नवनियुक्त उद्योगमन्त्री साहले लिए शपथ

हिमाल प्रेस २५ भदौ २०८३ १८:४७ | Thursday, September 10, 2026
नवनियुक्त उद्योगमन्त्री साहले लिए शपथ तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ- नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले पद तथा गोपनीयताको शपथ लिएका छन्। बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहकाबीच उनले शपथ लिएका हुन्।

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्री साहलाई पद तथा गोपनीयताको शपथ दिलाए।

शपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र शाह, राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल, प्रधानन्यायाधीश मनोजकुमार शर्मा, सरकारका मन्त्रीलगायतका पदाधिकारीहरू उपस्थित थिए।

प्रधानमन्त्री शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद साहलाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा सिफारिस गरेका थिए।

यसअघि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रहेकी गौरीकुमारी यादवले बिहीबार राजीनामा दिएकी थिइन्। व्यक्तिगत कारणले राजीनामा दिएको उनले उल्लेख गरेकी छन्।

तर ‘ग्यास व्यवसायीहरूलाई पाता फर्काउनुपर्ने’ विवादस्पद अभिव्यक्ति दिएका कारण यादवले राजीनामा दिनुपरेको बताइएको छ।

सीके राउत नेतृत्वको जनमत पार्टी छोडेर रास्वपा प्रवेश गरेका इन्जिनियर साह सुनसरी ४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएक हुन्। राउतसँग विवाद भएपछि  उपाध्यक्ष रहेका उनले जनमत पार्टी परित्याग गरेर आफ्नै नेतृत्वमा सर्वोदय पार्टीसमेत गठन गरेका थिए। त्यसपछि उनको पार्टी र कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीबीच एकता भएको थियो।

घिसिङले रास्वपासँग पार्टी एकता गरे। त्यो एकता धेरै दिन टिक्न सकेन। साह भने रास्वपामै बसे। फागुन २१ गते सम्पन्न निर्वाचनमा उनले रास्वपाको तर्फबाट चुनाव लडेका थिए।

मुलुकले खाने पकाउने ग्यासको अभाव झेलिरहेका बेला मेकानिकल इन्जिनियर रहेका साह उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बनेका हुन्। सर्वसाधारण नागरिकलाई सहज रूपमा ग्यास आपूर्ति गराउन उनीसामु ठूलो चुनौती हुनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast