नेपाली साहित्यमा केही यस्ता कृतिहरू छन्, जसलाई पढिसकेपछि पाठकले पुस्तक त बन्द गर्छन्। तर त्यसका पात्र, दृश्य र संवादहरू मनभित्र लामो समयसम्म जीवित रहिरहन्छन्। प्रसिद्ध लेखक श्रवण मुकारुङको नवीनतम् उपन्यास ‘सलह’ त्यस्तै एउटा कृति हो। पूर्वी पहाडको परिवेश, प्रकृति, समय, संस्कृति, समाज र मानवीय मूल्यसहितको कथालाई उच्च काव्यिक भाषामा लेखिएको औपन्यासिक कृति हो ‘सलह’।
उसो त नेपाली वाङ्मयमा ‘ब्रान्डेड’ नाम हो- श्रवण मुकारुङ। उनका कविता र गीतहरू नसुन्ने सायदै होलान्।
मुकारुङको पहिलो उपन्यास हो ‘सलह’। यसअघि नै कवि र गीतकारका रूपमा उनले नेपाली वाङ्मयको क्षेत्रमा अग्लो नाम बनाइसकेका छन्। मुकारुङले गीत र कवितामा जस्तै आख्यानमा पनि भाषाको चमत्कार, अनुभूतिको गहिराइ र जीवन जगत्प्रतिको दृष्टि दार्शनिक लाग्छ। यसकारण ‘सलह’ पढ्नु भनेको कथा मात्र पढ्नु होइन, कथामा कविता, गीत र नाटकलाई एउटै लयमा अनुभूत गर्नु हो। जीवनको दु:ख, संघर्ष, पीडा, रोदन, आँसु, हाँसोलाई नजिकबाट बुझ्नु पनि हो।
उपन्यासको केन्द्रमा छिन् पूर्वी पहाड खोटाङको राई गाउँकी नायुमा। गाउँदेखि धरान हुँदै काठमाडौँ उपत्यकामा हुर्केबडेको उनको बालापन, सुकुमवासी बस्तीमा गर्नुपरेको थप संघर्ष, प्रेम, जेलजीवन बिताउनुपरेको कठोर यथार्थ उपन्यासमा समावेश छ। जीवन बाँच्ने क्रममा धरानको संघर्षपूर्ण जीवनसम्म उनको यात्राले एउटा पात्रको मात्र कथा भन्दैन, नेपाली समाजका कैयौँ अनदेख घटनाको प्रतिनिधित्व गर्छ। एउटै मानिसले जीवनभर कति पटक जन्म लिनुपर्ने, कतिपटक भत्कनुपर्ने र फेरि कतिपटक उठ्नुपर्ने भन्ने प्रश्नको मार्मिक उत्तर ‘सलह’ले दिएको छ। मुख्य पात्र नायुमाले एउटा जीवन खण्डखण्डमा बाँचेको कथा उपन्यासको केन्द्रमा छ।
धागोमा माला उनेजसरी नायुमा अर्थात् उपन्यासको मुख्य पात्रसँगै दर्जनौँ पात्रहरू आइरहन्छन्। तर ती पात्रहरू धागोबाट छुटेका फूलहरु जसरी झर्दै जान्छन्। उपन्यासका कतिपय अनुच्छेदहरू पढ्दा कथा पढिरहेको भन्दा पनि गहिरो कविता पढिरहेको अनुभूति हुन्छ। उपन्यास पढ्दै जाँदा नायुमाको कथाले यस्ता ठाउँहरूमा पुर्याउँछ जहाँ अवसादको अँध्यारो ओडारबाहेक केही भेटिन्न। कतिमय अनुच्छेद पढ्दा अक्सिजनको कमीले सास फेर्नसमेत मुस्किल भएको अनुभुत गराउँछ। तर आफैँलाई चिमोट्दा यथार्थ अर्कै हुन्छ। ‘सलह’ले ऐँठन मात्रै बनाउने होइन, कतै ओँठमा मुस्कान भरिदिन्छ, कतै चुपचाप बनाउँछन्, कतै उत्सुक बनाउँछन्। उपन्यास ‘सलह’मा प्रयोग भएको भाषाको मिठास मात्रै होइन, अभिव्यक्तिको गम्भीरता नेपाली आख्यानमा विरलै भेटिन्छ।
मुकारुङको लेखनको सबैभन्दा ठूलो शक्ति भनेकै सरलता हो। पछिल्लो समय आख्यानमा जटिल विषय, ‘क्लिस्ट’ भाषाशैलीको अनावश्यक प्रयोग र बौद्धिक विलासीको होड चलिरहेका बेला उनले सामान्य मानिसको सामान्य जीवनलाई असामान्य कलात्मक अभिव्यक्तिसहित प्रस्तुत गरेका छन्। उनका शब्दहरू बनावटी लाग्दैनन्। बरु हरेक वाक्य जीवनको धुन बनेर पाठकसँग संवाद गर्छ। समकालीन नेपाली आख्यानमा जटिल र समाजसँग भागिरहेको बेला मुकारुङ भने उपन्यास ‘सलह’मा सरलता, संवेदना र जीवनको यथार्थलाई केन्द्रमा राखेर आख्यानको आफ्नै नवीन बाटो बनाएर हिँडिरहेका छन्। उपन्यासमा लेखकको सबैभन्दा शक्तिशाली र सुन्दर पक्ष यही हो।
‘सलह’ले प्रकृतिको कथा भन्छ। विस्थापनको कथा भन्छ। वर्गीय विभेद र असमान समाजको अवाजलाई बोल्न दिन्छ। मुकारुङले उपन्यासमा त्यस्तो कुनै ठूलो कुरालाई प्रस्तुत गरेका छैनन्। बरु मानिस बाँच्ने क्रममा भोग्ने सानासाना पीडा, हार, आशा र पुनर्जन्मको कथालाई अत्यन्तै कलात्मक ढंगले चित्रण गर्छन्। यही कारणले उपन्यास पढ्दा पाठकले कतै आफ्नै जीवन भेट्छन्, कतै आफ्नै पीडा र कतै आफ्नै सपना भेट्छन ।
कुनै पनि लेखकको सबैभन्दा ठूलो शक्ति भनेको विषयलाई प्रस्तुत गर्दा पाठकलाई ठ्याक्कै त्यही ठाउँमा पुर्याउन सक्नु हो। जस्तै- धरानको मंगलबारे वा काठमाडौँको मनोहरा खोलाको सुकुमवासी बस्ती वा भनौँ राई गाउँ नै किन नहोस्, जहाँ-जहाँ नायुमा पुग्छिन्, पाठक स्वयं त्यहीँ पुगेजस्तो अनुभूत हुन्छ। सशरीर उपस्थित भएर घटनालाई प्रत्यक्ष हेरिरहेको अनुभूत हुन्छ। यो पनि लेखनको अर्को सफलता हो।
उपन्यासले एउटा गहिरो सन्देश पनि दिन्छ। मानिस जति भत्किए पनि फेरि उठ्न सक्छ। संघर्ष भन्नु जीवनको अर्को नाम हो। मानिसले हरेक प्रहर, हरेक हण्डर, हरेक ठक्कर खाएर पनि बाँच्नका निम्ति गरिरहेको संघर्षको यथार्थ बोलेको छ।
‘सलह’ पढ्दै जाँदा पात्रहरूले बोल्ने भाषागत विविधता उपन्यासको अर्को सुन्दर पक्ष हो। भोजपुरको जेठा राईले प्रयोग गर्ने इन्डियन गोर्खाहरूले प्रयोग गर्ने भाषाको टोन होस् वा काठमाडौँको बैकुण्ठ कोलोनीमा नायुमा र उनकी बजुले संवाद गर्ने आञ्चलिक लय वा प्राध्यापक माथेमाले बोल्ने मानक नेपाली भाषा।
भाषा सञ्चारको माध्यम मात्रै होइन। यसले सभ्यताको कथा बोकेको हुन्छ। उपन्यास सहलमा लेखक मुकारुङले भाषागत विविधता र सौन्दर्यलाई बढो सुन्दर ढंगले उठाएका छन्। भाषिक विविधताका कारण मात्रै नभएर मुकारुङले यसलाई आफ्नै काव्यिक सिग्नेचर प्रयोग गरेर पठनीय बनाएका छन्।
‘सलह’ अन्त्यसम्म पुग्दा मनमा एउटा मात्र वाक्य प्रतिध्वनित हुन्छ- ‘लेखिसकेपछि, यसरी पो लेख्नु।’ विषयलाई यसरी पनि पो लेख्न सकिनेरहेछ। तर त्यसका लागि पनि समाज र जीवनलाई बुझ्नका लागि तुलनात्मक रूपमा केही थान कमिज, गन्जी, चप्पल, तिलचामले कपाल त बनाउनै पर्ला। ‘सलह’ त्यही परिपक्व अनुभवको कलात्मक परिणाम हो।
यस अर्थमा ‘सलह’ नेपाली उपन्यासको सूचीमा थपिएको अर्को महत्त्वपूर्ण कृति हो। नेपाली वाङ्मयमा धेरै समयसम्म स्मरणीय रहने सशक्त आख्यान हो। यसले पाठकलाई कथा मात्रै सुनाउँदैन, जीवनको अर्थसँग साक्षात्कार गराउँछ। जीवनबोध गराउँछ। जीवन नाटक पनि हो, नाटक जीवन पनि हो। जीवनमा नाटक यसअर्थमा कि मानिसले परिस्थितिअनुसार विभिन्न खण्डमा बाँच्नुपर्छ। यही परिस्थितिअनुसार बाँचेको कथा नै ‘सलह’ हो।
‘सलह’को अर्को पक्ष पनि छ। प्रकृति र जीवनलाई दार्शनिक गहिराइका साथ प्रस्तुत गर्नु। एउटा सानो हरफमै लेखक मुकारुङले जन्म, मृत्यु, पुनर्जन्म र प्रकृतिको अनन्त चक्रलाई कलात्मक अभिव्यक्तिका साथ प्रस्तुत गरेका छन्।
एक हरफ हेरौँ- ‘मेरो चिहानमाथि चामल, रक्सी, बाटोखर्च राखिदिए। अदुवा, अक्षता, आगो, पानी, माटो र फूलले आत्मा शुद्ध गरिदिए। तब मेरो मुखबाट अट्टे धान उम्रियो। स्तनबाट दुबो र योनिबाट च्याउ उम्रियो। कपाल काँस भयो। आँखा, नाक, कान र औँलाका कापबाट उन्यूँ पलायो। मभित्रको प्रेम, दया, करुणा छिचिमिरा भए। रिस, आवेग र प्रतिशोध अरिंगाल, बच्छ्यूँ, बारुला र चोर कमिला भए। त्यसपछि मेरो आत्मा मेरो शरीर छोडेर पुतलीझैँ उड्दैउड्दै खोल्सापारिको गुराँसको फूलमा बस्यो। फूललाई चराकिराले खाए। चराकिरालाई अरूले खाए। अरूलाई अरूले खाए। यसरी मेरो चोला बदलिँदै गयो। जुनी फेरिँदै गयो।’
उक्त हरफले जीवन र प्रकृतिको अखण्ड सम्बन्धमाथिको गहिरो दार्शनिक विमर्श प्रस्तुत गरेको छ। यसमा मानिस माटो बन्छ, माटो वनस्पति बन्छ, वनस्पति जीव बन्छ र जीवन फेरि अर्को जीवनमा रूपान्तरित हुँदै जान्छ। यही चक्रभित्र मानव अस्तित्व, प्रकृति र समय एउटै लयमा बाँधिएका छन्।
यही एउटा हरफले गाउँको माटो, पहाडको सुगन्ध, किराफट्यांग्राको संसार, वनस्पति, नदी, फूल र अन्तत: सम्पूर्ण जीवनचक्रलाई एउटै काव्यात्मक बिम्बमा समेटिदिएको छ। ‘सलह’ले प्रकृति र जीवनलाई एउटै सासमा बाँच्न सिकाएको छ। लेखक हरेक प्राणीलाई बचाउनुपर्ने पक्षमा छन्।
एउटा मानिसले कति पटक मर्दै बाँचिरहेको हुन्छ? एकै जुनीमा अनेकन् खण्ड भएर बाँच्नुपरेको कथा नै ‘सलह’ हो। लेखकले ठाउँठाउँमा लेखेका हरफले पाठकलाई हुरुक्कै बनाउँछन्। ठाउँठाउँमा कुनै सुन्दर कविता पढिरहेजस्तो लाग्छ। सरल र काव्यिक लेखनशैली नै ‘सलह’को भाषिक विशेषता हो।
पुस्तक पढ्दै जाँदा ठाउँठाउँ उत्साहित, खुसी तुल्याउँछ भने ठाउँठाउँ बतासले हिर्काएको चिसो हृदयजस्तो बनाउँछन्। कतै पीडाबोध गराउँछ भने कतै पाठक आफैँले बाँचिरहेको जीवनजस्तै पनि लाग्छ। एउटै मानिस कतिपटक भत्किएर पुन: कतिपटक उठ्न सक्छ भन्ने गहिरो अभिव्यक्ति दिएको छ ‘सलह’मा। मानिसले बाँच्नका निम्ति जसरी हुन्छ, संघर्ष गर्नुपर्छ भन्ने सन्देश छ पुस्तकमा।
श्रवण मुकारुङले उपन्यास लेख्नुको अर्थ एउटा अर्को उपन्यास थपिनु मात्र होइन। नेपाली समाजको एउटा समय, एउटा भूगोल, एउटा कालखण्ड र एउटा सभ्यताको कथा साहित्यमा सुन्दर ढंगले सुरक्षित हुनु पनि हो। समाजलाई नजिकबाट भोगेका अनुभूतिहरूलाई काव्यात्मक उचाइमा पुर्याउने गुणकै कारण नेपाली आख्यानका विशिष्ट सर्जकहरूका लहरमा उभिन आइपुगेका छन् श्रवण मुकारुङ।
‘सलह’ पढेपछि कविहरूले आख्यान लेख्नुपर्छ भन्ने बोध भयो। उनीहरूले समाजलाई सतहबाट मात्रै हेर्दैनन्, उनीहरू समाज बाँच्छन्। त्यसैले पात्रहरू कल्पनाका उपज होइनन्, जीवनबाट जन्मिएका अनुभूतिहरू हुन् भन्ने पाठकहरुलाई अनुभूति दिन्छन्।
मुकारुङका आख्यानमा कविको आत्मा जीवित छ। उपन्यास ‘सलह’ पढिसकेपछि कवि हेमन यात्रीको टिप्पणी छ- ‘कवि श्रवण मुकारुङको कविता संग्रह ‘जीवनको लय’ मा अर्का लेखक नारायण वाग्लेले लेखेका छन्- ‘श्रवण मुकारुङका कवितामा गीत हुन्छ, गीतमा कविता हुन्छ।’ ‘सलह’ पढेपछि थपेर भन्न मन लाग्छ- श्रवण मुकारुङका आख्यानमा कविता र गीत दुवै हुन्छ।
कृति : ‘सलह’
विधा : आख्यान (उपन्यास)
मूल्य : ९९५।
लेखक : श्रवण मुकारुङ
प्रकाशक : नेपालय पब्लिकेसन





