काठमाडौँ- खेमलाल-हरिकला लामिछाने प्रतिष्ठानले २०८२ सालमा प्रकाशित नेपाली साहित्यका उत्कृष्ट कृतिमध्ये कवि तथा गीतकार श्रवण मुकारुङको उपन्यास ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ।
प्रतिष्ठानमा प्राप्त १९२ पुस्तकमध्ये विस्तारित सूचीमा परेका १५ र संक्षिप्त सूचीका पाँच कृतिमध्ये मूल्यांकन समितिले ‘सलह’ लाई पुरस्कारका लागि छनोट गरेको हो।
प्रतिष्ठानका अनुसार ‘सलह’ ले नेपाली समाजका सीमान्त आवाज, लैंगिक विभेद, हिंसा, विस्थापन र पहिचानका जटिल प्रश्नलाई कलात्मक ढंगले प्रस्तुत गरेको छ। काव्यिक भाषा, प्रतीकात्मकता, जीवन्त प्रकृति-चित्रण र मार्मिक कथनशैलीलाई उपन्यासका प्रमुख शक्ति मानिएको छ।
‘सलह’ ले व्यक्तिगत पीडालाई सामाजिक यथार्थसँग जोड्दै नेपाली उपन्यासमा सीमान्त जीवन र नारी अस्तित्वका प्रश्नलाई प्रभावशाली रूपमा प्रस्तुत गरेको प्रतिष्ठानले जनाएको छ।
नेपाली साहित्यमा पाँच दशकदेखि साधनारत साहित्यकार कृष्ण धरावासीलाई पद्मश्री साधना सम्मान प्रदान गर्ने निर्णय गरिएको छ। ‘शरणार्थी’, ‘राधा’, ‘आधा बाटो’ लगायत ३२ कृतिका लेखक तथा झन्डै दुई दर्जन ग्रन्थका सम्पादक धरावासी लीलालेखनका व्याख्यातासमेत हुन्।
धरावासीले विशेषतः आख्यानमार्फत सामाजिक यथार्थ, मानवीय मनोविज्ञान, विभेद र इतिहासका उपेक्षित पक्षलाई उत्तरआधुनिक ढाँचाका माध्यमबाट प्रस्तुत गर्दै आएका छन्।
यस वर्षको पद्मश्री गौरव पुरस्कार प्रा.डा. जयराज आचार्यलाई प्रदान गर्ने निर्णय भएको छ। नेपाली, अंग्रेजी र संस्कृत भाषाका ज्ञाता तथा परराष्ट्र नीति र कूटनीतिका अध्येता आचार्यले साहित्य, भाषाविज्ञान, अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिसम्बन्धी दर्जनभन्दा बढी कृति लेखेका छन्।
‘यदुनाथ खनाल : जीवनी र विचार’, ‘भानुभक्त आचार्यको रामायण नेपाली र अंग्रेजीमा’ र ‘नेपालको परराष्ट्र नीति : एक विमर्श’ उनका उल्लेखनीय कृतिमध्ये हुन्। संयुक्त राष्ट्रसंघमा नेपालका स्थायी प्रतिनिधिका रूपमा समेत कार्यरत आचार्यले नेपाली भाषा, साहित्य र कूटनीतिक चिन्तनलाई अन्तर्राष्ट्रिय सन्दर्भसँग जोड्न योगदान दिएका छन्।
तीनवटै पुरस्कारको राशि जनही तीन लाख रुपैयाँ र सम्मानपत्र रहेको प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।


