जोडेर प्रस्तुत गरे।

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंले त्यसको प्रतिवाद गर्दै विदेशी नेताहरूले आफ्नो देशलाई राजनीतिक अभियानको सामग्री बनाएको आरोप लगाएका छन्।

ट्रम्पले आप्रवासीका कारण फ्रान्समा हिंसात्मक घटना भएको दाबी गरेका थिए। उनले फ्रान्सलाई ‘एक समयको महान राष्ट्र’ भन्दै ‘आप्रवासी, जिहादिस्ट र कमुनिष्ट्स’ द्वारा, ‘फ्रान्समा हिंसा फैलाइयो, लुटियो र आगो लगाएर पूर्ण रूपमा नष्ट गरियो,’ बताए।  ट्रम्पले आप्रवासीहरूलाई  ‘पश्चिमा सभ्यता’ लाई घृणा गर्ने भनेका थिए।

उनले पेरिस चाँडै मुस्लिम सहर बन्ने दाबी गरे र फ्रान्सले सीमा बन्द गर्नुपर्ने बताए। मध्यावधि निर्वाचनको अभियानमा यो दृश्यलाई अमेरिकी मतदातालाई देखाएर आफ्नो आप्रवासन नीतिको पक्षमा उभिन आग्रह गरेको खबर दि गार्जीयनमा उल्लेख छ।

तर म्याक्रोंले कतार भ्रमणका क्रममा यस्ता टिप्पणीलाई ‘अस्वीकार्य र मूर्खतापूर्ण’ भन्दै खण्डन गरे। उनले भने, ‘हामीलाई आप्रवासी र इस्लामवादीहरूको ठूलो भिडले आक्रमण गरेको भन्ने दाबी पूर्ण रूपमा गलत छ।’  एआईबाट बनाइएका तस्बिर र भ्रामक सूचनाले घटनालाई अतिरञ्जित रूपमा प्रस्तुत गरेको उनको भनाइ थियो।

उनले थप स्पष्ट पार्दै भनेका छन् आफ्नो देशलाई चुनाव अभियानको सामग्री बनाउने काम ‘हामीलाई चाहिँदैन, हामीसँग पहिले नै आफ्नै कठिनाइ छन्।’ र वास्तविकता के होर? भन्नेमा फ्रान्स स्वयं जानकार रहेको पनि उनले बताएका छन्।

के हो त वास्तविकता

फ्रान्समा प्रदर्शन भएकै हो। करीब साढे पाँच लाख मानिस सडकमा उत्रिए। जीवनयापनको बढ्दो लागत, महँगी, शिक्षामा लगानीको अभाव र सार्वजनिक सेवाप्रतिको असन्तुष्टि प्रकट गरे। विद्यार्थीबाट सुरु भएको आन्दोलनमा श्रमिक, शिक्षक र अन्य समूह पनि जोडिए।

अधिकांश प्रदर्शन शान्तिपूर्ण थिए। तर पछि पेरिस, मार्सेई, लियोन र लिमोजलगायतका सहरमा हिंसात्मक घटना भए। पसलहरू लुटिए, गाडीहरू जलाइए। लिमोजको ऐतिहासिक सिटी हलमा आगजनी हुँदा भवनको ठूलो भाग नष्ट भयो र घण्टाघर ढल्यो। करीब दुई हजार चार सयभन्दा बढी मानिस पक्राउ परे, झन्डै एक हजार प्रहरी घाइते भए।

सरकारले सुरुमा नियन्त्रण गुमाएको स्वीकार गर्‍यो र पछि कडा सुरक्षा व्यवस्था, कतिपय ठाउँमा कर्फ्यू र थप बल प्रयोगको तयारी गर्‍यो। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले यो हिंसालाई, वर्षौंको सबैभन्दा खराबमध्ये एक घटनाको रुपमा उल्लेख गरे। तर उनीहरूले प्रदर्शनपछाडि ट्रम्पको भाष्यलाई प्रमाणित गरेका छैनन्।

द गार्जियन, रोयटर्स, सीएनएन, बीबीसी र पोलिटिकोले लेखेका छन् कि प्रदर्शनको मुख्य जड आर्थिक असन्तुष्टि र सार्वजनिक सेवाको कमजोरी हो। फ्रान्सेली सरकारले हिंसाको जिम्मेवारी अल्ट्रा-लेफ्ट समूह र अवसरवादी अपराधीहरूलाई दिएको छ। लिमोज आगजनीमा अल्ट्रा-लेफ्ट कार्यकर्ता पक्राउ परेको समाचार आएको छ।

आप्रवासन वा कट्टरपन्थी इस्लामसँग प्रत्यक्ष सम्बन्ध देखाउने कुनै ठोस प्रमाण अहिलेसम्म सार्वजनिक भएको छैन। अल जजिरा र वाशिंगटन पोस्टले पनि यही कुरा औँल्याएका छन्। ट्रम्प र अन्य दक्षिणपन्थी नेताहरूले यसलाई आप्रवासन नीतिको असफलतासँग जोडेका छन्। तर फ्रान्सभित्रै आर्थिक अन्यायको भावना व्यापक छ। त्यता भने उनीहरुले ध्यान दिएका छैनन्।

ट्रम्पको राजनीतिक सन्देश र अन्तर्राष्ट्रिय प्रतिक्रिया

अमेरिकामा रिपब्लिकनले मध्यावधि निर्वाचनको सामना गरिरहेका बेला ट्रम्पले फ्रान्सको दृश्यलाई, डेमोक्र्याट्सले अमेरिकामा गर्न चाहेको कुरा, का रूपमा प्रस्तुत गरे। उनको ट्रुथ सोसल पोस्ट र कान्सास र्‍यालीमा यो सन्देश दोहोरियो। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र अन्य केही युरोपेली नेताहरूले पनि फ्रान्सको प्रदर्शनलाई कट्टरपन्थी इस्लाम वा आप्रवासनसँग जोड्ने प्रयास गरे।

तर द गार्जियनले लेखेको छ कि यो ‘बिना प्रमाण’ को दाबी हो। सीएनएनले पनि ट्रम्पको टिप्पणीलाई ‘बिना प्रमाण’ भनेको छ र फ्रान्सको घटनालाई शिक्षा र जीवनयापनको लागतसँग जोडेको छ। म्याक्रोंको प्रतिवादको केन्द्रमा फ्रान्सको प्रतिष्ठा र तथ्यप्रतिको आग्रह छ। उनले विदेशी नेताहरूले ‘हाम्रो देशको खर्चमा अभियान’ चलाइरहेको आरोप लगाए।

‘हाम्रो देशको खराब कुरा बोल्नेहरूले हाम्रो देशलाई माया गर्दैनन्,’ म्याक्रोको  भनाइ थियो, ‘यसले कूटनीतिमा अर्को देशको आन्तरिक मामिलाबारे टिप्पणी गर्ने अधिकार र त्यसको मर्यादाबीचको सन्तुलन देखाउँछ। मित्रराष्ट्रले चिन्ता व्यक्त गर्न सक्छन्। तर अपुष्ट सूचना फैलाउने वा कुनै समुदायलाई सामूहिक रूपमा दोषी ठहर गर्ने भाष्यले पारस्परिक सम्मान कमजोर बनाउँछ।’

आज एआई र सामाजिक सञ्जालका कारण एउटा घटनाको तस्बिर क्षणभरमै विश्वभर पुग्छ। तर तस्बिर वास्तविक हो कि होइन, पुरानो हो कि नयाँ, त्यसले सही सन्दर्भ देखाउँछ कि देखाउँदैन भन्ने जाँच हुनुअघि नै राजनीतिक निष्कर्ष फैलिन सक्छ। यस्तो अवस्थामा नेताहरूको जिम्मेवारी अरूभन्दा बढी हुन्छ।

फ्रान्सको संकट काल्पनिक होइन। हिंसा वास्तविक हो। सरकारको चुनौती पनि वास्तविक छ। तर हिंसा भएको तथ्यले त्यसको कारण आप्रवासी वा मुस्लिम समुदाय नै हुन् भन्ने निष्कर्ष प्रमाणित गर्दैन। आर्थिक असन्तुष्टिलाई सम्बोधन नगरी केवल सुरक्षा उपायले दीर्घकालीन समाधान दिन सक्दैन। त्यस्तै, हिंसाको निन्दा गर्नु र शान्तिपूर्ण प्रदर्शनकारीको अधिकारको सम्मान गर्नु परस्पर विरोधी कुरा होइनन्।

अर्को देशको संकटबाट पाठ लिनु कूटनीतिक विवेक हो। तर त्यसको अपूर्ण चित्र देखाएर आफ्नै राजनीतिक स्वार्थ पूरा गर्न खोज्नु भने तथ्यको जिम्मेवार प्रयोग होइन। फ्रान्सको घटनाले यही प्रश्न उठाएको छ- विश्व राजनीतिमा कसले कस्तो दाबी गर्‍यो भन्नेभन्दा पनि, ती दाबी कति प्रमाणमा आधारित छन् भन्ने कुरा बढी महत्त्वपूर्ण हुँदैन र?

प्रकाशित: ५ कार्तिक २०८३ २१:३६ | Thursday, October 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast