भोटेकोशी विपत्तिको ४५ दिन : बस्ती बगर बन्यो, मनमा त्रास उस्तै

हिमाल प्रेस २३ असोज २०८३ १२:५१ | Friday, October 9, 2026
8
SHARES
भोटेकोशी विपत्तिको ४५ दिन : बस्ती बगर बन्यो, मनमा त्रास उस्तै

रसुवा- रसुवाको भोटेकोशीमा विनाशकारी बाढी गएको ४५ दिन बितिसक्दा पनि स्याफ्रुबेँसीका कान्छा तामाङको मनबाट त्यो कहालीलाग्दो क्षण हटेको छैन। आँखै अगाडि बाढीले बस्ती बगाएको दृश्य र आफन्तको चिच्याहटले उनलाई अझै झस्काइरहन्छ।

कहिलेकाहीँ अझै पनि त्यो घटना सपना भइदिए हुन्थ्यो जस्तो लाग्छ कान्छालाई। भदौ १० गतेको बाढीको गर्जन, उर्लिएको भेल र मानिसको चिच्याहट उनको सम्झनामा ताजै छ। ‘गड्याङगुडुङ गरेर ठूलो आवाज आयो। के रहेछ भनेर हेर्दा त ठूलो बाढी रहेछ’, उनले त्यो दिन सम्झँदै भने,‘बेतोडले भागेर अलि माथि पुगेँ। तल हेर्दा मानिस बगिरहेका थिए। कोही चिच्याइरहेका थिए। हेर्दाहेर्दै स्याफ्रुबेँसी बजारलाई बाढीले बगायो।’

आफू जोगिए पनि अरूलाई बचाउन नसकेको पीडा उनको मनमा गहिरो छ। ‘सयौँ मानिस बगेको हेर्नुपर्‍यो। त्यस्तो भेलमा पसेर उनीहरूलाई जोगाउन सकिने अवस्था थिएन’, उनले भने,‘बगिरहेको हेर्नुबाहेक अर्को विकल्प नै के थियो र? सम्झँदा पनि अहिले आङ सिरिङ्ग हुन्छ।’

बाढी गएको डेढ महिना बितिसक्दा पनि कान्छाको मनमा फेरि त्यस्तै विपद् दोहोरिने डर हटेको छैन। ‘त्यो दिन सम्झँदा अहिले पनि डर लाग्छ। फेरि यस्तै विपद् दोहोरिन्छ कि भन्ने डर लागिरहन्छ। रातभर आनन्दले निद्रा नै पर्दैन’, उनले भने।

कान्छाकी श्रीमती ल्हात्सेन डोल्पालाई पनि त्यो घटना बिर्सन सजिलो छैन। ‘आकाशमा मेघ गर्जंदा पनि डर लाग्छ। हामीलाई जिन्दगीभर नबिर्सने छाप छाडेको छ त्यो बाढीले’ , उनले भनिन्।

स्थानीय सन्दु ज्ञावालेले पनि बाढीमा छ जना आफन्त गुमाए। बस्ती, सडक र घर फेरि बनाउन सकिए पनि गुमाएका आफन्त फर्काउन नसकिने पीडाले उनलाई सताइरहेको छ।

सन्दुको घर बाढीबाट जोगिएको छ। तर, घरको आँगनबाट तल हेर्दा देखिने उजाड बगरले उनको मन भारी बनाउँछ। ‘बस्ती त फेरि बनाउन सकिन्छ होला। घर पनि फेरि बनाउन सकिन्छ तर गुमाएका मान्छे कसरी फर्काउने?’ उनले भने।

स्याफ्रुबेँसी बजारको उजाड बगर हेर्दा सन्दुलाई आफन्तको सम्झनाले सताउँछ। बाढीको भेल बगेर गए पनि त्यसले बाँचेकाको मनमा छाडेको त्रास अझै हटेको छैन।

बाढीले घरबार र आफन्त गुमाएका परिवारको पीडासँगै बाँचेकालाई दैनिक गुजारा चलाउन पनि कठिन भएको छ। ‘महँगी असाध्यै छ। हामी प्रभावित क्षेत्रका भए पनि प्रभावित परिवारमा नपरेकाले राहत लिन जान पनि मन लाग्दैन। किनेर खान पनि नजिकै ठाउँ छैन। अलि टाढा जाँदा असाध्यै महँगो पर्छ’, सन्दुले भने,‘बाँच्नेलाई पनि जिउन निकै गाह्रो छ।’

सडक र पुल बनेर बस्ती पुनःनिर्माण हुने तथा जीवन सामान्य अवस्थामा फर्किने आशा उनमा बाँकी छ। तर, त्यसका लागि कति समय लाग्ने हो भन्ने उनलाई थाहा छैन।

बाढीपछि केही सामान किन्न र उपचारका लागि जानुपर्दा घण्टौँ कुरेर तुइनबाट खोला तर्नुपर्ने बाध्यता रहेको कान्छाले बताए। ‘तुइनबाट खोला तर्दातर्दै अझ ठूलो बाढी आउँछ र तुइनसहित बगाउला कि भन्ने डर लाग्छ। के गर्नु, तुइनबाहेक अन्य विकल्प नै छैन’, उनले भने।

रसुवासहित बाढी प्रभावित क्षेत्रमा वैकल्पिक आवतजावतका लागि चारवटा तुइन निर्माण गरी सञ्चालनमा ल्याइएको छ। स्थानीय पूर्वाधार विकास विभागका उपमहानिर्देशक एवं प्रवक्ता कमलकुमार अधिकारीका अनुसार तुइन निर्माण तथा मर्मतमा करिब २० लाख रुपैयाँ खर्च भएको छ।

नुवाकोटको इन्द्रेणीचौर-गुम्बाडाँडा जोड्ने त्रिशूली नदीको तुइनलाई मोटराइज्ड गरिएको छ। रसुवाको स्याफ्रुबेँसी-चिलिमे जलविद्युत् आयोजना क्षेत्रको तुइनलाई पनि मोटराइज्ड गरिएको अधिकारीले बताए। त्यस्तै, रसुवाको हाकुबेँसी-आमाछोदिङ्मो गाउँपालिका-१ जोड्ने तथा नुवाकोटको विदुर नगरपालिका-५ देविघाट क्षेत्रका तुइन सञ्चालनमा छन्।

अधिकारीका अनुसार थप तीन स्थानमा तुइन जडानको तयारी भइरहेको छ। रसुवाको पैरेबेँसी र नुवाकोटको किस्पाङ जोड्ने स्थानमा निर्माण सुरु भएको छ। स्याफ्रुबेँसी-लाङटाङ क्षेत्रमा भने नेपाली सेनाले आवागमन निषेध गरेपछि स्थान परिवर्तन गर्नुपर्ने भएको छ। रसुवाको रुङ्गा क्षेत्रमा पनि तुइन जडानको तयारी भइरहेको विभागले जनाएको छ।

१२ झोलुङ्गे पुलको मर्मत सम्पन्न

भोटेकोशी-त्रिशूली क्षेत्रमा आएको बाढीबाट क्षतिग्रस्त १२ वटा झोलुङ्गे पुलको मर्मत सम्पन्न भएको छ भने थप नौवटा पुलको मर्मत अन्तिम चरणमा पुगेको छ।

विभागका उपमहानिर्देशक एवं प्रवक्ता अधिकारीका अनुसार पहिलो र दोस्रो चरणका लागि आवश्यक स्टिल पार्टस् खरिद सम्पन्न भएको छ। तेस्रो चरणका लागि खरिद सम्झौता भई सामान आपूर्ति पनि सुरु भएको छ।

मर्मत सम्पन्न पुलमध्ये नुवाकोटका पिमलटार-जागाराम, फोक्सेटार र जिलिङ तथा धादिङका विभिन्न पुल छन्। गोरखा-चितवन जोड्ने फिस्लिङ झोलुङ्गे पुलको मर्मत पनि सम्पन्न भएको विभागले जनाएको छ।

यी १२ वटा पुलको मर्मतमा करिब तीन करोड रुपैयाँ खर्च भएको छ। गोरखा, धादिङ, नुवाकोट र चितवनका थप नौवटा पुलको मर्मत अन्तिम चरणमा पुगेको छ।

विभागले क्षतिग्रस्त झोलुङ्गे पुल पुनर्निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न थालेको छ। पुनर्निर्माणका लागि आवश्यक लट्ठा खरिद प्रक्रिया पनि अघि बढाइएको अधिकारीले बताए।

प्रकाशित: २३ असोज २०८३ १२:५१ | Friday, October 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast