सुर्खेत- आसन्न दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता-२०८३ को तयारीका विषयमा मूल आयोजक समितिको बैठक आइतबार वीरेन्द्रनगरमा सुरु भएको छ।
राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा कर्णाली खेलकुद विकास परिषद्को सहआयोजनामा आगामी मंसिर १६ देखि २७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारीलाई तीव्रता दिने उद्देश्यले बैठक आयोजना गरिएको हो।
बैठकको अध्यक्षता गर्न शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल आइतबार सुर्खेत पुगेका छन्। वीरेन्द्रनगरमा आयोजित बैठकमा कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीसहित सम्बन्धित निकायका पदाधिकारी तथा प्रतिनिधिहरूको उपस्थिति रहेको छ।
मन्त्री पोखरेललाई सुर्खेत पुगेपछि दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आयोजित मूल आयोजक समितिको बैठकस्थलमा स्वागत गरिएको थियो।
बैठकमा प्रतियोगिताको तयारी, व्यवस्थापन, पूर्वाधार, खेलाडी तथा खेल पदाधिकारीको व्यवस्थापनलगायतका विषयमा छलफल हुने जनाइएको छ।
कर्णाली प्रदेशमा आयोजना हुने प्रतियोगितालाई सफल बनाउन संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गरी आवश्यक तयारी अघि बढाउने विषयमा पनि बैठक केन्द्रित हुने बताइएको छ।



