काठमाडौँ- देशभरका ६ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ५३ अर्ब तीन करोड रुपैयाँभन्दा बढीको बजेट सार्वजनिक गरेका छन्। महानगरहरूमध्ये काठमाडौँ महानगरपालिकाले सबैभन्दा ठूलो बजेट प्रस्तुत गरेको छ भने विराटनगर महानगरपालिकाले सबैभन्दा सानो बजेट ल्याएको छ।
विराटनगर, वीरगन्ज र ललितपुर महानगरपालिकाले बुधबार बजेट सार्वजनिक गरेका हुन् भने भरतपुर महानगरपालिकाले सोमबार बजेट प्रस्तुत गरेको थियो। काठमाडौँ र पोखरा महानगरपालिकाले यसअघि नै बजेट सार्वजनिक गरेका थिए।
स्थानीय तहहरूले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट असार १० गतेभित्र ल्याउनुपर्ने कानुनी व्यवस्था छ।
काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि २५ अर्ब ८८ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। यो रकम ६ महानगरपालिकाको कुल बजेटको झन्डै आधा हो। कार्यवाहक प्रमुख सुनिता डंगोलले प्रस्तुत गरेको बजेटअनुसार कुल बजेटको ६१ प्रतिशत अर्थात् १५ अर्ब ३१ करोड रुपैयाँ पूर्वाधार विकासका लागि छुट्याइएको छ।
सामाजिक विकासका लागि दुई अर्ब ४२ करोड रुपैयाँ, सुशासन तथा अन्तरसरकारी सम्बन्धका लागि दुई अर्ब १३ करोड रुपैयाँ, प्रशासन तथा कार्यालय सञ्चालनका लागि चार अर्ब ७१ करोड रुपैयाँ र आर्थिक विकासका लागि ५४ करोड १८ लाख रुपैयाँ विनियोजन गरिएको छ।
ललितपुर महानगरपालिकाले सात अर्ब ४९ करोड रुपैयाँको बजेट ल्याएको छ। यो बजेट चालु आर्थिक वर्षको तुलनामा लगभग यथावत् छ। कुल बजेटमध्ये चार अर्ब २४ करोड रुपैयाँ पुँजीगत खर्चका लागि र तीन अर्ब २५ करोड रुपैयाँ चालु खर्चका लागि विनियोजन गरिएको छ। महानगरले वडा तहका कार्यक्रम तथा क्षेत्रगत विकास आयोजनालाई प्राथमिकता दिने जनाएको छ।
पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि सात अर्ब १५ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। यो चालु आर्थिक वर्षको आठ अर्ब ३५ करोड रुपैयाँको बजेटभन्दा एक अर्ब १९ करोड रुपैयाँ कम हो। कुल बजेटमध्ये तीन अर्ब ९४ करोड रुपैयाँ (५५.१ प्रतिशत) चालु खर्चका लागि र तीन अर्ब २१ करोड रुपैयाँ (४४.९ प्रतिशत) पुँजीगत खर्चका लागि छुट्याइएको छ।
भरतपुर महानगरपालिकाले पाँच अर्ब ५१ करोड रुपैयाँको बजेट ल्याएको छ, जुन चालु आर्थिक वर्षको पाँच अर्ब २२ करोड रुपैयाँभन्दा बढी हो। महानगरले दुई अर्ब चार करोड रुपैयाँ आन्तरिक आम्दानी हुने प्रक्षेपण गरेको छ भने संघीय र प्रदेश सरकारबाट उल्लेख्य अनुदान प्राप्त हुने अपेक्षा गरेको छ। सामाजिक सुरक्षा तथा अन्तरसरकारी हस्तान्तरणअन्तर्गत सञ्चालन हुने कार्यक्रमहरूमा मात्रै एक अर्ब २५ करोड रुपैयाँभन्दा बढी खर्च हुने अनुमान गरिएको छ।
वीरगन्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि चार अर्ब ४२ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। यो चालु आर्थिक वर्षको बजेटभन्दा एक अर्ब १९ करोड रुपैयाँ बढी हो। कुल बजेटमध्ये ५४.३ प्रतिशत अर्थात् दुई अर्ब ४० करोड रुपैयाँ चालु खर्चका लागि, ४४.४६ प्रतिशत अर्थात् एक अर्ब ९६ करोड रुपैयाँ पुँजीगत खर्चका लागि तथा १.१ प्रतिशत अर्थात् पाँच करोड रुपैयाँ वित्तीय व्यवस्थापनका लागि विनियोजन गरिएको छ।
विराटनगर महानगरपालिकाले तीन अर्ब ५६ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। यो चालु आर्थिक वर्षको बजेटभन्दा करिब १० करोड रुपैयाँ कम हो।
महानगरले सबैभन्दा बढी एक अर्ब ६० करोड रुपैयाँ पूर्वाधार विकासका लागि छुट्याएको छ। उक्त रकम वडा तथा महानगरस्तरीय आयोजना, बहुवर्षीय प्राथमिकताप्राप्त योजनाहरू तथा विगतका दायित्व भुक्तानीमा खर्च गरिने जनाइएको छ।




