सन् २०२४ मे १९ मा इङ्ल्यान्डको म्यानचेस्टरमा म्यानचेस्टर सिटी र वेस्ट ह्याम युनाइटेडबीचको प्रिमियर लिग फुटबल खेलपछि उपाधिसहित खुसी मनाउँदै म्यानचेस्टर सिटीका खेलाडी। फाइल तस्बिर : एपी/रासस
सन् २०२३ को थालनीमा प्रिमियर लिगले म्यानचेस्टर सिटीमाथि एक सयभन्दा बढी पटक आर्थिक नियम उल्लंघन गरेको आरोप लगाएपछि केही घण्टा पनि बितेको थिएन, क्लबका अध्यक्षको कार्यतालिकामा एउटा महत्त्वपूर्ण भेट तय थियो। अबुधाबीको लगानी कोष मुबाडालाका प्रमुख कार्यकारीसमेत रहेका खाल्दुन अल-मुबारकले त्यतिबेला बेलायतका अर्थमन्त्री जेरेमी हन्टलाई भेट्ने कार्यक्रम थियो।
पूर्वप्रधानमन्त्री लिज ट्रसको स्रोत सुनिश्चित नगरिएको सानो बजेटका कारण उत्पन्न संकटको पाँच महिनाभन्दा कम समयपछि विश्वास पुनःस्थापित गर्ने बृहत् प्रयासकै एउटा हिस्सा थियो त्यो भेट। बैठकको प्रारम्भमै बेलायती अर्थ मन्त्रालयका अधिकारीहरूले फुटबलको विषय नउठाउन सुझाएका थिए। तर आफ्नो क्लबमाथि गरिएको व्यवहारप्रति असन्तुष्ट मुबारकले उक्त विषय उठाइहाले।
बैठकबारे जानकारी भएका दुई व्यक्तिका अनुसार उनले यस्तो गरेका थिए। तीमध्ये एक व्यक्तिका अनुसार मुबारकले अनियन्त्रित कार्टेलले अबुधाबीको एउटा महत्त्वपूर्ण सम्पत्तिमाथि आक्रमण गरेको र अमिरातका प्रतिष्ठित कम्पनीहरूमध्ये केहीको अपमान गरेको बताएका थिए।
हन्टले प्रिमियर लिग स्वतन्त्र संस्था भएकोमा जोड दिँदै कुराकानी पुनः लगानीको विषयतर्फ मोडे। मुबारकका ती तिखा टिप्पणीले दुई विषयलाई सहजै अलग गर्न नसकिने स्पष्ट पारे। राज्यका मामिला र एउटा फुटबल क्लबका विषयलाई एउटै ठाउँमा मिसाइनुले राज्यको समर्थनमा सञ्चालित म्यानचेस्टर सिटीको स्वामित्वले खेललाई कति रूपान्तरण गरेको छ भन्ने देखाउँछ। यसको प्रभाव खेलका नियममा मात्र सीमित छैन; अन्तर्राष्ट्रिय सम्बन्ध र लगानीसम्म फैलिएको छ।
केही साताअघि क्लबको वित्तीय कारोबारमाथि आएको कठोर प्रतिवेदनपछि बेलायत सरकार अरब विश्वका आफ्ना महत्त्वपूर्ण साझेदारमध्ये एकसँगको सम्बन्ध राम्रो राख्दै बेलायती संस्थाहरूको स्वतन्त्रता जोगाउने प्रयासमा छ। सिटीका पूर्वअध्यक्ष डेभिड बर्नस्टाइनले भने, ‘स्वामित्वको सम्पूर्ण प्रश्न र पछिल्ला २० वर्षमा खेल जुन दिशामा विकसित भएको छ, त्यो अहिले बहसको विषय बनेको छ। जहाँ ठूलो परिमाणमा पैसा हुन्छ, त्यहाँ ठूला समस्या पनि आउँछन्। अहिलेको प्रश्न हो- के सिटी असफल हुनै नसक्ने गरी ठूलो भइसकेको छ?’
सन् २००८ देखि अबुधाबीको राजपरिवारका सदस्य सेख मन्सुरको स्वामित्वमा रहेको सिटी अहिले विश्वभरका एक दर्जन क्लब समेटिएको फुटबल साम्राज्यको केन्द्र बनेको छ। उनको पैसाको बलमा सिटीले फुटबलका स्थापित शक्तिहरूको एकाधिकार तोडेको छ र अङ्ग्रेजी फुटबलका केही अविस्मरणीय क्षण सिर्जना गरेको छ। त्यसमध्ये सन् २०११-१२ को सिजनको नाटकीय अन्त्य पनि एक हो। अन्तिम क्षणमा अर्जेन्टिनी स्ट्राइकर सर्जियो अगुएरोले गरेको गोलले सिटीलाई पहिलो पटक प्रिमियर लिगको उपाधि दिलाएको थियो।
यो क्लब अबुधाबीको नेतृत्वमा अघि बढाइएको बृहत्तर पुनरुत्थान परियोजनाको आधारभूत लगानी पनि बन्यो। त्यस परियोजनाले म्यानचेस्टरको उपेक्षित क्षेत्रमा नयाँ आवास, कार्यालय र मनोरञ्जनका सुविधा थपेर त्यसको स्वरूप बदल्न सहयोग गर्यो। बेलायतको केन्द्रीय सरकारले मात्र होइन, म्यानचेस्टरका पूर्वमेयर तथा अहिले बेलायतका प्रधानमन्त्री रहेका एन्डी बर्नहमले पनि सिटीलाई विदेशी लगानीको नमुनाका रूपमा प्रस्तुत गरेका थिए।
सेख मन्सुरले सिटी किन्नु विश्व खेलकुदकै लागि एउटा निर्णायक मोड थियो। त्यसले एउटा नयाँ युगको संकेत गर्यो, जहाँ विशेषगरी खाडी क्षेत्रका देशहरूले आफ्नो प्रभाव र आकर्षण विश्वभर फैलाउन खेलकुदलाई माध्यम बनाउन थाले।
त्यसपछिका वर्षमा कतार र साउदी अरबले पनि फुटबल क्लब किने। उनीहरू अबुधाबीका साथ फर्मुला वानको रेसिङ क्षेत्रमा जोडिए, क्लब र लिगसँग सयौँ प्रायोजन सम्झौता गरे र फिफा विश्वकप आयोजना गर्ने अधिकारसमेत हासिल गरे। पछिल्ला चारमध्ये तीनवटा च्याम्पियन्स लिग फाइनल खाडी क्षेत्रको पैसाको समर्थन पाएका टोलीले जितेका छन्। तर सन् २०१२ मा सिटीले हासिल गरेको ऐतिहासिक जित र त्यसपछि जितेका अनेकौँ उपाधि तथा कपहरू अहिले खेलकुद इतिहासकै सबैभन्दा ठूला ठगी प्रकरणमध्ये एउटाको छायामा परेका छन्।
गत महिना स्वतन्त्र आयोगले सार्वजनिक गरेको प्रतिवेदनअनुसार सिटीले सन् २००९ देखि २०१८ सम्म आफ्नो आम्दानी बढाएर र खर्च घटाएर देखाउन ‘नक्कली’ सम्झौता प्रयोग गरेको थियो। यसरी क्लबले नौ करोड होइन, ९० करोड पाउन्डभन्दा बढीको वित्तीय हेरफेर गरेको आयोगको निष्कर्ष थियो। यसको उद्देश्य नियमले अनुमति दिएको भन्दा निकै बढी रकम खेलाडी खरिदमा खर्च गर्नु थियो।
क्लबले नियम पालना गरेको भए अगुएरो सायद मैदानमै हुने थिएनन् र सिटीले उपाधि पनि जित्ने थिएन। फुटबलका एक वरिष्ठ कार्यकारीले भने, ‘राज्यको समर्थन प्राप्त मालिकलाई क्लबको स्वामित्व दिनुपर्छ कि पर्दैन भन्ने विषयमा क्लबहरूबीच कहिल्यै बहस भएन। अहिले पछाडि फर्केर हेर्दा, के हामीले केही कुरा छुटायौँ त? निश्चय नै।’
ठूलो धनराशिको कब्जा
म्यानचेस्टर सिटी परम्परागत रूपमा म्यानचेस्टरको अर्को क्लबभन्दा सानो र कम आकर्षक मानिन्थ्यो। सन् २००६ मा थाइल्यान्डमा सैनिक विद्रोह भएपछि परिस्थिति बदलिन थाल्यो। त्यसबेला प्रधानमन्त्री थाक्सिन सिनावात्रा सत्ताच्यूत भएर निर्वासनमा गएका थिए। सन् २००७ मा उनले सिटी क्लब किने। उनको नाम उच्चारण गर्न कठिनाइ हुने समर्थकहरूले मायाले उनलाई ‘फ्र्यांक सिनात्रा’ भनेर बोलाउँथे।
थाइल्यान्डमा थाक्सिनका कानुनी समस्या बढ्दै गएपछि त्यसको एक वर्षमै क्लब बिक्रीमा राखियो। त्यसपछि दुई जना मध्यस्थकर्ता अगाडि आए- बेलायती वित्तीय कारोबारी अमान्डा स्टेभली र संयुक्त अरब इमिरेट्सका घरजग्गा तथा सञ्चार व्यवसायी सुलेमान अल-फहिम। भड्किलो जीवनशैली अपनाउने, महँगा स्पोर्ट्स कार चलाउने र पामेला एन्डरसनजस्ता चर्चित व्यक्तिहरूसँग उठबस गर्ने व्यक्तिका रूपमा फहिमको छवि बनेको थियो।
यी दुईले अबुधाबीको राजपरिवारका वरिष्ठ सदस्य सेख मन्सुरलाई क्लब बिक्री गर्ने व्यवस्था मिलाए। सन् २००८ को सेप्टेम्बरमा लेहम्यान ब्रदर्स धराशयी भएको तीन दिनपछि यो कारोबार अन्तिम चरणमा पुगेको थियो। त्यसको एक महिनापछि स्टेभली अझ ठूलो कारोबारको वार्तामा व्यस्त थिइन्। बेलायती बैंक बार्कलेज करदाताको पैसाबाट उद्धार गर्नुपर्ने अवस्था आउन नदिन संघर्ष गरिरहेका बेला अबुधाबीका लगानीकर्ताले उक्त बैंकमा तीन अर्ब पाउन्डभन्दा बढी लगानी गर्ने सम्झौता त्यसैबाट अघि बढेको थियो।
विश्वव्यापी वित्तीय संकट चर्किरहेका बेला खाडी क्षेत्रका सार्वभौम लगानी कोषहरूको प्रभाव बढिरहेको थियो। ती कोषले संकटमा परेका बैंक र अन्य संस्थामा ठूलो रकम खन्याइरहेका थिए। त्यतिबेला संलग्न व्यक्तिहरूका अनुसार प्रिमियर लिगले नयाँ मालिकलाई स्वीकृति दिने प्रक्रिया थाल्दा बेलायतको परराष्ट्र मन्त्रालय र व्यापारसम्बन्धी मन्त्रालयलाई सम्पर्क गरेर सम्भावित खरिदकर्ताले देशमा लगानी गर्न अनुमति पाउन सक्छ कि सक्दैन भनेर सोधिन्थ्यो।
सेख मन्सुरको हकमा गोर्डन ब्राउन नेतृत्वको लेबर सरकारले स्पष्ट रूपमा अनुमति दिएको थियो। त्यस सरकारमा व्यापारमन्त्री पिटर म्यान्डेल्सन र त्यतिबेला युवा संस्कृतिमन्त्री रहेका बर्नहम पनि थिए।

विश्वव्यापी पुँजीका लागि बेलायत आकर्षक गन्तव्य बनिसकेको थियो। बार्कलेजको उद्धारमा सहभागी कतारको सार्वभौम सम्पत्ति कोषले त्यसको एक वर्षअघि नै सुपरमार्केट शृंखला सेन्सबरीमा ठूलो हिस्सेदारी लिएको थियो। लन्डनको सबैभन्दा अग्लो भवन ‘द सर्ड’ जस्ता प्रतिष्ठित सम्पत्तिमा पनि उसले लगानी गरिरहेको थियो।
फुटबल पनि लगानीकर्ताका लागि आकर्षक बनिरहेको थियो। रुसी धनाढ्य रोमन अब्रामोभिचले सन् २००३ मा चेल्सी किनेका थिए भने ग्लेजर परिवारले सन् २००५ मा म्यानचेस्टर युनाइटेडको स्वामित्व लिएको थियो।
फुटबलका एक वरिष्ठ कार्यकारीले भने, ‘प्रिमियर लिगको दृष्टिकोण थियो- जोसँग पैसा छ, ऊ स्वागतयोग्य छ। धनाढ्य, सार्वभौम सम्पत्ति कोष, देश- सबैलाई आउन भनियो। देशको संस्कृति उनीहरूलाई खुला हृदयले स्वागत गर्ने थियो। फुटबलले पनि देशकै प्रवृत्ति पछ्यायो।’
संयुक्त अरब इमिरेट्सको राजधानी अबुधाबीले सार्वभौम लगानी कोषमार्फत झन्डै दुई खर्ब अमेरिकी डलरको लगानी व्यवस्थापन गर्छ। अबुधाबीले सिटी खरिदको कारोबार निजी भएको दाबी गर्दै आएको छ।
परम्परागत रूपमा रूढिवादी र आफ्नो छविप्रति सचेत अबुधाबीको शेख मन्सुर स्वामित्वको क्लबमाथि निगरानी बढ्दै गयो। त्यस्तो निगरानीको ठूलो हिस्सा अबुधाबीलाई मन परेको थिएन। त्यसपछि फहिमलाई पाखा लगाइयो र अबुधाबीका वरिष्ठ अधिकारीमध्ये एक मुबारकलाई परियोजनाको रेखदेख गर्ने जिम्मेवारी दिइयो।
पछि फहिमलाई पोर्ट्समाउथ फुटबल क्लब किन्न आफ्नी पत्नीबाट ५० लाख पाउन्ड चोरेको अभियोगमा संयुक्त अरब इमिरेट्समा जेल सजाय भयो। सन् २००९ को गर्मीयाममा उनी जम्मा छ हप्ताका लागि पोर्ट्समाउथका मालिक बनेका थिए। सन् २०१० को सुरुतिर उक्त क्लब ऋण तथा आर्थिक संकट व्यवस्थापनको प्रक्रियामा गयो।
अध्यक्ष बन्दा मुबारक ३० वर्षको उमेर आसपासका थिए। तर उनी त्यतिबेलै तीव्र गतिमा उदाउँदै गरेका व्यक्तित्व र अबुधाबीका सबैभन्दा शक्तिशाली गैरराजपरिवार सदस्यमध्ये एक बनिसकेका थिए। उनी अर्बौँ डलरका लगानी पोर्टफोलियो व्यवस्थापन गर्थे। उनी सेख मोहम्मद बिन जायद अल-नह्यानका विश्वासपात्र सहयोगी पनि थिए। सेख मोहम्मद त्यतिबेला अबुधाबीका युवराज थिए र उनलाई ‘एमबीजेड’ भनेर चिनिन्थ्यो। सानो खाडी राज्यको महत्त्वाकांक्षी विकास योजना अघि बढाउने मुख्य व्यक्ति पनि उनी नै थिए।
फुटबलले नयाँ अध्याय खोल्यो। सिटीको स्वामित्व खरिद र ब्राजिलका मिडफिल्डर रोबिन्होलाई तीन करोड पाउन्डभन्दा बढीमा कीर्तिमानी रकम तिरेर भित्र्याउने घोषणा गर्दै सेख मन्सुरले खुला पत्र लेखेका थिए। त्यसमा उनले क्लबप्रतिको आफ्नो ‘महत्त्वाकांक्षी’ दृष्टिकोण प्रस्तुत गरेका थिए।
उनले लेखेका थिए, ‘प्रिमियर लिगको शीर्ष चारमा निरन्तर स्थान बनाउन र युरोपेली उपाधि जित्न सक्ने टोली निर्माण गर्न समय लाग्छ भन्ने हामीले बुझेका छौँ। हामी यसलाई ठोस व्यावसायिक लगानीका रूपमा हेर्छौँ। यद्यपि क्लबलाई हामीले चाहेको स्तरमा पुर्याउन पैसा लगानी गर्नुपर्छ भन्ने पनि हामी बुझ्छौँ।’
सिटीका नयाँ मालिकसँग पछ्याउनका लागि एउटा नमुना थियो। अब्रामोभिचले क्लब किनेको दुई वर्षमै खेलाडीमा ठूलो रकम खर्च गरेपछि चेल्सी लगातार दुई सिजन प्रिमियर लिग च्याम्पियन बनेको थियो। सिटीको स्वामित्व हस्तान्तरण हुँदा डेलोइटका अनुसार आम्दानीका आधारमा क्लब युरोपमा २०औँ स्थानमा थियो।
पत्रकार डेभिड कोनसँग आफ्नो पुस्तक रिचर द्यान गड का लागि दिएको अन्तरवार्तामा मुबारकले भनेका थिए, ‘हामीले एउटा अवसर पहिचान गर्यौँ र त्यसलाई समात्यौँ। हामीले उपलब्ध गराउन सक्ने वित्तीय स्रोतका कारण मध्यमस्तरको क्लब ठूलो क्लबमा रूपान्तरण हुनेछ।’
त्यसपछि पैसाको खोलो बग्न थाल्यो। चार करोड १० लाख पाउन्डमा स्ट्राइकर कार्लोस तेभेजजस्ता चर्चित खेलाडी क्लबमा भित्रिए र सिटी लिगको तालिकामा माथि उक्लिन थाल्यो।
खेलाडी किनबेचसम्बन्धी तथ्यांक राख्ने वेबसाइट ट्रान्सफरमार्कटका अनुमानअनुसार स्वामित्व परिवर्तन भएयता सिटीले खेलाडी खरिदमा चार अर्ब ५० करोड युरो खर्च गरेको छ। मुद्रास्फितिको प्रभाव समायोजन गर्दा खेलाडी बिक्रीबाट करिब एक अर्ब ९० करोड युरो फिर्ता पाएको छ। यस अवधिमा नयाँ खेलाडी खरिदमा भएको खर्च र खेलाडी बिक्रीबाट प्राप्त आम्दानीबीचको अन्तर सिटीको सबैभन्दा बढी छ।
सिटी चाँडै अबुधाबीको सावधानीपूर्वक निर्माण गरिएको छविको एउटा अभिन्न परियोजना बन्यो। यो कारोबार त्यतिबेला भएको थियो, जतिबेला एमबीजेडले अर्बौँ डलरका विकास योजना अघि बढाइरहेका थिए। ती योजनामा फर्मुला वान ग्रान्ड प्रिक्स र लुभ्र तथा गुगनहाइम संग्रहालयका शाखा स्थापना गर्ने योजना पनि समावेश थिए।
सिटीका धेरै प्रायोजक जस्तै विमानसेवा कम्पनी एतिहाद र दूरसञ्चार कम्पनी एतिसलात राज्यको स्वामित्वमा छन् वा राजपरिवारका सदस्य अध्यक्ष रहेका राज्यका लगानी कोषको स्वामित्वमा छन्।
पूर्वी म्यानचेस्टरमा पनि लगानी आउन थाल्यो। यसले लन्डनबाहिर प्रत्यक्ष वैदेशिक लगानीका लागि बेलायतकै प्रमुख गन्तव्य बन्न म्यानचेस्टरलाई सहयोग गर्यो। स्वामित्व परिवर्तन भएयता आफ्नो मूल कम्पनीले उक्त क्षेत्रमा एक अर्ब पाउन्डभन्दा बढी लगानी गरिसकेको सिटीको दाबी छ। त्यसबाट अपार्टमेन्ट भवन, कार्यालय र प्रत्यक्ष संगीत कार्यक्रमका लागि नयाँ रंगशाला निर्माण गरिएका छन्। गत सप्ताहान्तमा ४०१ शय्याको नयाँ होटल पनि सञ्चालनमा आएको छ।
यो लगानीले म्यानचेस्टरलाई आर्थिक रूपमा तीव्र गतिमा अघि बढिरहेको सहर र देशका अन्य भागमा पनि अनुकरण गर्न सकिने विकासको नमुनाका रूपमा प्रस्तुत गर्न सहयोग गर्यो। यही विचारले बर्नहमलाई अन्ततः बेलायतको प्रधानमन्त्री निवास डाउनिङ स्ट्रिटसम्म पुग्न मद्दत गरेको थियो।
ठगीको थालनी
पर्दापछाडि सिटी क्लब सञ्चालन गर्नेहरूले यो परियोजनामा सुरुमा अनुमान गरिएभन्दा धेरै पैसा आवश्यक पर्ने कुरा चाँडै बुझिसकेका थिए। स्वतन्त्र आयोगले सार्वजनिक गरेको प्रतिवेदनअनुसार सन् २००९ को अन्त्यसम्म आइपुग्दा प्रायोजनबाट आम्दानी जुटाउनु अपेक्षाभन्दा ‘झन् चुनौतीपूर्ण’ भइरहेको थियो। त्यसैले क्लबले आगामी केही वर्षसम्म ठूलो घाटा बेहोर्नुपर्ने अनुमान गर्न थालिसकेको थियो।
अङ्ग्रेजी फुटबलको इतिहासमै सबैभन्दा ठूलो वार्षिक घाटा देखाउनुपर्ने अवस्था आउन सक्ने चिन्ता विशेष रूपमा थियो। आफ्नो खर्च योजनाअनुसार अघि बढ्न क्लबका मालिकले ‘अत्यन्त ठूलो रकम’ उपलब्ध गराउनुपर्ने हुन्थ्यो। त्यसो गर्दा युरोपेली फुटबल महासंघ (यूईएफए) ले लागू गर्न लागेको खर्चसम्बन्धी नियम उल्लंघन हुने थियो।
आयोगको निष्कर्षअनुसार सन् २०१० को थालनीतिर क्लबका कार्यकारीहरूले एउटा ‘लुकाइएको वित्तीय सहायता योजना’ बनाए। त्यस योजनाअन्तर्गत क्लबका मालिकले पुँजीका रूपमा उपलब्ध गराएको रकमलाई लेखामा प्रायोजकबाट प्राप्त आम्दानीका रूपमा देखाइन्थ्यो।
आयोगका अनुसार सन् २००९ देखि २०१८ सम्म सिटीले व्यावसायिक आम्दानीका रूपमा ९५ करोड पाउन्ड देखाएको थियो। तर त्यसको ११ करोड ९२ लाख ५० हजार पाउन्ड मात्रै वास्तवमा प्रायोजकहरूले भुक्तानी गरेका थिए।
सिटीका अधिकारीहरूले भने आफूहरूले कुनै गलत काम नगरेको दाबी गर्दै आएका छन्। क्लबले आयोगको निष्कर्षविरुद्ध पुनरावेदन दायर गरेको छ। आफ्नो प्रतिष्ठा जोगाउन उपलब्ध सबै कानुनी उपाय अपनाउने प्रतिबद्धतासमेत जनाएको छ।
क्लबले भनेको छ, ‘क्लबको स्पष्ट धारणा छ- विभिन्न आधारमा उक्त निर्णयमा कानुन, सिद्धान्त र तथ्यसम्बन्धी स्पष्ट तथा महत्त्वपूर्ण त्रुटि छन्। त्यसैले उक्त निर्णयलाई सुरक्षित र भरपर्दो मान्न सकिँदैन।’
स्वामित्व परिवर्तन भएको केही समयपछि नै सिटीको वित्तीय कारोबारमाथि प्रश्न उठ्न थालेका थिए। सन् २००९ मा आर्सनलका तत्कालीन व्यवस्थापक आर्सेन वेंगरले पहिलोपटक सिटीमाथि ‘वित्तीय डोपिङ’ अर्थात् आर्थिक शक्तिको अनुचित प्रयोग गरेर प्रतिस्पर्धात्मक लाभ लिएको आरोप लगाएका थिए। सन् २०११ मा उनले यूईएफएलाई सिटीका प्रायोजन सम्झौतामाथि अनुसन्धान गर्न आग्रह गरे।
तर बेलायत सरकारले सिटी परियोजनालाई स्वागत गरेको थियो। क्लबको नयाँ एकेडेमी उद्घाटनका क्रममा तत्कालीन अर्थमन्त्री जर्ज ओसबर्नले म्यानचेस्टर सिटी काउन्सिल र शेख मन्सुरको लगानी संस्था अबुधाबी युनाइटेड ग्रुपबीचको सम्बन्धलाई ‘सार्वजनिक-निजी साझेदारीको मानक’ बताएका थिए।
त्यसको अर्को वर्ष प्रधानमन्त्री डेभिड क्यामरुन र मुबारकले राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङलाई क्लबको भ्रमण गराएका थिए। भ्रमणको अन्त्यमा अर्जेन्टिनी खेलाडी अगुएरोसँगै उनीहरूले सामूहिक तस्बिर खिचेका थिए। सन् २०१५ मा चिनियाँ लगानीकर्ताको एउटा समूहले सिटीमा हिस्सेदारी लिएको थियो, तर केही वर्षपछि त्यो बेच्यो।

सिटीका मालिकहरूले फुटबलमा आफ्नो लगानी विस्तार गर्न थाले। उनीहरूले स्पेन, अस्ट्रेलिया र अमेरिकाका क्लब किन्दै गए। यही विस्तारबाट पछि एक दर्जनभन्दा बढी क्लबमा लगानी भएको ‘सिटी फुटबल ग्रुप’ बन्यो।
विश्वमञ्चमा आफ्नो प्रभाव विस्तार गर्न उत्सुक अबुधाबीका छिमेकी देशहरूले पनि यसबाट पाठ सिकिरहेका थिए। सन् २०१० मा कतारले सन् २०२२ को विश्वकप आयोजना गर्ने अधिकार पायो। उक्त निर्णयले फुटबल जगत्लाई चकित पारेको थियो। त्यसले फिफामा अमेरिकी भ्रष्टाचार अनुसन्धानसमेत सुरु गरायो, जसले फुटबलको सर्वोच्च निकायलाई नै धराशयी बनाउने जोखिम उत्पन्न गरेको थियो।
विश्वकप आयोजनाको अधिकार पाएपछि केही महिनामै कतारको सार्वभौम सम्पत्ति कोषले फ्रान्सेली फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) किनेको थियो। त्यसपछि मैदानमा टोलीको प्रदर्शन सुधार्न उसले आक्रामक रूपमा पैसा खर्च गर्न थाल्यो। स्वामित्व परिवर्तन भएको १५ वर्षमा पीएसजीले १२ पटक फ्रान्सेली लिगको उपाधि जितेको छ।
सन् २०१८ मा सिटीको वित्तीय कारोबारबारे लामो समयदेखि चलिरहेका हल्ला सार्वजनिक विवादमा परिणत भए। पोर्चुगिज ह्याकर रुई पिन्टोले क्लबका सञ्चालक समिति सदस्य तथा मुबारकका सल्लाहकार साइमन पियर्सले पठाएका इमेलसहितका कागजात हात पारेपछि यो विषय बाहिर आएको थियो।
पिन्टोले ती कागजात जर्मन पत्रिका डेर स्पिगललाई उपलब्ध गराए। त्यसपछि पत्रिकाले सिटीले प्रायोजनबाट हुने आम्दानी बढाएर देखाएको र भुक्तानीहरू लुकाएको आरोपसहित शृङ्खलाबद्ध समाचार प्रकाशित गर्यो। क्लबका अधिकारीहरूबीच आदानप्रदान भएका इमेलले नियम उल्लंघन गर्दा पनि सजाय नहुने मानसिकता र आफूहरूलाई नियम लागू नहुने सोच रहेको संकेतसमेत गरेका थिए।
यूईएफएले फेरि अनुसन्धान सुरु गर्यो र सन् २०२० मा सिटीलाई दुई वर्षका लागि च्याम्पियन्स लिग खेल्न प्रतिबन्ध लगायो। तर क्लबले खेलकुदसम्बन्धी मध्यस्थता अदालतमा पुनरावेदन गरेपछि प्रतिबन्ध उल्टियो।
गत महिना स्पेनी फुटबल लिगका अध्यक्ष खाभियर तेबासले सन् २०२० को उक्त निर्णयलाई ‘गम्भीर रूपमा गलत दिशामा गएको’ र ‘युरोपेली फुटबलको आर्थिक नियन्त्रण प्रणालीको विश्वसनीयतामा असाधारण क्षति पुर्याउने’ निर्णय भनेका थिए। उनले ‘राज्यको स्वामित्वमा रहेका क्लब’ नियन्त्रण गर्न नसक्दा युरोपेली फुटबलमा पर्ने जोखिमबारे लामो समयदेखि चेतावनी दिँदै आएका छन्। त्यो फैसलापछिका वर्षमा खेलकुदमा खाडी देशहरूको प्रभाव झन् बढेको छ।

कतार र साउदी अरब दुवै सन् २०२१ मा फर्मुला वानको रेसिङ तालिकामा जोडिए। त्यही वर्ष साउदीको सार्वजनिक लगानी कोषले न्युक्यासल युनाइटेड किन्यो। अनुसन्धान संस्था ‘प्ले द गेम’ को सन् २०२३ को प्रतिवेदनअनुसार साउदी संस्थाहरूले खेलकुदका विभिन्न क्षेत्रमा तीन सयभन्दा बढी प्रायोजन सम्झौता गरेका छन्। ती सम्झौता बक्सिङ र टेनिसदेखि अन्य खेलसम्म फैलिएका छन्।
मध्यपूर्वमा युद्ध सुरु भएपछि खेलकुदमा हुने केही लगानी कटौती गरिएको छ। विशेषगरी अहिले दिवालिया बनेको लिभ गल्फ प्रतियोगितामा रियादको लगानी घटेको छ। तर, विश्व खेलकुदमा यस क्षेत्रको महत्त्व कायम रहने देखिन्छ। सन् २०३४ मा विश्वकप आयोजना गरेर साउदी अरबले कतारकै बाटो पछ्याउनेछ। उसले ओलम्पिक आयोजना गर्ने सम्भावनाबारे पनि विचार गरेको छ। अन्तर्राष्ट्रिय ओलम्पिक समितिले केही साताअघि सन् २०३६ को ओलम्पिक आयोजनाका लागि कतारको उम्मेदवारी पुष्टि गरेको छ।
म्यानचेस्टर सिटीको वित्तीय कारोबारबारे प्रिमियर लिगले सन् २०१८ मा आफ्नै अनुसन्धान सुरु गरेको थियो। तर अनुसन्धानको गति अत्यन्त सुस्त रह्यो। सिटीमाथि आर्थिक नियमावली उल्लंघनका एक सय १५ वटा आरोप लगाउँदै स्वतन्त्र आयोगमा मुद्दा पठाउन सन् २०२३ को फेब्रुअरीसम्म कुर्नुपर्यो।
निर्णय आउन त्यसपछि थप साढे तीन वर्ष लाग्यो। तर निर्णय सार्वजनिक हुँदा आयोगको निष्कर्ष स्पष्ट थियो- क्लबमाथि लगाइएका लगभग सबै आरोपमा सिटी दोषी ठहरिएको थियो। अनुसन्धान सुरु हुनुभन्दा केही समयअघि मात्रै प्रिमियर लिगको प्रमुख कार्यकारी बनेका रिचर्ड मास्टर्सले यो मुद्दा ‘लामो र कठिन’ भए पनि प्रतियोगिताको निष्पक्षता र विश्वसनीयता जोगाउन अत्यन्त आवश्यक रहेको बताए।
आयोगको निष्कर्षले सिटीको भविष्य अनिश्चित बनाएको छ। सम्भावित कारबाहीमा जरिबाना, अंक कटौतीदेखि प्रिमियर लिगबाट निष्कासनसम्म हुन सक्छ। प्रतिवेदनको कठोर भाषा हेर्दा धेरै कानुनविद्ले क्लबमाथि गम्भीर कारबाही हुने अपेक्षा गरेका छन्।
अहिले क्लब सञ्चालन गरिरहेका अधिकारीहरू आफ्नो पदमा कायम रहन सक्छन् कि सक्दैनन् भन्ने प्रश्न पनि उठेको छ। बेलायतको नयाँ फुटबल नियामकले व्यक्तिहरूले गलत काम गरेको स्पष्ट प्रमाण भेटिएमा क्लबका मालिक, सञ्चालक र कार्यकारीहरूको उपयुक्तता जाँच्न आफूलाई प्राप्त अधिकार प्रयोग गर्ने प्रतिबद्धता जनाएको छ।

सिटीसँग निकट सम्बन्ध भएका एक व्यक्तिका अनुसार क्लबका मालिकहरू सुरुमा स्वामित्व कायम राख्न दृढ थिए। तर आयोगको निर्णयपछि समर्थकहरूको प्रतिक्रिया उनीहरूले अपेक्षा गरेभन्दा मिश्रित देखिएको छ।
सन् २००३ मा सिटीको अध्यक्ष पद छाडेका बर्नस्टाइनले भने, ‘हामीले यो प्रश्न सोध्नैपर्छ- के मालिकहरू अब पनि क्लब चलाइरहन चाहन्छन्? यसले उनीहरूका लागि राम्रो प्रचारको काम गरेको थियो, तर अहिले यो विपत्ति बनेको छ।”
फुटबलका उत्साही समर्थकसमेत रहेका बर्नहमले बीबीसीसँग सिटीका मालिकहरूले क्लब बेच्ने वा उनीहरूलाई बाहिरिन बाध्य पारिने अवस्था आए आफू ‘वास्तवमै चिन्तित’ हुने बताएका थिए। उनले सिटीका मालिकहरूलाई ‘आधुनिक म्यानचेस्टर निर्माणका प्रमुख साझेदार’ भनेका थिए। त्यसपछि प्रधानमन्त्री कार्यालयले उक्त भनाइबाट पछि हटेको थियो।
प्रिमियर लिगको एउटा क्लबमा कार्यरत अन्तर्राष्ट्रिय मामिलासम्बन्धी एक अधिकारीले बेलायत र संयुक्त अरब इमिरेट्सबीचको सम्बन्धबारे फाइनान्सियल टाइम्ससँग भने, ‘अन्ततः तपाईंहरू ड्याडीको सही पक्षमा रहनैपर्छ।”
मालिकहरूसँगको छलफलमा संलग्न बेलायती सरकारका एक अधिकारीले भने दुई देशबीचको सम्बन्धमा ठूलो असर पर्ने आशंकालाई कम महत्त्व दिएका छन्। उनले भने, ‘उनीहरू गम्भीर मानिस हुन् र हाम्रो राजनीतिक प्रणाली बुझ्छन्।’
बेलायत सरकारका एक पूर्वअधिकारीले पनि संयुक्त अरब इमिरेट्सले अचानक बेलायतबाट आफ्नो लगानी फिर्ता लैजान्छ भन्ने धारणा अतिरञ्जित छ भनेका छन्।
तैपनि बेलायतका सरकारहरूले खाडी क्षेत्रबाट लगानी आकर्षित गर्ने प्रयास गर्दै आएका छन्। विशेषगरी युरोपेली संघबाट बेलायत बाहिरिएपछि यस्तो लगानीको महत्त्व बढेको छ। सिटी प्रकरणले आगामी दिनमा पनि बेलायत-संयुक्त अरब इमिरेट्स सम्बन्धमाथि छाया पारिरहन सक्छ।
यस गर्मीयाममा विश्व फुटबल राजनीतिक हस्तक्षेपको आरोप र असफल भइसकेको लगानी सम्झौताका कारण आन्तरिक द्वन्द्वमा फसेको थियो। विश्वकपका खेलमा रेफ्रीका निर्णयलाई प्रभावित पार्न खोजिएको आरोपले पनि विवाद चर्काएको थियो। यस्तो पृष्ठभूमिमा केहीले सिटी प्रकरणलाई पैसाको दुनियाँमा हराउँदै गएको फुटबलको पछिल्लो संकेतका रूपमा हेरेका छन्।
फुटबलका एक वरिष्ठ कार्यकारीले भने, ‘खेलको भविष्यबारे म यति निराश कहिल्यै भएको थिइनँ। अहिले फुटबल पहिले कहिल्यै नभएको हदसम्म जोखिममा परेको छ भन्ने मलाई लाग्छ।’ फाइनान्सियल टाइम्सबाट



