भारतमा प्रदर्शनको समाचार संकलन गर्ने पत्रकारमाथि प्रहरीको धरपकड

हिमाल प्रेस २८ असोज २०८३ २१:३५ | Wednesday, October 14, 2026
6
SHARES
भारतमा प्रदर्शनको समाचार संकलन गर्ने पत्रकारमाथि प्रहरीको धरपकड

काठमाडौँ- भारतको राजधानी नयाँ दिल्लीमा सप्ताहान्तमा भएको युवा प्रदर्शनको समाचार संकलन गरिरहेका पत्रकारलाई प्रहरीले अवरोध पु¥याएको भन्दै पत्रकार तथा प्रेस स्वतन्त्रताका पक्षमा काम गर्ने संस्थाले आलोचना गरेका छन्।

उनीहरूका अनुसार समाचार संकलनका क्रममा दर्जनौँ पत्रकारलाई केही समय नियन्त्रणमा लिनुका साथै कुटपिट गरिएको थियो।

विवादास्पद मतदाता नामावली संशोधनको विरोधमा भेला भएका मुख्यतः युवा प्रदर्शनकारीलाई रोक्ने क्रममा प्रहरीले गरेको धरपकडमा ३० जनाभन्दा बढी पत्रकारलाई अस्थायी रूपमा नियन्त्रणमा लिइएको विभिन्न प्रेस स्वतन्त्रता समूहले बताएका छन्। उनीहरूले प्रहरीको व्यवहारले भारतमा प्रेस स्वतन्त्रताको अवस्थाबारे गम्भीर चिन्ता बढाएको बताएका छन्।

पत्रकारको सुरक्षा तथा प्रेस स्वतन्त्रताका लागि काम गर्ने संस्था ‘कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्स’ (सीपीजे) ले घटनाप्रति चिन्ता व्यक्त गर्दै यसलाई भारतको लोकतान्त्रिक परम्परामाथिको धब्बा भनेको छ। संस्थाले भारतीय अधिकारीलाई पत्रकारको सुरक्षा सुनिश्चित गर्न र घटनामा संलग्न दोषी अधिकारीलाई जवाफदेही बनाउन आग्रह गरेको छ।

दिल्ली प्रहरीले भने केही प्रदर्शनकारीले पत्रकारको भेष धारण गरी प्रहरीको काममा अवरोध पु¥याएको दाबी गरेको छ। प्रदर्शनको समाचार संकलन गरिरहेका र प्रेस परिचयपत्र लगाएका पत्रकारलाई प्रहरीले घिसार्दै लगेको र नियन्त्रणमा लिएको दृश्य सार्वजनिक भएका छन्।

आइतबार कानुन व्यवसायीले आफ्नो पेसागत जिम्मेवारी निर्वाह गरिरहेका पत्रकारको सुरक्षाको माग गर्दै भारतको सर्वोच्च अदालतमा निवेदन दिएका थिए। अदालतले उनीहरूको पक्षमा आदेश दिएको समाचारमा उल्लेख छ।

मतदाता नामावली संशोधनको विषयलाई लिएर भारतमा विरोध प्रदर्शन चर्किएको छ। उक्त प्रक्रियाअन्तर्गत गत वर्षयता मतदाता सूचीबाट १३ करोडभन्दा बढी नाम हटाइएको समाचारमा उल्लेख छ।

आलोचकले यो प्रक्रिया राजनीतिक उद्देश्यबाट प्रेरित रहेको र यसले लाखौँ मानिसलाई मतदानको अधिकारबाट वञ्चित गर्न सक्ने आशंका व्यक्त गरेका छन्। विपक्षी दल तथा प्रदर्शनकारीले प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गरिरहेका छन्।

निर्वाचन आयोग र प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले मतदाता सूचीमा रहेका दोहोरिएका तथा अयोग्य नाम हटाउन संशोधन प्रक्रिया अघि बढाइएको बताउँदै आएका छन्।

‘द कारभान’ पत्रिकाका २६ वर्षीय पत्रकार रायन थोमसले शनिबार प्रदर्शनको समाचार संकलन गर्ने क्रममा आफू प्रहरीको कुटपिटमा परेको र केही समय नियन्त्रणमा लिइएको बताएका छन्।

उनका अनुसार प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको दृश्य खिच्न उनी उनीहरूको पछिपछि गइरहेका थिए। त्यही क्रममा प्रहरी अधिकारीले उनलाई घेरा हालेर प्रेस कार्ड लगाएको अवस्थामा घिसार्दै बसमा चढाएका थिए। प्रहरीले उनको टाउको, घाँटी र काँधमा प्रहार गरेको, क्यामेरा खोस्ने प्रयास गरेको र भिडियो फुटेज मेटाउन दबाब दिएको थोमसले बताएका छन्।

‘द वायर’ समाचार वेबसाइटकी प्रबन्ध सम्पादक जाह्नवी सेनले पनि आफूलाई दुई सहकर्मीसहित केही समय नियन्त्रणमा लिएको बताइन्।

अन्य पत्रकार घटनास्थलमा भेला भएर तस्बिर खिच्न थालेपछि आफूलाई रिहा गरिएको उनले जानकारी दिइन्।

प्रधानमन्त्री मोदीको कार्यकालमा प्रेसमाथि दबाब बढ्दै गएको आरोप लाग्दै आए पनि यसपटक नियन्त्रणमा लिइएका पत्रकारको संख्या असामान्य रहेको सेनको भनाइ छ। उनका अनुसार प्रदर्शनकारीमाथि प्रहरीले गरेको कारबाहीका दृश्य सार्वजनिक हुन नदिन प्रहरी सक्रिय देखिएको थियो।

‘उनीहरूले पत्रकारको परिचयपत्र नदेखेका होइनन्,’ सेनले भनिन्, ‘बरु उनीहरू प्रदर्शनका दृश्य बाहिर नजाऊन् भन्ने चाहन्थे।’

भारतको सबैभन्दा ठूलो पत्रकार संगठनमध्ये एक ‘प्रेस क्लब अफ इन्डिया’ ले प्रहरीको व्यवहारलाई ‘प्रेस स्वतन्त्रतामाथिको ठाडो प्रहार’ भनेको छ।

‘रिपोर्टर्स विदाउट बोर्डर्स’ले सार्वजनिक गरेको प्रेस स्वतन्त्रता सूचकांकमा भारत १८० देशमध्ये १५७औँ स्थानमा छ। एक दशकअघि भारत उक्त सूचीमा १३३औँ स्थानमा थियो।

आलोचकले प्रेस स्वतन्त्रताको अवस्थामा आएको गिरावटका लागि विगत १२ वर्षदेखि सत्तामा रहेको मोदी सरकारलाई जिम्मेवार ठहर गर्दै आएका छन्। उनीहरूका अनुसार सरकारले आलोचनात्मक समाचार, पत्रकारिता र असहमतिका आवाजमाथि नियन्त्रण बढाउँदै लगेको छ। तर, सरकारले भने यस्ता आरोप अस्वीकार गर्दै आएको छ।-रासस/एपी

प्रकाशित: २८ असोज २०८३ २१:३५ | Wednesday, October 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast