निरन्तर वर्षापछि काठमाडौँ महानगरले बढायो जोखिमयुक्त स्थान र विद्यालयमा निगरानी

हिमाल प्रेस ८ असोज २०८३ १७:३२ | Thursday, September 24, 2026
12
SHARES
निरन्तर वर्षापछि काठमाडौँ महानगरले बढायो जोखिमयुक्त स्थान र विद्यालयमा निगरानी

काठमाडौँ- निरन्तर वर्षापछि काठमाडौँ महानगरपालिकाले जोखिमयुक्त स्थान र विद्यालयमा निगरानी बढाएको छ।

सम्भावित बाढी र डुबानबाट बालबालिकालाई जोगाउन, डुबानका कारण भौतिक सम्पत्तिमा हुन सक्ने क्षति कम गराउन निगरानी बढाइएको महानगरपालिकाले जनाएको छ।

बंगालको खाडीमा विकसित न्यून चापीय प्रणाली थप विकसित हुँदै गएपछि काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा अहिले वर्षा भइरहेको छ।

अहिले सामान्य पानी परिरहेको भए पनि यो भारी वर्षाका रुपमा विकसित हुनसक्ने देखिएकोले जोखिमयुक्त स्थान र विद्यालयमा निगरानी बढाइएको हो।

जोखिमपूर्ण क्षेत्रमा रहेका विद्यालयको अवस्था समेत मूल्यांकन गरी आवश्यक परे विद्यालय सञ्चालन तथा पठनपाठन स्थगन गर्ने अधिकार र जिम्मेवारी शिक्षा विभागलाई दिइएको माहानगरपालिकाले जनाएको छ।

मौसमजन्य विपदको पूर्वतयारी र प्रतिकार्य योजनाका लागि बुधबार महानगर विपद् व्यवस्थापन समितिको बैठक बसेको थियो।

बैठकले सम्भावित बाढी, डुबान, पहिरो तथा जलजन्य जोखिम न्यूनीकरणका लागि पूर्वतयारी र प्रतिकार्य प्रणाली सक्रिय बनाउने, सुरक्षा निकाय, रेडक्रसलगायत निकायसँग समन्वय बढाउने निर्णय गरेको छ।

बैठकले, भारी वर्षाबाट महानगर क्षेत्रभित्र हुनसक्ने जोखिम न्यूनीकरणका लागि महानगरका सबै संयन्त्र, विभाग, निकाय र वडा कार्यालयलाई पूवतयारी तथा प्रतिकार्यका काम सक्रिय रूपमा सञ्चालन गर्न निर्देशन दिएको छ।

नदी किनारका क्षेत्रमा माइकिङ गर्ने, पानी निकास हुने स्थानमा निगरानी बढाउने तथा ढल, मंगाल र क्याचपिट सफाइलाई तीव्रता दिने निर्णयमा उल्लेख छ। यसका लागि नगरप्रहरी बल, वातावरण व्यवस्थापन विभाग र विपद् व्यवस्थापन विभागलाई जिम्मेवारी तोकिएको छ।

प्रकाशित: ८ असोज २०८३ १७:३२ | Thursday, September 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast