प्रधानमन्त्री वालेन्द्र शाह।फाइल तस्बिर
न्युयोर्क- राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सत्रमा सहभागी हुन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) कतार हुँदै बुधबार न्युयोर्क आइपुगेका छन्। प्रधानमन्त्री बालेनले बिहीबार राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ। यो उनको प्रधानमन्त्रीका रूपमा पहिलो विदेश भ्रमणसमेत हो।
प्रधानमन्त्री बालेन विना तामझाम न्युयोर्क आएका हुन्। उनको आगमनसँगै नेपालको उच्चस्तरीय प्रतिनिधिमण्डल महासभाको मुख्य चरणमा प्रवेश गरेको छ। प्रधानमन्त्रीले बिहीबार नै राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्नेछन् र त्यसपछि महासभाको बहसलाई सम्बोधन गर्ने कार्यक्रम छ।
परराष्ट मन्त्रालयका अनुसार प्रधानमन्त्रीले महासभालाई सम्बोधन र गुटेरससँग भेटबाहेक उनको कुनै अन्य कार्यक्रम छैन। न्युयोर्कमा उनले नेपालको स्थायी नियोगमा पुगेर परराष्ट्र सचिव, राष्ट्रसंघका लागि स्थायी प्रतिनिधि, अमेरिकाका लागि कार्यवाहक राजदूत तथा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतबाट भ्रमणसम्बन्धी जानकारी लिने कार्यक्रम भने छ।
उनको सम्मानमा स्थायी प्रतिनिधि र कन्सुलेट तथा कार्यवाहक राजदूतले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन्। प्रधानमन्त्रीको सम्बोधन जलवायु परिवर्तन, जलवायु न्याय, हिमाली मुलुकका जोखिम, भोटेकोशी बाढीपछिको पुनर्निर्माण तथा अन्तर्राष्ट्रिय सहयोगमा रहनेछ।
हालैको भोटेकोशी विपद्लाई अन्तर्राष्ट्रिय मञ्चमा नेपालको जलवायु न्यायसम्बन्धी मुद्दासँग जोडेर उठाउने उनको तयारी छ। साथै राष्ट्रसंघीय शान्ति स्थापनामा नेपालको लामो योगदान र विकासशील तथा हिमाली मुलुकका साझा सरोकार पनि प्रधानमन्त्रीको सम्बोधनमा समेटिने अपेक्षा गरिएको छ।
प्रधानमन्त्री न्युयोर्क पुग्नुअघि परराष्ट्रमन्त्री शिशिर खनालले महासभालाई केन्द्रमा राखेर नेपालको कूटनीतिक सक्रियता बढाइसकेका छन्। मंगलबार उनले महासभाको ८१औँ सत्रको सामान्य बहस उद्घाटन समारोहमा सहभागिता जनाए।
महासभाका अध्यक्ष डा. खलिलुर रहमानले उद्घाटन गरेको कार्यक्रममा संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसले सम्बोधन गरेका थिए। त्यसपछि सदस्य राष्ट्रका प्रतिनिधिमण्डल प्रमुखहरूले सम्बोधन सुरु गरेका छन्।
यसअघि खनालले भारत सरकारको आयोजनामा भएको ‘विश्व दक्षिणका समान विचारधारा भएका मुलुक तथा मित्रहरू’ को उच्चस्तरीय मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गरेका थिए। ‘सशक्त विश्व दक्षिणतर्फ उज्यालो भविष्यका लागि सँगसँगै अघि बढ्ने’ विषयमा आयोजित बैठकमा उनले विश्व दक्षिणका मुलुकबीच ऐक्यबद्धता, सहकार्य र सामूहिक पहल आवश्यक रहेको बताए।
विश्व दक्षिणको रूपान्तरणकारी सम्भावना उपयोग गर्न बलियो दक्षिण-दक्षिण सहकार्य तथा अझ न्यायपूर्ण र प्रतिनिधिमूलक विश्व शासन संरचनाका लागि सामूहिक प्रतिबद्धता आवश्यक रहेको उनको जोड थियो।
खनालले भारतीय विदेशमन्त्री एस जयशंकरसँग पनि भेटवार्ता गरेका छन्। भेटमा हालै नेपालमा आएको विनाशकारी बाढीपछि भारतले देखाएको ऐक्यबद्धता तथा तत्काल उपलब्ध गराएको सहयोगका लागि खनालले भारत सरकार र जनताप्रति आभार व्यक्त गरे।
दुई मन्त्रीबीच साझा चासोका विषयमा छलफल गर्दै विकास सहकार्यलाई थप विस्तार गर्ने तथा नेपाल-भारतको लामो समयदेखिको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा कुराकानी भएको छ। खनालले स्लोभाक गणतन्त्रका विदेश तथा युरोपेली मामिलामन्त्री जुराज ब्लानार र माल्दिभ्सका विदेशमन्त्री इरुथिसाम आदमसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन्। दुवै भेटमा द्विपक्षीय सम्बन्ध तथा पारस्परिक हितका क्षेत्रमा सहकार्य विस्तारका विषयमा छलफल भएको छ। संयुक्त राष्ट्रसंघमा आपसी सहकार्यलाई थप प्रभावकारी बनाउने विषयसमेत कुराकानीमा उठेको छ।
अमेरिकासँगको सम्बन्ध र भोटेकोशीपछि बाढीपछिको पुनःस्थापनाको विषयमा पनि खनालले महत्त्वपूर्ण भेटवार्ता गरेका छन्। अमेरिकी विदेश मन्त्रालयकी राजनीतिक मामिलासम्बन्धी उपसचिव एलिसन हुकरले खनालसँग भेट गरी नेपाल-अमेरिका सम्बन्धलाई थप गहिरो बनाउने, हालैको भोटेकोशी बाढीपछि राहत तथा पुनर्निर्माण र नेपालको पुनःस्थापनामा अमेरिकी सहयोगका विषयमा छलफल गरेकी छन्।
अमेरिकी चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष अतुल केसपसँगको भेटमा भने नेपाल-अमेरिका आर्थिक सम्बन्ध, लगानीका सम्भावना र व्यावसायिक साझेदारी विस्तारका विषयमा छलफल भएको छ। यसले महासभाको अवसरलाई नेपालले राजनीतिक तथा कूटनीतिक संवादसँगै आर्थिक कूटनीतिका लागि पनि उपयोग गरिरहेको देखाउँछ। परराष्ट्रमन्त्री खनालले भेटमा भूपरिवेष्टित मुलुकका लागि सम्पर्क सञ्जाल, हवाई यातायात, जलवायु परिवर्तन, महत्त्वपूर्ण खनिज, युवा सहभागिता कार्ययोजनाको प्रभावकारी कार्यान्वयनलगायत विषयमा छलफल गरेको जनाइएको छ।
ग्रेनाडासँग सम्बन्ध स्थापना, कूटनीतिक सम्बन्ध १८६ देशसँग
न्युयोर्क मिसन नेपालको कूटनीतिक पहुँच विस्तार गर्ने एक नियोग हो। विशेष गरी परराष्ट्रमन्त्रीको भ्रमण हुँदा नेपालले यस्तो सम्बन्धमा हस्ताक्षर गराउने काम हुने गरेको छ। परराष्ट्रमन्त्री खनाल र ग्रेनाडाका अर्थमन्त्री डेनिस कोर्नवालले दुई देशबीच औपचारिक कूटनीतिक सम्बन्ध स्थापना गर्ने संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका छन्।
सम्बन्ध स्थापनासँगै नेपालसँग औपचारिक कूटनीतिक सम्बन्ध भएका मुलुकको संख्या १८६ पुगेको स्थायी नियोगले जनाएको छ। हस्ताक्षरअघि भएको छलफलमा दुवै पक्षले दिगो विकास लक्ष्य, जलवायु परिवर्तनका प्रभाव, पर्यटन, शिक्षा तथा पारस्परिक हितका क्षेत्रमा अनुभव आदानप्रदान र सहकार्यको सम्भावनाबारे छलफल गरेका थिए।
भ्रमणमा रहेका परराष्ट्र सचिव अमृतबहादुर राईले ‘सन् २०३० पछि गरिबी अन्त्य गर्ने विश्वव्यापी प्रतिबद्धता नवीकरण’ विषयक उच्चस्तरीय छलफलमा जलवायु-उत्थानशील विकास, जलवायु न्याय, वित्तीय तथा प्रविधिगत अन्तर कम गर्ने र सन् २०३० को कार्यसूची तथा भविष्यका लागि सम्झौताको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन्।
राईले भूपरिवेष्टित विकासशील मुलुकहरूको साझा हितका विषयमा काम गर्ने अन्तर्राष्ट्रिय थिंक ट्यांकका कार्यकारी निर्देशक अतुल दमदिन-ओडसँग पनि भेटवार्ता गरेका छन्। यस्तो भेटघाट नियोगले मिलाउने गरेको हुन्छ। अन्यथा यस्तो भ्रमणमा परराष्ट्र सचिवको कुनै भूमिका हुँदैन।
परराष्ट्रमन्त्री भ्रमणमा निस्कँदा सचिव मन्त्रालयमा रहने गरिन्छ। साह्रै असहज अवस्थामा परराष्ट सचिव पनि जाने हो। अहिलेको अवस्था साह्रै असहज होइन। विगतमा मुख्य सचिव र अन्य मन्त्रालयका सचिवसमेत आउँथे। रमिता हेर्थे जान्थे। यसपटक भने प्रधानमन्त्री र परराष्टमन्त्रीले यसमा कडाइ गरेका छन्।
बिहीबार बालेनको मुख्य परीक्षा
अब नेपालको कूटनीतिक ध्यान प्रधानमन्त्री शाहको महासभा सम्बोधनतर्फ केन्द्रित भएको छ। प्रधानमन्त्रीले महासभाको सामान्य बहसमा नेपालको प्रतिनिधित्व गर्दै सम्बोधन गर्नेछन्। प्रधानमन्त्रीको न्युयोर्क बसाइ छोटो तर मिठो रहने एक अधिकारीले बताए। यहाँ रहेका नेपाली समुदायलाई उनले भेट गर्ने छैनन्। रिसेप्सनमा पनि धेरैलाई आमन्त्रण नगरिने बताइएको छ। उनले राष्ट्रपति टम्पले आयोजना गरेको रिसेप्सनमा पनि सहभागिता जनाएनन्। उनको स्थानमा परराष्ट्रमन्त्री खनाल सहभागी भएका थिए।
जसले जे जिम्मेवारी सम्हालेको छ उसलाई नै त्यो जिम्मेवारी पूरा गर्न दिने र त्यसमा चित्त नबुझे हटाउने बालेन शैली देखिन्छ। यही शैलीअनुरुप खनाललाई उनले सबै भूमिकामा अगाडि बढाएका हुन्।
यसरी प्रधानमन्त्रीको छोटो तर उच्च राजनीतिक तहको सहभागिता र परराष्ट्रमन्त्री खनालको लगातारको द्विपक्षीय तथा बहुपक्षीय भेटवार्तालाई एउटै कूटनीतिक यात्राको दुई तहका रूपमा हेरिएको छ। प्रधानमन्त्रीले नेपालको राजनीतिक तथा राष्ट्रिय सरोकारलाई विश्व मञ्चमा प्रस्तुत गर्ने र परराष्ट्रमन्त्रीले त्यसको पृष्ठभूमिमा आवश्यक द्विपक्षीय संवाद तथा अन्तर्राष्ट्रिय सहकार्यको वातावरण निर्माण गर्ने देखिन्छ। प्रधानमन्त्री शाह शुक्रबार न्युयोर्कबाट दोहातर्फ प्रस्थान गर्ने र शनिबार काठमाडौँ पुग्नेछन्।
यो पनि
ट्रम्प-गुटेरेसको टकराव, लुलाको बहुपक्षीयता र बालेनको कूटनीति



