शब्दका साधक श्रवण [भिडियोसहित]

विवेक विवश रेग्मी ६ भदौ २०८३ ११:३७ | Saturday, August 22, 2026
शब्दका साधक श्रवण [भिडियोसहित] साहित्यकार श्रवण मुकारुङ

काठमाडौँ- काठमाडौँ मानिसहरूको ज्यादा भीड तर एकाकीपनमा बाँचिरहेको छ। धेरै दौडधूप तर करुणाविहीन बाँचिरहेको छ। यस्तै भीडभाडमा बसेर पनि, करुणा, दया र विचारको अग्लो पहाड लिएर चार दशकभन्दा बढी समयदेखि उभिइरहेका छन् श्रवण मुकारुङ।

मुकारुङको परिचय आफैँमा अग्लो र विशिष्ट छ। समकालीन साहित्यको शिखर व्यक्तित्व प्रसिद्ध कवि र गीतकारको परिचय बनाएका उनको मन सधैँ कुनै न कुनै गाउँ, पहाड, मानिस, आवाज वा कथाको खोजीमा हुन्छ। उनी सीमान्तकृत, उत्पीडित र श्रमिक वर्गको कथा बुनिरहेका हुन्छन्। हरेक दिनजसो शब्दका साधक बनिरहेका उनी कहीँ, कुनै कविता वा गीतमा आफैँजस्तो अनुहार भेट्छन्।

उनीसँग कुरा गरिरहँदा बाहिरबाट हेर्दा एउटा साधारण मानिस संवाद गरिरहेको देखिन्छ। तर उनको मस्तिष्कको कुनै कुनामा भने कविता, गीत वा साहित्यको कुनै प्लट वा कुनै हरफ निरन्तर खोजिइरहेको हुन्छ।

उनी स्वयं यसलाई लेखनको ‘लत’ जस्तो मान्छन्। कलम हातमा नभए पनि उनको मस्तिष्क भने लेखिरहेकै हुन्छ। बाटोमा हिँड्दा होस्, कसैसँग गफ गर्दा होस् वा सामान्य दैनिकी बिताइरहँदा उनको चेतनाको कुनै भाग नयाँ शब्द, नयाँ दृश्य र नयाँ सिर्जनाको खोजीमा हुन्छ।

‘मलाई त त्यो सिसिफसजस्तो लाग्छ आफैँलाई,’ उनी भन्छन्, ‘कता हो लेखेँ होला भन्दै गयो, फेरि पछि हैन मैले लेख्न बाँकी छ, अझै म सिद्ध लेखक भइसकेको छैन भन्ने भइरहन्छ।’

यही ‘अझै बाँकी छ’ भन्ने अनुभूतिले चार दशकदेखिको अथक मिहिनेत र साधनाले उनलाई निरन्तर सक्रिय बनाइरहेको छ। एउटा टुंगोमा पुग्न नसकेको यात्रीझैँ उनी लेखनमा अगाडि बढिरहेका छन्। उनका लागि सिर्जना आफूलाई अभिव्यक्त गर्ने माध्यम होइन, समाज, मानिस र संसारलाई बुझ्ने निरन्तर अभ्यास पनि हो।

मुकारुङको बाल्यकालको पहिलो स्मृति उदयपुरको श्रीवानी झोडासँग जोडिन्छ। पाँच-६ वर्षको उमेरमा आमा खोज्दै जाँदा हराएको त्यो दृश्य उनको स्मृतिमा अझै ताजा छ। उनका बुवाआमा झोडा फाँडेर बसोबास गरिरहेका थिए।

बाल्यकाल कुनै सहज रेखामा अघि बढेन। पारिवारिक असमझदारीले उनको बालमनमा संवेदनाको तह गहिरो बनायो।

उनी भन्छन्, ‘बाल्यकालमा आउने असहजता र पारिवारिक उतारचढावले मानिसलाई बढी संवेदनशील बनाउन सक्छ।’ उनको आफ्नै अनुभवमा पनि त्यसको प्रभाव लेखनमा परेको छ। ‘सीधा, सरल रेखामा हुर्किएको कुनै व्यक्तिभन्दा उसको चाइल्ड लाइफ अलिकति डिस्टर्बेन्स छ, अलि तलमाथि भएको छ भने ऊ बढी संवेदित हुन्छ, हुँदोरहेछ। मलाई पनि त्यस्तै केही भयो,’ उनी भन्छन्।

सायद यही संवेदनशीलताले पछि उनका कवितामा गाउँ, पहाड, श्रम, सीमान्तकृत समुदाय र विभेदमा परेका मानिसलाई ठाउँ दियो।

राजनीतिक चेतनाबाट साहित्यतर्फ

मुकारुङको साहित्यिक यात्रामा व्यक्तिगत अनुभवसँगै राजनीतिक चेतनाको पनि गहिरो प्रभाव छ। हाइस्कुल पढ्दाको समयमै उनी वामपन्थी राजनीतिक आन्दोलनको प्रभावमा परे। पाकिस्तानका तत्कालीन नेता जुल्फिकार अली भुट्टोलाई फाँसी दिइएको घटनापछि विद्यार्थी आन्दोलन गाउँसम्म पुगेको समय उनी सम्झन्छन्। विद्यालयमा पनि स्वतन्त्रताको माग, व्यवस्थाको विरोध र नाराजुलुसको वातावरण बनेको थियो।

त्यो समयले उनको चेतनामा प्रश्न जन्मायो- व्यवस्था किन यस्तो छ? मानिस किन विभेदमा छन्? अन्यायविरुद्ध कसले बोल्ने?

त्यसमाथि भोजपुरको आफ्नै सामाजिक-सांस्कृतिक वातावरणले पनि उनलाई प्रभावित गर्‍यो। योगमाया, बालगुरु षडानन्द, रामप्रसाद राई, नारदमुनि थुलुङलगायत संघर्ष र चेतनासँग जोडिएका व्यक्तित्वहरूको इतिहास बोकेको भूगोलमा हुर्किनु उनको चेतनाको अर्को आधार बन्यो।

त्यसैले उनका लागि लेखन सौन्दर्यको खोजी मात्र नभएर अन्याय देखेपछि काव्यिक ढंगले बोल्नु लेखकीय जिम्मेवारी ठाने। ‘अन्यायमा परेकाहरूको पक्षमा उभिनु त एउटा लेखकको कर्तव्य नै हो,’ उनी भन्छन्, ‘विभेदमा पारिएकाहरूको पक्षमा वकालत गर्नु लेखकीय धर्म नै हो।’

मुकारुङका पात्र किन सीमान्तकृत?

मुकारुङका कवितामा गाउँको माटो, श्रम, पहाड र सीमान्तकृत मानिसको पीडा बारम्बार आउँछ। उनी ती पात्रलाई जबर्जस्ती खोजेर लेख्दैनन्। समाजलाई हेर्दै जाँदा आफैँ ती पात्रहरू उनको सिर्जनामा आइपुग्छन्।

उनका लागि सिर्जनाको थालनी नै ‘नमिलेको’ कुराबाट हुन्छ। सबै कुरा सुन्दर, व्यवस्थित र न्यायपूर्ण भएको समाजमा स्रष्टाले प्रश्न गर्ने ठाउँ कम हुन्छ। तर जब समाजमा विखण्डन देखिन्छ, विभेद देखिन्छ, अन्याय देखिन्छ, मानवीय सम्बन्धमा दरार देखिन्छ, त्यहीँबाट सिर्जनाको आवश्यकता जन्मिन्छ।

कसैले कुची समाउँछ, कसैले बाजा। राजनीतिज्ञले झण्डा समाउन सक्छ। साहित्यकारले कलम समाउँछ। सत्तालाई प्रश्न गरिरहन्छ, खबरदारी गरिरहन्छ। मुकारुङका लागि यही कलम समाजको ऐना पनि हो र प्रश्न गर्ने माध्यम पनि।

‘रोजेको दुःख’को यात्रा

साहित्यलाई पेसा बनाउनु नेपालजस्तो तेस्रो विश्वमा सहज छैन। विशेषतः ग्रामीण र निम्न आर्थिक पृष्ठभूमिबाट आएको मानिसका लागि साहित्यिक यात्रामा झन् धेरै चुनौती हुन्छ।

मुकारुङ भोजपुरको दिल्पाबाट सहर पसे। त्यसबेला किरात समुदायमा खासगरी लाहुरे बन्ने परम्परा बलियो थियो। त्यो परम्पराबाट अछुतो थिएनन् उनी। यस्तो परिवेशबाट कसैले कविता, गीत र साहित्य रोज्दा परिवारले सहज रूपमा स्वीकार्ने अवस्था थिएन। ‘यो बिग्रियो भने जस्तो, यो काम नलाग्ने भयो भन्ने टाइपको ठाउँबाट म आएँ,’ उनी सम्झन्छन्।

उनले साहित्य रोजे। संघर्ष गरे। पटकपटक अभाव भोगे। ती दुःखप्रति उनलाई पछुतो छैन। उनी भन्छन्, ‘यो दुःख हो भने मैले रोजेको दुःख हो। त्यसकारण यसमा मेरो पछुतो छैन।’

यो एउटा कविको आत्मस्वीकार मात्र होइन, उनको जीवनदर्शन पनि हो। आफूले रोजेको बाटोमा कठिनाइ आउँदा त्यसलाई असफलता होइन, यात्राको स्वाभाविक मूल्यका रूपमा स्वीकार गर्ने दृष्टि पनि हो। त्यति मात्र नभई अनन्तको संघर्ष र साधनाको परिणामपछिको सन्तुष्टि पनि हो।

प्रेमले बचाएको जीवन

मुकारुङको सिर्जनामा प्रेम र विद्रोह सँगसँगै भेटिन्छन्। उनका लागि प्रेम कुनै एउटा व्यक्ति वा सम्बन्धमा सीमित विषय होइन। उनको दृष्टिमा प्रेम संसारलाई जोड्ने शक्ति हो। उनको आफ्नै जीवन पनि प्रेमकै कारण टिकेको अनुभूति छ।

उनी भन्छन्, ‘आफूले अहिलेसम्म कुनै ‘भसिलो’ जागिर नखाई साहित्यकै माध्यमबाट जीवन चलाइरहनु समाज, परिवार, पाठक र नेपाली समुदायले दिएको प्रेमकै कारण सम्भव भएको हो।’

कविता छापिदिने, पुस्तक किनिदिने, कविता सुन्न बोलाउने, गीतप्रति प्रेम गरिदिने, सिर्जनालाई स्वीकार गर्ने मानिसकै कारण आफू बाँचिरहेको उनको बुझाइ छ। उनले अघि भने, ‘यो देशले मलाई प्रेम गरेको छ र नै म बाँचिरहेको छु।’

प्रेम गर्ने समाजमा घृणाको सम्भावना पनि हुन्छ। जसले प्रेम गर्न सक्छ, उसले त्यति नै तीव्र रूपमा घृणा वा आक्रोश पनि व्यक्त गर्न सक्छ। नेपाली समाजको भावनात्मक स्वभावलाई उनी यही द्वन्द्वमा हेर्छन्। जीवनमा लाग्ने चोट पनि उनका लागि सिर्जनाको ऊर्जा हो। ठेस लाग्नु यात्राको स्वाभाविक प्रक्रिया हो र त्यसले लेखनलाई थप ऊर्जा दिन्छ।

समाज सभ्य बन्दै छ कि बर्बर?

समाजमा मानिसहरूबीच संवाद घट्दै गएको, एकअर्कालाई सुन्ने र बुझ्ने क्षमता कमजोर हुँदै गएको अनुभूति धेरैलाई हुन्छ। सामाजिक सञ्जाल र प्रविधिले संसारलाई नजिक ल्याए पनि मानिसबीचको दूरी कताकता बढेको देखिन्छ। समाज विखण्डित भइरहेको छ। मुकारुङ यसलाई पूर्णतः नयाँ समस्या भने मान्दैनन्।

पहिले पनि समाजमा हिंसा, विभेद र बर्बरता थियो। फरक यति हो, त्यतिबेला संसारको एउटा कुनामा भएको घटना अर्को कुनासम्म तत्काल पुग्दैनथ्यो। प्रविधिले संसारका सबै घटना हाम्रो आँखाअगाडि ल्याइदिएको छ। त्यसैले समाज झन् बर्बर भएको जस्तो अनुभूति हुन सक्छ।

उनका लागि साहित्यको भूमिका यहीँबाट सुरु हुन्छ- मानिसलाई अझ मानवीय बनाउने। मुकारुङका अनुसार राम्रो कविता, गीत वा आख्यान पढ्दा मानिसभित्रको मानवीय संवेदना जागृत हुनुपर्छ। साहित्यको अन्तिम काम यही हो- मानिसभित्रको दया, करुणा र संवेदना बलियो बनाउनु।

कवि लेख्न नसकिरहेको बेला कविले के गर्छ? भन्ने जिज्ञासामा मुकारुङ भन्छन्, ‘लेख्न नसक्नु मौनता होइन। कलमले नलेखे पनि दिमागले लेखिरहेकै हुन्छ। नयाँ कविता, गीतको प्लट वा कुनै हरफको खोजी अवचेतनमा चलिरहन्छ।’

उनी यसलाई रोगजस्तै लत भइसकेको बताउँछन्। त्यसैले उनका लागि लेखन भनेको मेचमा बसेर कागजमा शब्द उतार्नु मात्र होइन। जीवनलाई हेर्ने, सुन्ने, अनुभव गर्ने र त्यसलाई भित्रभित्रै प्रशोधन गर्ने प्रक्रिया पनि लेखन हो।

एआईसँग डराउने कि उपयोग गर्ने? भन्ने बहस भइरहँदा प्रविधिको तीव्र विकाससँगै कृत्रिम बुद्धिमत्ता अर्थात् एआईले साहित्य र सिर्जनात्मक क्षेत्रमा पनि चुनौती थपेको छ।
मुकारुङ एआईसँग डराउनुपर्ने पक्षमा छैनन्। उनका लागि एआई सिर्जनाको विकल्प होइन, सहायक हुन सक्छ। एआईले कविता लेख्न सक्छ, गीत बनाउन सक्छ। तर त्यसलाई उनी वास्तविक सिर्जना मान्दैनन्। उनका अनुसार एआईले संसारका विभिन्न स्रष्टाका सिर्जनाबाट सिकेको सामग्रीलाई जोडजाम गरेर नयाँ रूपमा प्रस्तुत गर्छ। त्यसमा मानवीय अनुभव, चेतना र हृदयको आफ्नै अनुभूति हुँदैन।

त्यसैले लेखकले एआईलाई बहिष्कार गर्ने होइन, उपयोग गर्न सिक्नुपर्छ। ‘उसलाई एउटा सहायकका रूपमा प्रयोग गर्न सकियो भने राम्रो हुन्छ,’ उनको धारणा छ। उनका अनुसार एआईले दिएको सामग्रीलाई आफ्नै सिर्जना ठान्नु भने लेखकका लागि घातक हुन सक्छ। प्रविधि प्रयोग गर्न सकिन्छ, तर सिर्जनाको मूल स्रोत मानवीय चेतना र अनुभव हुनुपर्छ।

गीत कमजोर भएको हो कि हाम्रो रुचि?

पछिल्लो समय नेपाली गीत-संगीतमा काव्यात्मकता कमजोर भएको चर्चा हुन्छ। मुकारुङ गीतसंगीतको गुणस्तरमा केही गिरावट आएको स्वीकार गर्छन्। तर त्यसका लागि कलाकार मात्र दोषी छैनन्। उपभोक्ता अर्थात् श्रोता पनि जिम्मेवार छन्।

जस्तो सामग्री धेरै सुनिन्छ, त्यस्तै सामग्री उत्पादन हुने बजारको स्वाभाविक नियम हो। सतही गीत भाइरल हुन्छ, बढी लाइक र कमेन्ट आउँछ भने कलाकार पनि त्यही दिशातर्फ आकर्षित हुन्छ। त्यसैले राम्रो सिर्जना चाहने हो भने श्रोताले पनि राम्रो सिर्जना सुन्नुपर्छ।

यससँग शिक्षा पनि जोडिएको छ। नेपाली शिक्षा प्रणालीमा साहित्य, कला र संगीतलाई गम्भीरतापूर्वक पढाउने परम्परा कमजोर रहेको उनको बुझाइ छ। विद्यालय र कलेजमा नेपाली साहित्यलाई जीवन र समाजसँग जोडेर पढाउन नसक्दा पाठकको रुचि र साहित्यिक चेतनामा पनि प्रभाव परेको छ।

राजनीति र परिवर्तन

राजनीतिप्रति मुकारुङको दृष्टि आलोचनात्मक भए पनि निराशावादी छैन। उनका लागि परिवर्तन रातारात हुने कुरा होइन। समाज र राजनीति समयसँगै बदलिने प्रक्रिया हो। त्यसैले अहिलेको अवस्थालाई विगतका अनुभव र भविष्यका सम्भावनासँग जोडेर हेर्नुपर्छ।

नयाँ पुस्ता, नयाँ चेतना र नयाँ धारणा लिएर आउँछ। राजनीतिक दलहरूले उनीहरूसँग सहकार्य गर्न सक्ने क्षमता विकास गर्नुपर्छ। तर परिवर्तनका नाममा हिंसा र विध्वंसलाई स्वीकार गर्न उनी तयार छैनन्।

उनका लागि लोकतान्त्रिक परिवर्तनको बाटो मानिसको मन जितेर, मतबाट र संवादबाट अघि बढ्ने बाटो हो।

सफलता : अरूले होइन, आफैँले मापन गर्ने कुरा

आजको समाजमा सफलता बाहिरी उपलब्धिसँग जोडिन्छ। पैसा, पद, लोकप्रियता, चर्चा र सामाजिक प्रतिष्ठासँग। मुकारुङको सफलता भने अलि भिन्न छ।
उनका लागि आफूले गरेको कामबाट आफू कति सन्तुष्ट छु भन्ने नै सफलताको पहिलो मापदण्ड हो। आफूले लेखेको कविता वा गीत पढेर ‘मैले राम्रो लेखेँ’ भन्ने आत्मविश्वास जाग्यो भने त्यो नै वास्तविक सफलता हो।

अरूले मन पराऊन् भन्ने अपेक्षाबाट दुःख सुरु हुन्छ। किनभने अर्को व्यक्तिको रुचि आफ्नो नियन्त्रणमा हुँदैन। त्यसैले आफ्नो कामप्रति इमानदार सन्तुष्टि नै सफलताको आधार हो।

‘सलह’ : आफूलाई आफैँ चिन्ने यात्रा

कवि, गीतकार र नाटककारका रूपमा स्थापित भइसकेपछि मुकारुङले उपन्यास विधामा प्रवेश गरे। उनको पहिलो उपन्यास ‘सलह’ लेख्नु नयाँ अनुभव थियो।
कविता र गीतमा अभ्यस्त भए पनि उपन्यासका लागि लामो संरचना, विस्तृत पात्र, समाजको गहिरो अध्ययन र निरन्तर अनुशासन आवश्यक थियो।

उपन्यास लेख्ने क्रममा उनले आफ्नो सामथ्र्य र कमजोरी दुवै पहिचान गरे। भाषाको हिसाबले आफू कति सम्पन्न छु? अभिव्यक्तिको क्षमता कति छ? कल्पना गर्ने क्षमता कस्तो छ? समाज र मानिसलाई चिन्ने आफ्नो क्षमता कति छ? ‘सलह’ ले उनलाई यी प्रश्नको सामना गर्ने अवसर दियो।

त्यसैले उपन्यास ‘सलह’ उनका लागि आत्मपरीक्षणको प्रक्रिया पनि बन्यो। उनले आफूलाई चिन्ने अवसर पाए। आफ्ना कमजोरी भेटे। आफ्ना बलिया पक्ष पनि पहिचान गरे। यसै वर्ष उपन्यास प्रकाशनसमेत गरे। अहिले उपन्यासको दोस्रो संस्करण बजारमा आइसकेको छ।

‘सलह’ मा प्रकृति, जीवन, मृत्यु, पुनर्जन्म र पर्यावरणीय चक्रको काव्यात्मक अभिव्यक्ति भेटिन्छ। मानिसको शरीर प्रकृतिमा विलीन हुन्छ। एउटा जीवलाई अर्को जीवले खान्छ। त्यो चक्र फेरि वनस्पति र माटोसम्म पुग्छ। मुकारुङले विज्ञान, पूर्वीय दर्शन र काव्यात्मक कल्पनालाई एउटै तहमा जोड्ने प्रयास गरेका छन्। उनका लागि उक्त उपन्यास प्रकृति र जीवनबीचको सम्बन्धलाई काव्यात्मक भाषामा अनुभूत गर्ने प्रयास पनि हो।

त्यसैले ‘सलह’ पढ्दा कथा मात्र होइन, कविता, गीत र नाटकको लय पनि अनुभूत गर्न सकिने उनको विश्वास छ।

धेरै विधामा छरिनु कि प्रतिभाको विस्तार?

गणेश रसिकले धेरै विधामा लाग्दा प्रतिभा खण्डित भएको हुन सक्ने चिन्ता व्यक्त गरेको प्रसंगमा मुकारुङको दृष्टिकोण भिन्न छ। उनका लागि धेरै विधामा लेख्नु आफैँमा कमजोरी होइन। उनी भन्छन्, ‘मुख्य प्रश्न एउटै हो- जुन विधामा लेखिन्छ, त्यसमा उच्चतम अभिव्यक्ति दिन सकियो कि सकिएन? कविता, गीत, नाटक, उपन्यास वा सिनेमा विधा भिन्न भए पनि सिर्जनाको गुणस्तर महत्त्वपूर्ण हुन्छ।’

कुनै स्रष्टाले धेरै विधामा राम्रो सिर्जना गर्न सक्छ भने त्यो कमजोरी होइन, प्रतिभाको विस्तार पनि हुन सक्ने उनको टिप्पणी छ।

मुकारुङद्वारा रचित ‘माथिमाथि शैलुङैमा…देखि राई माइलाले गाउँ छाड्यो अरे…’ सम्म आइपुग्दा दर्जनौँ गीतहरू चर्चित र सदावहार छन्। जसमध्ये ‘सुनकोशीको सुनको पानी, परदेशीले पिउँदा। बगर भो मेरो जीवन, आशै आशमा जिउँदा !’ भन्ने गीतको पृष्ठभूमि सम्झिदाँ उनी विगततिर हाम्फाल्छन्।

खासगरी पहिले-पहिले लाहुरेहरू बास बस्न जाने र त्यहीँका छोरीचेलीहरूसँग उठबस गर्ने, तर उनीहरू पछि फर्किएर नआउने, ती चेलीहरू भने लाहुरेको पर्खाइमा वर्षौँ बिताएको घटना थिए। उनले त्यही घटनालाई कल्पना गर्दै उक्त गीत लेखे। भोजपुरबाट पिखुवा खोला, अरुण नदी हुँदै चतरा र बराहक्षेत्रतर्फ आउने अक्करको बाटो थियो। ढाकर बोकेका भरियाहरूको लस्कर हुन्थ्यो। लाहुरेहरू आउनेजाने गर्थे। त्यो बाटो एउटा संस्कृति थियो। मानिसको आवतजावत, प्रेम, भेटघाट, बास र बिछोडका अनेक कथा बोकेको जीवित भूगोल थियो।

त्यही बाटोमा हिँड्दा उनले देखेका दृश्य, सुनेका कथा र कल्पनाले पछि गीतको रूप पाएको स्मरण गर्छन्। एक लाहुरेको प्रतीक्षामा युवती जीवनभर बसिरहन्छे। त्यही प्रतीक्षा, त्यो बाटो र त्यो समयको स्मृतिबाट गीत जन्मिएको उनी सुनाउँछन्।

असफलता पनि यात्राकै हिस्सा

मुकारुङको जीवनमा पनि असफलताको समय आयो। काठमाडौँमा संघर्ष गर्दै गर्दा असफल भएपछि गाउँ फर्किए। खेती गर्ने प्रयास गरे। तर त्यही वर्ष खडेरी पर्‍यो।
गाउँमा मानिसले व्यंग्य गरे- ‘यतिका वर्षपछि फर्केर खेती गर्न आयो, त्यसैले खडेरी लाग्यो।’ उक्त वचनले उनलाई चोट लागेजस्तै भयो। उनी फेरि काठमाडौँ फर्किए। संघर्ष जारी राखे। आज पछाडि फर्केर हेर्दा उनी ती असफलताप्रति दुःखी छैनन्। बरु अनुगृहीत देखिन्छन्।

दुःखले मानिसलाई परिपक्व बनाउँछ। अनुभवले मानिसलाई बलियो बनाउँछ। सानो-तिनो कठिनाइले हल्लाउन नसक्ने बनाउँछ। उनको अनुभवले यही भन्छ।

२० वर्षको श्रवणलाई आजको श्रवणको सल्लाह

आजको श्रवण मुकारुङले २० वर्षको आफूलाई भेट्न पाए भने के भन्थे? सायद अलि कम ‘ल्याङफ्याङ’ जीवन बाँच्न भन्थे सायद। उनलाई लाग्छ, युवावस्थामा पढाइ र आफ्नो बाटोप्रतिको अनुशासनमा अझ ध्यान दिन सके राम्रो हुन्थ्यो। उचित मार्गदर्शन नपाउँदा मानिस आफ्नो बाटोबाट अलमलिन सक्छ र आफूले ताकेको ठाउँमा पुग्न ढिला हुन सक्छ।

जीवनका ती कमजोरीहरू पनि अहिले उनको यात्राको हिस्सा भइसकेका छन्। फेरि बाँच्न पाए कुन समय रोज्थे? उनको उत्तर सरल छ- ‘कलेज जीवन।’ साथीहरू, नयाँ सम्बन्ध र नयाँ अनुभवले भरिएको त्यो समय उनको स्मृतिमा जीवनकै रमाइलो चरणका रूपमा बसेको छ।

मृत्यु लेख्नु भनेको जीवनलाई सुन्दर बनाउनु

मुकारुङले मृत्युबारे पनि कविता लेखेका छन्। जीवनका केही अत्यन्त निराश क्षणहरूले उनलाई मृत्युबारे लेख्न प्रेरित गरे। तर मृत्युबारे लेख्नु उनको लागि निराशाको अभिव्यक्ति मात्र होइन। जीवन र मृत्यु एउटै यात्राका दुई पाटा हुन्। मानिसले मृत्यु सम्झँदा बाँचिरहेको जीवनको मूल्य अझ गहिरो रूपमा बुझ्न सक्छ।

त्यसैले उनका लागि मृत्युका कविता अन्ततः जीवनलाई सुन्दर बनाउने प्रयास हुन्।

मानिसको नाम, प्रतिष्ठा र कृति सधैँ रहँदैन।

मुकारुङ थप्छन्, ‘एक दिन महाकवि देवकोटालाई, आदि कवि भानुभक्तलाई र उनीहरूका कृतिलाई समेत मानिसले बिर्सन सक्छ। संसारमा केही पनि पूर्ण रूपमा अमर छैन।’

उनको बुझाइमा स्रष्टाको एउटा स्वाभाविक लोभ भने हुन्छ। आफ्नो सिर्जना आफू बाँचेको समयभन्दा लामो समयसम्म बाँचोस्। उनको चाहना पनि यही हो।

सयौँ वर्षपछि कसैले उनको कविता पढोस्। उनले लेखेको गीत सम्झियोस्। उनको सिर्जनाले कुनै अपरिचित मानिसलाई छोओस्। त्योभन्दा ठूलो पुरस्कार सायद स्रष्टाका लागि अर्को हुँदैन।

अझै बाँकी रहेको लेखन

मुकारुङका लागि जीवन एउटा यात्रा हो। त्यस यात्रामा मानिसले केही काम गर्नुपर्छ र फेरि जानुपर्छ। उनले धेरै लेखिसकेका छन्। कविता, गीत, नाटक, निबन्ध, उपन्यास हुँदै सिनेमा लेखनसम्म पुगेका छन्। तर आफूलाई अझै सिद्ध लेखक ठान्दैनन्। बरु उनी आफूलाई फेरि-फेरि त्यही सिसिफसजस्तै देख्छन्। चट्टान बोकेर पहाड चढिरहेको, माथि पुग्न लाग्दा फेरि तल खसेको, अनि फेरि उठाएर उकालो लागिरहेकोजस्तै।

तर यही अधुरोपन उनको शक्ति पनि हो। किनकि ‘अब पुग्यो’ भन्ने दिन सिर्जनाको अन्त्य हुन सक्छ। ‘अझै बाँकी छ’ भन्ने अनुभूतिले भने मानिसलाई फेरि कलम समाउन बाध्य बनाउँछ।

उनका लागि लेखन मानिसलाई, समाजलाई, देशलाई र संसारलाई चिन्ने प्रतिस्पर्धा हो। र यही कारण उनी आज पनि लेखिरहेका छन्- आफूलाई सिद्ध गर्न होइन, आफूले अझै चिन्न बाँकी रहेको मानिस र समाज। साहित्यमा उनको यात्रा अझै टुंगिएको छैन।
सिसिफसको ढुंगा अझै उकालो लागिरहेको छ। श्रवण त्यस्तै एक साधक हुन्, जसका शब्द जीवनका कुनै मोडमा अचानक सम्झना भएर फर्किन्छन्। प्रिय गीतको धुनझैँ, वा मनले वर्षौं जोगाएर राखेको एउटा हरफझैँ।

प्रकाशित: ६ भदौ २०८३ ११:३७ | Saturday, August 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast