कांग्रेसले सार्वजनिक गर्‍यो १५औँ महाधिवेशनको परिमार्जित कार्यतालिका

हिमाल प्रेस २३ भदौ २०८३ १५:५५ | Tuesday, September 8, 2026
कांग्रेसले सार्वजनिक गर्‍यो १५औँ महाधिवेशनको परिमार्जित कार्यतालिका

काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले पार्टीको १५औँ महाधिवेशन तथा विभिन्न तहको निर्वाचनका लागि परिमार्जित कार्यतालिका सार्वजनिक गरेको छ।

समितिले पूर्वनिर्धारित समयसीमाभित्रै असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने गरी पहिलो चरणको निर्वाचन तालिका सार्वजनिक गरेको हो।

मंगलबार जारी विज्ञप्तिमा रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट सिर्जित विपद् र त्यसको देशव्यापी प्रभावलाई ध्यानमा राख्दै प्राप्त रायसुझावका आधारमा महाधिवेशनको वैधानिक दायित्व पूरा गर्ने उद्देश्यले कार्यतालिका परिमार्जन गरिएको उल्लेख गरिएको छ।

परिमार्जित तालिकाअनुसार असोज ३ र ४ गते देशभरका ६ हजार ७४३ वटै वडामा वडा अधिवेशन हुनेछ। यस क्रममा वडा कार्यसमितिको निर्वाचनसँगै क्षेत्रीय प्रतिनिधि पनि चयन गरिनेछ।

त्यसैगरी गाउँ तथा नगरपालिका अधिवेशन असोज ७ गते हुनेछ भने प्रदेशसभा क्षेत्रीय र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन असोज १० गते आयोजना गरिने निर्वाचन समितिले जनाएको छ। केन्द्रीय महाधिवेशन भने पूर्वनिर्धारित मितिअनुसार असोज १६, १७, १८ र १९ गते आयोजना हुनेछ।

निर्वाचन समितिले बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लामा भने स्थानीय तह र तोकिएका निर्वाचन अधिकृतको समन्वयमा अधिवेशन सम्पन्न गराइने विशेष व्यवस्था गरेको जनाएको छ।

यस्तै, नेपाली जनसम्पर्क समितिका बाँकी रहेका देशहरूको अधिवेशन पनि असोज १० गतेभित्र सम्पन्न गरिसक्नुपर्ने व्यवस्था गरिएको छ।

केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काका अनुसार जिल्ला अधिवेशन र प्रदेश अधिवेशनको दोस्रो चरणको कार्यतालिका भने पछि सार्वजनिक गरिनेछ।

प्रकाशित: २३ भदौ २०८३ १५:५५ | Tuesday, September 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast