आठ विद्यालयमा स्वयंसेवा गरेर फर्किए ६० इजरायली

हिमाल प्रेस २३ असोज २०८३ १४:०५ | Friday, October 9, 2026
आठ विद्यालयमा स्वयंसेवा गरेर फर्किए ६० इजरायली बिदाइ समारोहमा इजरायली गैरसरकारी संस्था ‘हिरोज फर लाइफ’ का स्वयंसेवककलगायत। तस्बिर स्रोत : इजरायली दूतावास

काठमाडौँ- इजरायली गैरसरकारी संस्था ‘हिरोज फर लाइफ’ का ६० जना स्वयंसेवकले काठमाडौँ र ललितपुरका आठ विद्यालयमा स्वयंसेवी कार्यक्रम सम्पन्न गरेका छन्।

अघिल्लो महिना नेपाल आएका उनीहरूले विद्यालयमा सिर्जनात्मक सिकाइ गतिविधि सञ्चालन गर्नुका साथै रङरोगन र भित्तामा कलात्मक चित्र बनाउनेलगायतका काम गरेका हुन्।

उनीहरूले डाउन सिन्ड्रोम सोसाइटी नेपालसँग पनि दुई दिन बिताएर त्यहाँका बालबालिकासँग अन्तरक्रिया गर्नुका साथै संस्थाको परिसरमा रङरोगन र मर्मतसम्भारमा सहयोग गरेका थिए।

स्वयंसेवक दुई समूहमा नेपाल आएका थिए। पहिलो समूहले भदौ १९ देखि असोज १ गतेसम्म र दोस्रो समूहले असोज १२ देखि २२ गतेसम्म स्वयंसेवा गरेको  काठमाडौँस्थित इजरायली दूतावासले जनाएको छ।

उनीहरूले प्रभात माध्यमिक विद्यालय, हिन्दु विद्यापीठ, शान्ति शिक्षा मन्दिर, किटिनी माध्यमिक विद्यालय, अन्नपूर्ण माध्यमिक विद्यालय, नारायण जनमाध्यमिक विद्यालय, पञ्चायन सेलेस्टियल स्कुल र नन्दी रात्रि माध्यमिक विद्यालयमा काम गरेका थिए।

कार्यक्रम सम्पन्न भएपछि नेपालस्थित इजरायली दूतावासकी कार्यवाहक प्रमुख जानान बेबारले स्वयंसेवकहरूको सम्मानमा बिदाइ समारोह आयोजना गरिन्। उनले स्थानीय समुदायमा योगदान पुर्‍याउन स्वयंसेवकहरूले देखाएको प्रतिबद्धताको प्रशंसा गरिन्।

समारोहमा उनले भनिन्, ‘समाजलाई केही योगदान गर्ने भावना इजरायली संस्कृतिका अभिन्न अंग हुन्। नेपालमा स्वयंसेवा गरेर तिमीहरूले यो भावनालाई व्यवहारमा उतारेका छौ। विद्यालय र स्थानीय समुदायमा अर्थपूर्ण योगदान दिनुका साथै दुई देशबीचको मैत्री सम्बन्धलाई बलियो बनाएका छौ।’

‘हिरोज फर लाइफ’ले सन् २०१७ देखि नेपालमा स्वयंसेवी कार्यक्रम सञ्चालन गर्दै आएको छ। संस्थाले हरेक वर्ष नयाँ स्वयंसेवक टोलीमार्फत पुरानै विद्यालयमा कार्यक्रम सञ्चालन गर्दै आएको छ भने थप विद्यालयमा पनि आफ्नो सेवा विस्तार गर्दै आएको छ। नेपालस्थित इजरायली दूतावाससँगको समन्वयमा कार्यक्रम सञ्चालन हुने गरेको संस्थाले जनाएको छ।

विश्वका १८ देशमा सक्रिय यस संस्थाले सैनिक सेवा पूरा गरेपछि यात्रा गर्ने इजरायली युवालाई आफू पुगेका समुदायमा योगदान गर्न प्रेरित गर्छ। उनीहरूले यात्राका क्रममा विभिन्न समुदायमा स्वयंसेवा गर्दै आएका छन्।

प्रकाशित: २३ असोज २०८३ १४:०५ | Friday, October 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast