आरोहीको रोजाइमा ‘हत्यारा हिमाल’ मनास्लु

हिमाल प्रेस १ असोज २०८३ १०:५७ | Thursday, September 17, 2026
आरोहीको रोजाइमा ‘हत्यारा हिमाल’ मनास्लु

काठमाडौँ- विश्वको आठौँ अग्लो हिमाल मनास्लु (८,१६३ मिटर) मा पछिल्ला वर्षहरूमा आरोहण गतिविधि तीव्र रूपमा बढेको छ। धेरै आरोहीले मनास्लुलाई आफ्नो पहिलो आठ हजार मिटरभन्दा अग्लो हिमाल आरोहणका रूपमा रोज्न थालेपछि गतिविधि बढेको हो।

मनास्लु आरोहणका लागि जारी हुने अनुमतिको संख्या पछिल्लो ६ वर्षमा दोब्बरभन्दा बढी भएको छ। सन् २०२१ मा दुई सय तीनवटा आरोहण अनुमति जारी भएकामा सन् २०२६ मा यो संख्या बढेर चार सय ८० पुगेको छ। पर्यटन विभागले सन् २०२२ मा मनास्लुका लागि तीन सय १८, २०२३ मा तीन सय १७, २०२४ मा तीन सय १० र २०२५ मा तीन सय ७७ वटा आरोहण अनुमति जारी गरेको थियो।

विभागले यस वसन्तयाममा सगरमाथा आरोहणका लागि चार सय ९२ वटा अनुमति जारी गरेको थियो।

मनास्लुमा धेरैपटक आरोहण अभियानको नेतृत्व गरिसकेका आईएफएमजीए माउन्टेन गाइड गेल्जे शेर्पाले तुलनात्मक रूपमा सहज आठ हजार मिटर अग्लो हिमालका रूपमा पहिचान बनेपछि मनास्लुतर्फ आरोहीको आकर्षण बढेको बताए।

‘मनास्लु आरोहीहरूले आफ्नो पहिलो आठ हजार मिटर अग्लो हिमाल आरोहणका लागि रोज्ने हिमाल बनेको छ,’ शेर्पाले भने। उनका अनुसार तुलनात्मक रूपमा सहज मुख्य आरोहण मार्ग, विकसित आरोहण पूर्वाधार र शरद ऋतुको अनुकूल मौसमले मनास्लुलाई आकर्षक बनाएको हो। ‘अर्को कारण प्रमुख आरोहण कम्पनीहरूले सगरमाथा वा ल्होत्से आरोहणको तयारी गरिरहेका आरोहीलाई मनास्लुलाई त्यसअघिको अभ्यासका रूपमा सिफारिस गर्नु हो’, उनले भने।

शेर्पाका अनुसार अन्य केही आठ हजार मिटर अग्ला हिमालको तुलनामा मनास्लुको प्राविधिक कठिनाइलाई सामान्यतया व्यवस्थापन गर्न सहज मानिन्छ।

सन् १९५६ मे ९ मा जापानी आरोहण टोलीका सदस्य जापानका तोसियो इमानिसी र नेपालका ग्याल्जेन नोर्बुले पहिलोपटक आरोहण गरेको मनास्लुप्रतिको आरोहीको धारणा वर्षौंदेखि उल्लेख्य रूपमा परिवर्तन भएको छ। कुनै समय व्यापक रूपमा ‘किलर माउन्टेन’ अर्थात् ‘हत्यारा हिमाल’का रूपमा चिनिने मनास्लुमा पछिल्ला वर्षमा व्यावसायिक आरोहणका लागि आवश्यक पूर्वाधार निकै विकसित भएको छ। नेपालका अन्य आठ हजार मिटर अग्ला हिमालको तुलनामा मनास्लुमा शिखर पुग्ने सफलता दर पनि उच्च रहेको मानिन्छ।

शेर्पाका अनुसार आठ हजार मिटर अग्ला हिमालको मापदण्डमा मनास्लुको मुख्य आरोहण मार्ग तुलनात्मक रूपमा सहज मानिन्छ। ‘आरोहीले अझै पनि ठाडा भाग, हिमचिरा, हिमपहिरोको जोखिम र वास्तविक शिखरतर्फ जाने खुला अन्तिम धार पार गर्नुपर्छ। तर व्यावसायिक आरोहण अभियानको संख्या बढेसँगै यो मार्ग राम्रोसँग स्थापित भएको छ,’ उनले भने।

यसले पहिलोपटक आठ हजार मिटर अग्लो हिमाल आरोहण गर्न चाहने आरोहीका लागि मनास्लुलाई छिमेकी हिमाल धौलागिरि र अन्नपूर्ण प्रथमभन्दा केही सहज विकल्प बनाएको शेर्पाको भनाइ छ।

उनका अनुसार धौलागिरिको मुख्य उत्तरपूर्वी धारको मार्गमा तीव्र हावा र मौसममा अचानक हुने परिवर्तनको जोखिम हुन्छ भने ठाडा हिउँ तथा चट्टानी भाग पार गर्नुपर्छ। ‘अर्कोतर्फ, अन्नपूर्ण प्रथम आरोहण गर्दा हिमनदीयुक्त भूभाग र खुला हिउँका भिरालो भागमा जटिल रूपमा बाटो पहिल्याउनुपर्छ,’ उनले भने, ‘धौलागिरि र अन्नपूर्णको तुलनामा मनास्लुमा आरोहणको अवस्था बढी अनुमानयोग्य हुन्छ।’

वसन्तयाममा आरोहण गरिने सगरमाथाभन्दा फरक मनास्लुको प्रमुख व्यावसायिक आरोहण सिजन शरद ऋतुमा हुन्छ। सेप्टेम्बर र अक्टोबरमा सामान्यतया आकाश सफा रहने, वर्षा कम हुने र मौसम अनुकूल रहने अवधि लामो हुने गर्छ।

‘मनसुनपछिको समयमा हिउँ स्थिर हुने भएकाले आरोहण मार्ग तयार पार्न पनि तुलनात्मक रूपमा सहज र अनुमानयोग्य हुन्छ,’ शेर्पाले भने।

छोटो समयमै आरोहण पूरा गर्न सकिने भएकाले पनि मनास्लु आरोहीका लागि आकर्षक बनेको शेर्पाको भनाइ छ। ‘मनास्लु एक महिनाभन्दा कम समयमै आरोहण गर्न सकिन्छ। राम्रोसँग अनुकूलित आरोहीले करिब दुई सातामै शिखर पुग्न सक्छ,’ उनले भने।

प्रकाशित: १ असोज २०८३ १०:५७ | Thursday, September 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast