प्राकृतिक विपत्तिले क्षति पुर्याउँदा पनि असोजमा ५ अर्ब ९२ करोड ५० लाखको बिजुली भारत निर्यात

हिमाल प्रेस ८ कार्तिक २०८३ १२:२५ | Sunday, October 25, 2026
4
SHARES
प्राकृतिक विपत्तिले क्षति पुर्याउँदा पनि असोजमा ५ अर्ब ९२ करोड ५० लाखको बिजुली भारत निर्यात

काठमाडौँ– प्राकृतिक विपत्ति र बाढीपहिरोले प्रमुख जलविद्युत आयोजनाहरूमा क्षति पुर्‍याए पनि नेपालले चालु आर्थिक वर्षको असोज महिनामा ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको बिजुली भारततर्फ निर्यात गरेको छ।

यससँगै बाढीका कारण अवरुद्ध बनेको बंगलादेशतर्फको ४० मेगावाट विद्युत आपूर्तिसमेत वैकल्पिक आयोजनाहरूमार्फत पुनः नियमित भएको छ। नेपाल विद्युत प्राधिकरणको भार प्रेषण केन्द्रको तथ्यांकअनुसार असोज महिनामा मात्रै भारततर्फ कुल ६३ करोड ३९ लाख ८६ हजार युनिट विद्युत पठाइएको छ।

यो कारोबार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९६ करोड २० लाख रुपैयाँले बढी हो। गत वर्ष असोजमा ४ अर्ब ९६ करोड ३० लाख रुपैयाँको बिजुली विक्री भएको थियो भने चालु आर्थिक वर्षको भदौमा ५ अर्ब ९ करोड २५ लाख रुपैयाँ आम्दानी भएको थियो। यस वृद्धिसँगै चालु आर्थिक वर्षको पहिलो त्रैमास (साउन, भदौ र असोज) मा कुल विद्युत निर्यात १६ अर्ब १५ करोड १३ लाख रुपैयाँ पुगेको छ।

प्राधिकरणकाअनुसार असोजमा भारततर्फको निर्यात मुख्यतः दुई संयन्त्रमार्फत गरिएको छ। जसमा हरियाणा र बिहार राज्यसँग गरिएको द्विपक्षीय सम्झौता र भारतीय ऊर्जा विनिमय बजार (आइएक्स) को डे–अहेड तथा रियल टाइम बजार रहेका छन्। कुल निर्यातको करिव दुई तिहाइ परिमाण द्विपक्षीय सम्झौताअनुसार र बाँकी एक तिहाइ हिस्सा आइएक्सको खुला प्रतिष्पर्धी बजारमार्फत बिक्री गरिएको हो।

अर्कोतर्फ, भदौ १० गतेको बाढीपहिरोले त्रिशूली र चिलिमे जलविद्युत केन्द्रमा क्षति पुर्‍याएपछि बंगलादेश र भारतको हरियाणातर्फको नियमित निर्यात प्रभावित भएको थियो। तर भारतको केन्द्रिय विद्युत प्राधिकरण (सीईए) ले अन्य वैकल्पिक आयोजनाबाट विद्युत पठाउने अनुमति दिएपछि गत कात्तिक ६ गतेदेखि बंगलादेशतर्फ ४० मेगावाट विद्युत प्रवाह पुनः सुचारु भएको छ।

अब त्रिशूली, देवीघाट र चिलिमेको सट्टा सोलु, काबेली–१ र तल्लो मोदी जलविद्युत केन्द्रबाट उत्पादित विद्युत बंगलादेश तथा हरियाणातर्फ पठाइनेछ। नेपाल र बंगलादेश पावर डेभलपमेन्ट बोर्डबीच भएको सम्झौताअनुसार प्रत्येक वर्षको १५ जुनदेखि १५ नोभेम्बरसम्म बंगलादेशलाई विद्युत उपलब्ध गराउने व्यवस्था छ। यसैबीच, भारतबाट थप ३१ मेगावाट विद्युत निर्यातको नयाँ स्वीकृति पाएसँगै नेपालबाट भारततर्फ निर्यात गर्न पाउने कुल स्वीकृत क्षमता १ हजार १७९ मेगावाट पुगेको छ।

प्रकाशित: ८ कार्तिक २०८३ १२:२५ | Sunday, October 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast