काठमाडौँ- नेपाली कांग्रेस संस्थापनइतर समूहका नेता प्रकाशशरण महतले पार्टीको १५ औँ महाअधिवेशन गराएर शेरबहादुर देउवाले नेतृत्व हस्तान्तरण गर्ने बताएका छन्।
शनिबार काठमाडौँमा सञ्चारकर्मीसँगको छलफलमा नेता महतले देउवाको नेतृत्वमा १४ औँ अधिवेशन सम्पन्न भई निर्वाचित भएको र १५ औँ अधिवेशन गराएर उनले नै नेतृत्व हस्तान्तरण गर्ने उल्लेख गरे। आफूहरुको महाधिवेशन प्रक्रिया उत्साहपूर्वक अघि बढिरहेको उनले बताए।
नेता महतले प्रतिकूल अवस्था र अनेकौँ दबाबका बाबजुद पनि पार्टीका नेता तथा कार्यकर्ता आफैँ खर्च गरेर, कुनै तामझामविना देशैभरिका जिल्ला तथा वडा तहमा स्वःस्फूर्त रूपमा जुटिरहेको दाबी गरे।
विशेष अधिवेशन भनेर पार्टीलाई बिथोल्ने कोसिस गलत भएको र यसको विरुद्धमा पार्टीका नेता, स्थानीय जनप्रतिनिधि तथा सांसदहरू उभिएको उनले बताए।
उनले पार्टीको मूल आदर्श, मूल्य र मान्यतालाई जोगाउन न्यायको पक्षमा उभिएको र अदालतबाट पनि न्याय पाइनेमा पूर्ण विश्वास रहेको धारणा राखे।
भ्रममा परेर अर्को अधिवेशनमा सहभागी भएका नेता तथा कार्यकताहरु पनि गल्ती महसुस गरी वडा तहदेखि नै पुनः आधिकारिक प्रक्रिया र अभियानमा जोडिन थालेको उनको भनाइ छ।



