कवितामा नअटेको कथा ‘सलह’ मा

हिमाल प्रेस ३ वैशाख २०८३ १६:३२ | Thursday, April 16, 2026
8
SHARES
कवितामा नअटेको कथा ‘सलह’ मा

काठमाडौँ- कवि एवं गीतकार श्रवण मुकारुङको ‘सलह’ नामक उपन्यास बजारमा आएको छ। उनले यो उपन्यास झन्डै तीन वर्ष लगाएर लेखेका हुन्। ४२ वर्ष लेखनीमा बिताएका मुकारुङको ‘सलह’ पहिलो उपन्यास हो। यसअघि उनको चिनारी नाटकककार, कवि र गीतकारका रूपमा थियो। अब उनको विशेषण उपन्यासकारका रूपमा थपिएको छ।

मुकारुङ छोटो र स्वादयुक्त कविता-गीतका रचनाकार हुन्। ‘उहाँ गीत र कवितामा पोख्त हुनुहुन्छ। यसपटक नयाँ विधा लिएर आउनुभएछ,’ साहित्यकार सुन्दर कुरूप भन्छन्, ‘नयाँ आख्यान आएको छ तर पढ्न पाएको छैन।’ कुरूप मुकारुङलाई रहस्यमय गीत र जीवन्त कविता रचना गर्नेे साहित्यकारका रूपमा चिनाउँछन्।

मुकारङका यसअघिका धेरै साहित्यिक कृति गहकिला छन्। ‘बिसे नगर्चीको बयान’ कविताले कुनै बेला धेरैको मन छोएको थियो। त्यसपछि पनि मुकारुङ गीत-कवितामै रमाए।

मुकारुङले उपन्यास लेख्नुलाई समयको मागका रूपमा अथ्याउँछन्, अर्का साहित्यकार प्रकाश थाम्सुहाङ। ‘अहिले आख्यानको समय छ। कविको प्रतिमा बन्छ, आख्यानकारले घर बनाउँछ भन्ने भाष्य छ। यही कारण पनि आख्यानतिर मन गएको हुनुपर्छ’, उनी भन्छन्।

मुकारुङले उपन्यास रोज्नुको मुख्य कारण हो, विषयवस्तु। उनलाई लागेका विषयवस्तु यसअघिसम्म कविता-गीतमै अटेका थिए। त्यसैले उनलाई उपन्यास लेख्ने सोच आएन। यसपटक भने मुकारुङलाई उपन्यासकै भोक लाग्यो।

‘खान्कीअनुसारको बान्की’ भनेझैँ उनको खान्की अथवा विषयवस्तु बृहत् भएकाले ठूलो विधा रोज्नुप¥यो। ‘मैले जुन विषय लेख्दै आएको थिएँ, त्यो कविता वा गीतमा अट्दैन थियो’, उनी भन्छन्, ‘यही कारण मैले तीन वर्ष लगाएर उपन्यास लेखे।’

समाजमा घटेका विभिन्न घटनालाई उनी यसअघि गीतमै अटाउँथे। कहिले विदेशको पीडा त कहिले समाज सुधारका योजना उनी गीत-कविताकै लयमा भुलाउँथे। अहिले भने विशुद्ध गद्य विधा समाए। ‘पहिलेका विधा एकै बसाइमा सिद्धिन्थे। यो अलि समय लाग्यो’, उनी भन्छन्।

मुकारुङका अनुसार सलह एउटा मध्यम आकारयुक्त उपन्यास हो। यसको कथ्य विषय महिला व्यवस्था हो। ‘सलह मैले विम्बका रूपमा प्रयोग गरेको शब्द हो। तर उपन्यास नारीवादी छ’, उनी भन्छन्। ४४० पृष्ठको उपन्यास महिलाका जीवन र भोगाइबारे केन्द्रित छ। यो महिलाको संघर्ष र परिचयसँग जोडिएको विषय हो।

मुकारुङ जीवनमा भएका घटनालाई साहित्यिक रूप दिन सिपालु छन्। ‘देश बदलिएको छ। अनि हाम्रो समस्या पनि बदलिएका छन्। यिनै विषयलाई उठान गर्दै उपन्यास लेखेको छु’, उनी भन्छन्।

२०२५ सालमा भोजपुरमा जन्मिएका मुकारुङ विद्यालय स्तरबाटै साहित्यमा लागेका थिए। उनको साहित्य लेखनको औपचारिक थालनी भने २०३९/४० सालतिर भएको हो। उनी भन्छन्, ‘कक्षा ७ मा पढ्दा ‘हुलाकी बन्ने धोको’ निबन्ध र ९ मा पढ्दा ’अस्तित्व’ नाटक लेखेको थिएँ।’ काठमाडौँ आएपछि रत्नराज्यलक्ष्मी क्याम्पस पढ्दा पहिलोचोटि ‘आाजकल रानीपोखरीमा’ शीर्षकको कविता सुनाएका थिए।

जनआन्दोलन २०६२/०६३ ताका ‘बिसे नगर्चीको बयान’ ले मुकारुङलाई अझ चिनाउन सफल भयो। उनले हालसम्म तीन कवितासंग्रह, दुईवटा निबन्ध संग्रह र तीनवटै नाटक लेखेका छन्। ‘देश खोज्दै जाँदा’, ‘जीवनको लय’, ‘बिसे नगर्चीको बयान’ कवितासंग्रह हुन् भने ‘यलम्बर’ र ‘मितिनी’ नाटक हुन्। ‘तर्कहरूको विपक्षमा’, ‘धावालय’ निबन्धसंग्रह हुन्। उनले एउटा ‘अनागरिक’ नाम फिल्म पनि लेखेका थिए। जुन फिल्मबाट नायक दयाहाङ राई पर्दामा देखिएका थिए। उनी अब तत्काल आफ्नो कथामा अर्को फिल्म आउन लागेको बताउँछन्।

प्रकाशित: ३ वैशाख २०८३ १६:३२ | Thursday, April 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast