काठमाडौँ- नेकपा एमालेमा पछिल्लो समय शीर्ष तहमा चर्को अन्तरविरोध देखिएको छ। विशेष नेतृत्व परिवर्तन हुनुपर्ने मागसहित उठिरहेको विषयले एमालेमा तरंग ल्याएको छ। मुख्यतः एमाले अध्यक्ष केपी शर्मा ओलीले मार्गप्रशस्त गर्नुपर्ने मागसहितका विषयमा पार्टीमा छलफल चलिरहेको छ। एमाले अध्यक्ष ओली भने आफ्नो बचाउ गर्न अनेक उपाय रचिरहेका छन्।
उनले आफ्नो राजीनामा नआउने अडानदेखि आफू निकट नेताहरूमार्फत ‘कार्ड’ खेलिरहेका छन्। एमालेमा पार्टी पुनर्गठन कार्यदल समेत बनेको छ। उपाध्यक्ष रामबहादुर थापा ‘वादल’को नेतृत्वको कार्यदलले ओलीसहितले राजीनामा दिएर पार्टी नयाँ ढंगले अघि बढ्नुपर्ने प्रतिवेदन सार्वजनिक गरेको थियो।
कार्यादलका सदस्यसचिव एवं महासचिव शंकर पोखरेलले तयार पारेको ६५ पृष्ठ लामो प्रतिवेदनमा पछिल्लो विधान अधिवेशनबाट हटाइएको ‘७० वर्षे उमेर हद’ र ‘एउटै कार्यकारी पदमा बढीमा दुई कार्यकाल’को व्यवस्थालाई पुनः लागू गर्नुपर्ने प्रस्ताव गरिएको छ। प्रतिवेदनमा नेतृत्व परिवर्तन र रूपान्तरणको आवश्यकता औँल्याइएको छ।
तर, कार्यदल संयोजक बादलले भने ७० वर्षे उमेर हद र दुई कार्यकाल हटाउने पूर्ववत् निर्णयको बचाउ गर्दै ओलीको विकल्प रोज्न नहुने निष्कर्षसहितको काउन्टर प्रतिवेदन ल्याएका थिए।
एमाले महासचिव पोखरेलको सोही प्रतिवेदनले ओलीलाई दबाबमा पार्.यो भने ओलीले वादलमार्फत अर्को प्रतिवेदन ल्याए। जुन प्रतिवेदनमा ओलीको बचाउ गरिएको छ। अहिले एमालेको जुनसुकै कमिटीमा पनि ओली अल्पतमा छन्। उपाध्यक्ष विष्णु पौडेलसहितले चर्को रूपमा ओलीले पद छाड्नुपर्ने अडान राखिरहेका छन्। यही दबाबका बीच ओलीले आफू निकट नेता प्रदीप ज्ञवालीलाई अर्को प्रतिवेदन लेख्न लगाए। सोही प्रतिवेदनमा ओलीको बचाउ गरिएको छ।
दुवै नेताले अस्वीकार गरेपछि ओलीले कार्यदलका सदस्य नै नरहेका पूर्वउपमहासचिव एवं केन्द्रीय सदस्य प्रदीप ज्ञवालीलाई प्रतिवेदन लेखनको जिम्मा दिएका छन्।
ज्ञवालीले अध्यक्ष ओलीको बचाउ र प्रशंसा गर्दै अर्को प्रतिवेदन तयार पारेका छन्। ज्ञवालीको प्रतिवेदनमा ओलीको नेतृत्वमा संविधान निर्माण, भारतीय नाकाबन्दीको सामना, चीनसँगको व्यापार पारवहन सम्झौता, भूकम्पपछिको पुनर्निर्माण र कोभिड महामारी व्यवस्थापनमा ऐतिहासिक सफलता मिलेको दाबी गरिएको छ।
उनले वर्तमान परिप्रेक्ष्यमा नेतृत्व परिवर्तनको मागलाई असान्दर्भिक भन्दै भदौ २३ र २४ को घटनाक्रमलाई नवयुवाहरूको ‘राजनीतिक विद्रोह’का रूपमा नभई ‘षड्यन्त्र’का रूपमा स्थापित गर्न नसक्दा निर्वाचनमा पराजय भोग्नुपरेको उल्लेख गरेका छन्।
आज बस्ने कार्यदल र सचिवालय बैठकले प्रतिवेदनका यी विवादित विषयहरूमा कस्तो सहमति वा निर्णय गर्छ भन्नेमा एमाले वृत्तमा चासोका साथ हेरिएको छ। भोलिदेखि सुरु हुने केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले नै मुख्य प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका रहेको छ।


