काठमाडौँ- काठमाडौँको थापाथलीमा दुई सवारीसाधन आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
थापाथली रोज बड स्कुल पुलनजिक बुधबार राति शंखमुलबाट थापाथली बिटतर्फ आउँदै गरेको बा ४१ प ४७०८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुलको रेलिङमा ठोक्किएपछि विपरीत दिशाबाट जाँदै गरेको बा प्र ०२०६२ प ९६३१ नम्बरको स्कुटरमा ठोक्किएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकल चालक रौतहटको कटहरिया नगरपालिका–२ घर भएका २६ वर्षीय चन्द्रमान दास तत्मा गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि अन्नपूर्ण न्युरो अस्पताल लगिएकोमा उपचारकै क्रममा बिहीबार बिहान १ः१० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलको पछाडि सवार रौतहटकै २५ वर्षीय दिपेन्द्र दासको टाउको र अनुहारमा चोट लागेको छ । उनी बोल्न नसक्ने अवस्थामा रहेको र गम्भीर घाइते भएकाले अन्नपूर्ण न्युरो अस्पतालमा उपचार भइरहेको छ ।
स्कुटर चालक चितवन घर भई हाल काठमाडौँको सतुङ्गल बस्ने २३ वर्षीय सुदिप श्रेष्ठको खुट्टामा सामान्य चोट लागेको छ । स्कुटरको पछाडि सवार सर्लाही घर भई हाल काठमाडौँको शंखमुल बस्ने ३४ वर्षीय मोहन शाहको दायाँ खुट्टामा सामान्य चोट लागेको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये मोटरसाइकल चालक र पछाडि सवार दासलाई अन्नपूर्ण न्युरो अस्पताल तथा स्कुटर चालक श्रेष्ठ र पछाडि सवार शाहलाई राष्ट्रिय ट्रमा सेन्टर पठाइएको थियो ।
दुवै सवारीसाधनमा क्षति पुगेको छ । दुर्घटनापछि दुवै सवारीसाधन प्रहरी बिट थापाथलीको नियन्त्रणमा रहेका छन् भने स्कुटर चालक श्रेष्ठ पनि प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।



