कम्युनिस्ट घटकसँग एकता गर्न नेकपाले बनायो वार्ता समिति

हिमाल प्रेस ६ असोज २०८३ २१:१७ | Tuesday, September 22, 2026
16
SHARES
कम्युनिस्ट घटकसँग एकता गर्न नेकपाले बनायो वार्ता समिति

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले कम्युनिस्ट घटकहरुसँग पार्टी एकताको पहल गर्न वार्ता समिति गठन गरेको छ।

पार्टी कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कार्यसंयोजन समितिको बैठकले तीन सदस्यीय वार्ता समिति गठन गरेको नेकपा प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए।

समितिमा प्रकाश ज्वाला, देव गुरुङ र गंगानारायण श्रेष्ठ रहेका छन्। वार्ता समितिले बुधबारबाट नै काम सुरु गर्ने प्रवक्ता ज्वालाले बताए।

उनले विप्लव समूहबाट विभाजित नेपाल कम्युनिस्ट पार्टी, एमालेलगायतका सम्पूर्ण वामपन्थी दलहरूसँग संवाद र वार्ता अगाडि बढाउने जानकारी दिए।

त्यस्तै बैठकले आगामी असोज १५ देखि मंसिर १५ गतेसम्म देशव्यापी दुई महिने राष्ट्रिय जनअभियान सञ्चालन गर्ने निर्णय गरेको छ। केन्द्रदेखि वडा, टोल र जनताको घरदैलोसम्मपुग्ने गरी अभियान चलाइने र यसको विस्तृत कार्यविधि दसैँअगाडि बस्ने सचिवालय बैठकले पारित गर्ने उनले जानकारी दिए।

साथै बैठकले बाढी पीडितको उद्धार, राहत, पुनस्र्थापना र पुनर्निर्माणमा पार्टीका तर्फबाट सहयोग गर्न पहिले नै गठित समन्वय समितिलाई जिम्मेवारी दिएको उनले बताए।

प्रवक्ता ज्वालाले दुई महिने अभियानपछि आवश्यकता अनुसार संसद् र सडक दुवै मोर्चाबाट जनजीविका र राष्ट्रिय स्वाधीनताका मुद्दामा आन्दोलनका कार्यक्रम अघि बढाइने उल्लेख गरे।

उनले बाढीपहिरोले कार्यतालिकामा केही असर पारे पनि पार्टीभित्र नेतृत्व हस्तान्तरणको कुनै किचलो नरहेको र महाधिवेशनले नै नीति, विधि र नेतृत्वको अन्तिम टुंगो लगाउने स्पष्ट पारे।

बैठकमा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले वर्तमान राष्ट्रिय राजनीति, राष्ट्रिय स्वाधीनता, संविधान र लोकतान्त्रिक गणतन्त्रमाथि देखिएका चुनौतीबारे बैठकमा ब्रिफिङ गरेको ज्वालाले बताए।

प्रकाशित: ६ असोज २०८३ २१:१७ | Tuesday, September 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast