नेपालीको हातमा सात खर्ब १४ अर्ब नगद

हिमाल प्रेस २३ असोज २०८३ १३:४९ | Friday, October 9, 2026
नेपालीको हातमा सात खर्ब १४ अर्ब नगद

काठमाडौँ- चलनचल्तीमा रहेको आठ खर्ब तीन अर्ब ९६ करोड रुपैयाँमध्ये सात खर्बभन्दा बढी रुपैयाँ सर्वसाधारणको हातमा छ। यसको अर्थ कुल नोट तथा सिक्काको झन्डै ८९ प्रतिशत रकम बैंक तथा वित्तीय संस्थाका ढुकुटीबाहिर रहेको छ।

नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको पछिल्लो आर्थिक बुलेटिनअनुसार सर्वसाधारणको हातमा सात खर्ब १३ अर्ब ९३ करोड रुपैयाँ बराबरको मुद्रा छ। उक्त बुलेटिनमा आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्मको तथ्यांक समेटिएको छ।

राष्ट्र बैंकका अनुसार चलनचल्तीमा रहेको बाँकी ९० अर्ब दुई करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थासँग छ।

चलनचल्तीमा रहेको कुल मुद्रामध्ये आठ खर्ब एक अर्ब ६२ करोड रुपैयाँ बराबरका नोट र दुई अर्ब ३३ करोड रुपैयाँ बराबरका सिक्का छन्।

असार मसान्तसम्म राष्ट्र बैंकको ढुकुटीमा ६ अर्ब ६ करोड रुपैयाँ बराबरका नोट मौज्दात थिए। बैंकसँग कुनै पनि सिक्का मौज्दात थिएन।

आर्थिक वर्ष २०८२/८३ को अन्त्यमा राष्ट्र बैंकले निष्कासन गरेका नोट तथा सिक्काको कुल मूल्य आठ खर्ब १० अर्ब दुई करोड रुपैयाँ पुगेको थियो। यसमध्ये निष्कासन गरिएका नोटको खुद मूल्य आठ खर्ब सात अर्ब ६९ करोड रुपैयाँ र सिक्काको मूल्य दुई अर्ब ३३ करोड रुपैयाँ थियो।

यसैबीच, असार मसान्तसम्म देशको कुल माग निक्षेप १५ खर्ब ५३ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ। त्यसमध्ये सर्वसाधारणसँग ६ खर्ब ४९ अर्ब ८६ करोड रुपैयाँ, बैंक तथा वित्तीय संस्थासँग ६ खर्ब २६ अर्ब ५८ करोड रुपैयाँ र सरकारसँग दुई खर्ब ७७ अर्ब ४६ करोड रुपैयाँ छ।

प्रकाशित: २३ असोज २०८३ १३:४९ | Friday, October 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast