सामाजिक सद्भाव बिथोल्ने ‘तत्त्व’ माथि कारबाहीको माग

'देश शान्त रहेको र विकास भएको हेर्न नचाहने एक समूह सक्रिय हुँदै'

हिमाल प्रेस २३ भदौ २०८३ १५:३३ | Tuesday, September 8, 2026
सामाजिक सद्भाव बिथोल्ने ‘तत्त्व’ माथि कारबाहीको माग

काठमाडौँ- देश ‘हिम सुनामी’ को पीडामा छ। भोटेकोशी क्षेत्रमा गएको विनाशकारी बाढीले रसुवा-नुवाकोटका सयौँ परिवार शोकमा छन्। हजारौँ नागरिक राहत, उद्धार र आफन्तको खबरको प्रतीक्षामा छन्। यही संवेदनशील समयमा काठमाडौँका सार्वजनिक स्थानमा मधेशी समुदायलाई लक्षित गर्दै आपत्तिजनक र विभाजनकारी नारा लेखिएको घटना बाहिरिएपछि सामाजिक सद्भावमाथि गम्भीर प्रश्न उठेको छ।

जनअधिकार पार्टीका अध्यक्ष डा‍‍. शरद यादवले यस्तो गतिविधि अत्यन्त दुःखद र गम्भीर भएको भन्दै राज्य संयन्त्रले घटनालाई सामान्य रूपमा नलिई तत्काल छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन्। डा. यादवका अनुसार बुधबार राति विभिन्न व्यक्तिले आफूलाई फोन गरी त्यस्तो लेखिएको फोटो पठाएका थिए। अनि निकै गम्भीर भएँ, समाज के हुँदैछ!

सार्वजनिक स्थानमा मधेशी समुदायलाई लक्षित गर्दै आपत्तिजनक शब्द तथा नेपाल-भारत सम्बन्धलाई लिएर उत्तेजना फैलाउने खालका अभिव्यक्ति लेखिएको फोटो आफूले प्राप्त गरेको उनले बताए। ‘देश अहिले पीडामा छ। नेपाल रोइरहेको बेला हामी कता जाँदै छौँ? के हाम्रो समाज यही हो त?’ यादवले प्रश्न गरेका छन्।

यादवले भनेका छन्, ‘यतिबेला देशमा पहिलो पटक मधेशी प्रधानमन्त्री छन्। उपराष्ट्रपति पनि मधेशबाटै हुनुहुन्छ। तर यहाँ एक प्रकारका मानिसले यहाँ द्वेष फैलाउने र शान्ति बिथोल्ने काम गरेको देखिन्छ। यसमा सरकार सचेत भएर त्यस्तालाई कारबाही गर्न आवश्यक छ।’  उनले ५३ प्रतिशत मधेशी रहेको यो देशमा एक भेगबाट मधेशी खेदेर वा मधेशी अनुहार हुनेबित्तिकै छिमेकको नागरिक सम्झन नहुने पनि सुनाए।

सञ्जालमा घृणाको अर्को बाढी

भोटेकोशी बाढीपछि सामाजिक सञ्जालमा पीडितविरुद्ध असंवेदनशील टिप्पणी, जातीय पहिचानलाई लिएर होच्याउने भाषा र महिला तथा दुर्गमका नागरिकलाई लक्षित गर्ने अभिव्यक्ति व्यापक रूपमा देखिएका छन्। यस्ता व्यक्तिहरू पहिचान गरी  कारबाही गर्न सरकार चुकेकाे यादवकाे धारणा छ।

समाजशास्त्रीहरूले पनि शक्तिमा नजिक रहेका केही समूहमा महिला, मधेशी र दुर्गमका मानिसलाई हेला गर्ने प्रवृत्ति देखिएको औँल्याएका छन्। प्रधानमन्त्री वालेन्द्र शाहले बाढीपीडितमाथि अनावश्यक टिप्पणी गर्ने, होच्याउने र थप पीडा दिन खोज्नेहरूलाई अपराधी ठहर गर्दै सरकार निर्मम हुने चेतावनी दिएपछि नेपाल प्रहरीको साइबर ब्युरोले छानबिन तीव्र पारेको छ।

ब्युरोका अनुसार बाढी प्रभावितहरूको जातीय पहिचानलाई लिएर अभिव्यक्ति दिएको आरोपमा बैतडीका एक व्यक्ति काठमाडौँमा पक्राउ परिसकेका छन्। पीडितलाई अपमानित गर्ने खालका भिडियो राखेको आरोपमा पनि पक्राउ भएका छन्। यस अर्थमा यादवले उठाएको  विपद्को बेला सामाजिक सञ्जाल र सडक दुवैतिर विभाजनको भाषा सक्रिय हुँदै गएको संकेत हो।

‘आज लेखियो, फोटो हातहातमा पुग्यो’, यादवले भने। उनले अहिलेको प्राथमिकता बाढीपीडित नागरिकको उद्धार, राहत र पुनःस्थापना हुनुपर्ने भन्दै यस्तो अवस्थामा जातीय तथा क्षेत्रीय विभाजन ल्याउने गतिविधि देखिनु झन् संवेदनशील विषय भएको बताए। ‘अहिले हामीले बाढीपीडितले कसरी निकास पाउने भनेर सोच्नुपर्ने हो। यस्तो संवेदनशील समयमा समाजलाई अर्को दिशातर्फ धकेल्ने गतिविधि देखिनु निकै दुःखद हो,’ उनले भने।

उनका अनुसार एउटा स्थानमा मधेशी समुदायलाई लक्षित गरी अत्यन्त आपत्तिजनक शब्द लेखिएको थियो। प्रशासनले उक्त लेखाइमा कालो पोतेर हटाएको भए पनि घटना त्यत्तिमै टुंगिन हुँदैन उनले भने। ‘आज लेखिएको कुरा मेटियो, तर त्यसको फोटो अहिले हातहातमा पुगेको छ। त्यसैले यो कसले, किन र कुन उद्देश्यले लेख्यो भन्ने विषयमा राज्यले गम्भीर अध्ययन गर्नुपर्छ,’ यादवले भने।

यो तर्क सामाजिक सञ्जालको यथार्थसँग जोडिन्छ। भित्तेलेखन मेटिए पनि स्क्रिनसट सेकेन्डमै फैलिन्छ। रसुवा बाढीपछि पनि पुराना तस्बिर, विदेशी भिडियो र एआई सामग्री नेपालकै भन्दै फैलिएका थिए। घृणा पनि त्यही गतिमा फैलिन्छ। त्यसैले भौतिक प्रमाण मेट्नु मात्र पर्याप्त हुँदैन, अभिप्राय र फैलावटको अनुसन्धान आवश्यक हुन्छ।

विपद्‌मा विभाजन खतरनाक?

यादवले पछिल्लो समय नेपाली समाजमा कहिले धर्मका नाममा त कहिले पहाडे-मधेशीका नाममा विभाजन ल्याउने प्रयास भइरहेको भन्दै राज्य समयमै सचेत हुनुपर्ने बताए। ‘नेपाल आमा रोइरहेको बेलामा यस्तो ठाउँमा यस प्रकारका कुरा लेखिनु भनेको समाजमा विग्रह ल्याउन खोज्ने समूह सक्रिय हुनु हो। यसमा राज्य संयन्त्र संवेदनशील हुनुपर्छ,’ उनले भने।

उनले सार्वजनिक स्थानमा जातीय तथा क्षेत्रीय सद्भाव बिगार्ने उद्देश्यले यस्ता गतिविधि गर्ने व्यक्तिको पहिचान गरी कानुनी कारबाही गर्नुपर्ने बताए। ‘नेपाली र नेपालीबीच फाटो ल्याउने काम गर्नेहरूलाई राज्य संयन्त्रले सीसीटीभी हेरेर भए पनि कारबाहीमा ल्याउन सक्नुपर्छ। यसमा अलमल गर्न मिल्दैन,’ उनले जोड दिए।

नेपाल अहिले प्राकृतिक विपद्को गम्भीर पीडामा रहेका बेला पहाड-मधेश वा कुनै जातीय तथा धार्मिक भावनालाई भड्काउने गतिविधि थप खतरनाक हुनसक्ने उनको भनाइ छ, ‘पहाड र मधेशीलाई भिडाउने खेल सुरु भएको हुनसक्छ। यस्तो समयमा राज्य अझ बढी सचेत हुनुपर्छ।’

बाढीले पहाड मात्र होइन, तल्लो तटीय क्षेत्र र मधेशलाई पनि प्रभावित पार्छ। विपद्को भूगोल जातीय रेखा होइन। तर विपद्को पीडालाई पहिचानको आरोपमा बदल्ने भाषा एकपटक फैलियो भने राहत कार्यमै अविश्वास पैदा हुन्छ। पीडितले राज्यबाट सहयोग माग्नुको सट्टा आफूमाथि लागेको आक्षेपसँग लड्नुपर्ने अवस्था आउँछ।

त्यहीँबाट सद्भाव कमजोर हुन्छ।राज्य र नागरिक दुवैको जिम्मेवारीयादवले विपद्को समयमा विभाजन होइन, एकता र सहकार्य आवश्यक रहेको भन्दै नेपाली समाजलाई जात, क्षेत्र र धर्मका नाममा विभाजित गर्ने कुनै पनि प्रयास रोक्न राज्य र नागरिक दुवै गम्भीर हुनुपर्ने बताए।

सरकारले अनलाइन घृणामाथि कारबाही थालेको छ। तर सडकको भित्तेलेखन, वडा कार्यालय वरपरका नारा र समुदायबीच मौखिक रूपमा फैलिने गाली पनि त्यत्तिकै संवेदनशील हुन्। एउटामा साइबर ब्युरो सक्रिय हुने, अर्कोमा कालो पोतेर टुंग्याउने दोहोरो मापदण्डले दोषीलाई प्रोत्साहन गर्न सक्छ।

अहिले देशलाई चाहिएको कुरा पीडितको उद्धार, बेपत्ताको खोजी, राहतको पारदर्शी वितरण र पुनर्निर्माण हो। त्यसैबेला समुदायलाई एकअर्काविरुद्ध उभ्याउने भाषा आउनु संयोग मात्र हुनसक्दैन। त्यसैले प्रश्न एउटा मात्र होइन-नारा कसले लेख्यो? प्रश्न यो पनि हो- विपद्को पीडालाई किन फेरि पुरानो पहाड-मधेशको द्वन्द्वमा बदल्न खोजिँदैछ? नेपाल आमा रोइरहेको बेला पहिले आँसु पुछ्ने काम हो, घाउमा नुन हाल्ने होइन।

प्रकाशित: २३ भदौ २०८३ १५:३३ | Tuesday, September 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast