नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने प्रचण्डको घोषणा

हिमाल प्रेस १२ असार २०८३ १८:२७ | Friday, June 26, 2026
16
SHARES
नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने प्रचण्डको घोषणा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

इटहरी- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी महाधिवेशनबाट पार्टी नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्ने घोषणा गरेका छन्।

उनले पार्टीलाई तल्लो तहदेखि केन्द्रसम्म निर्वाचित नेतृत्वको आधारमा पुनर्गठन गर्दै विगतका रणनीतिक कमजोरी सच्याउने प्रतिबद्धता व्यक्त गरेका हुन्।

शुक्रबार विराटनगरमा आयोजित पार्टीको कोशी प्रदेशस्तरीय एकता बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले अब नेतृत्व चयनमा आफूले कसैलाई जिताउन वा हराउन हस्तक्षेप नगर्ने स्पष्ट पारे।

‘अबको महाधिवेशनबाट विगतका गल्ती करेक्सन गर्छौं। नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्छौं, त्यसको तयारी गर्नुहोस्,’ उनले भने।

उनले आफ्नो राजनीतिक जीवनमा अझै एउटा निर्णायक ‘क्रमभंग’ बाँकी रहेको दाबी गर्दै आफू राजनीतिबाट विश्राम लिने पक्षमा नरहेको बताए।

‘प्रचण्डको अन्तिम क्रमभंग हेर्न बाँकी नै छ। म बुद्ध भिक्षु भएर घण्टी बजाउन आएको होइन, फेरि एकपटक देशलाई समाजवादी आन्दोलनतिर लैजान क्रमभंग गरिनेछ,’ उनले भने।

उनले नेकपा पार्टी अल्गोरिदमको म्यानिपुलेसन वा विदेशी डलर खाएर बनेको नभई आफ्नै रगत–पसिनाले बनेको बताए।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति कटाक्ष गर्दै उनले रास्वपाले छोटो समयमै आफ्नो वास्तविक चरित्र देखाइसकेको टिप्पणी गरे। प्रचण्डले थपे, ‘उनीहरूले आफू को हो भन्ने कुरा छिट्टै स्पष्ट गरिदिए। अब हाम्रा साथीहरू उता जाने लोभ पनि धेरै घटेको देखेको छु।’

राजनीतिक समीकरणबारे बोल्दै प्रचण्डले नेकपा (एमाले) सँग तत्काल पार्टी एकता नभए पनि संसद, सडक र आगामी निर्वाचनमा सहकार्य गर्न सकिने जिकिर गरे।

समाजवादी मोर्चामा आबद्ध दलहरूसँग छिट्टै एकता प्रक्रिया अघि बढ्ने उल्लेख गर्दै उनले मुद्दाका आधारमा नेपाली कांग्रेस र मधेशवादी दलहरूसँग समेत सहकार्य गर्न सकिने धारणा राखे।

यसैबीच, प्रचण्ड र सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालासँग विराटनगरस्थित कोइराला निवासमा भेटवार्ता गरेका छन्।

झण्डै ४५ मिनेट चलेको भेटमा मुलुकको समसामयिक राजनीतिक अवस्था, संसद्को भूमिका, प्रमुख दलहरूबीचको सहकार्य, नेपाली कांग्रेसको पछिल्लो अवस्था तथा राष्ट्रिय सरोकारका विषयमा छलफल भएको नेताहरूले बताएका छन्।

भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले समसामयिक राजनीतिक विषयमा केन्द्रित रहेर छलफल भएको बताए। उनले रास्वपाको महाधिवेशन, कांग्रेसको पछिल्लो अवस्था तथा समसामयिक राजनीतिक परिस्थितिबारे पनि विचार आदानप्रदान भएको जानकारी दिए।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले भेटलाई सामान्य राजनीतिक संवादका रूपमा व्याख्या गर्दै देशको वर्तमान अवस्थाबारे विचार आदानप्रदान भएको बताए।

डा. कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाका अनुसार भेटमा मुलुकको वर्तमान राजनीतिक अवस्था, दलहरूबीचको सहकार्य र आगामी रणनीतिबारे छलफल भएको थियो।

नेताहरूले केही समयअघि कोइराला निवासमा भएको आगलागीपछिको अवस्था अवलोकन गर्दै कोइराला परिवारसँग भेटघाट पनि गरेका थिए। भेटका क्रममा प्रचण्डले बैठक कक्षतर्फ संकेत गर्दै ‘गिरिजाबाबुकै बैठक कक्ष रहेछ होइन?’ भनेर सोध्दा डा. कोइरालाले ‘त्यही हो’ भन्दै जवाफ दिएका थिए।

पछिल्लो समय मुलुकको विकसित राजनीतिक परिस्थितिका बीच प्रमुख दलका शीर्ष नेताहरूबीच संवाद बढिरहेका बेला विराटनगरमा भएको प्रचण्ड, माधव नेपाल र डा. शेखर कोइरालाबीचको यो भेटलाई राजनीतिक रूपमा अर्थपूर्ण रूपमा हेरिएको छ।

प्रकाशित: १२ असार २०८३ १८:२७ | Friday, June 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast