काठमाडौँ- चीनले नेपालका लागि पठाइएको आपत्कालीन राहत सामग्रीको चौथो चरण मंगलबार काठमाडौँ आइपुगेको छ।
चिनियाँ जनमुक्ति सेनाको वायुसेनाको वाई-२०ए ठूलो क्षमताको मालवाहक विमानमार्फत राहत सामग्री मंगलबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो।
राहत सामग्री हस्तान्तरण समारोहमा नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन सहभागी भएका थिए।
उद्धारका लागि प्रयोग हुने होभरक्राफ्ट, स्टेनलेस स्टिलका स्थायी चुम्बकीय बाढी पम्प, अतिरिक्त ब्याट्री, शव संरक्षणका लागि प्रयोग हुने फ्रिजर तथा सौर्य ऊर्जाबाट सञ्चालन हुने बत्तीलगायत सामग्री छन्।
चिनियाँ दूतावासका ती सामग्री नेपालका तत्कालीन आवश्यकतालाई ध्यानमा राखेर पठाइएको हो। सामग्रीले विपद्पीडित क्षेत्रमा जारी आपत्कालीन उद्धार तथा त्यसपछिका पुनःस्थापना र व्यवस्थापनका काममा सहयोग पुग्ने अपेक्षा गरिएको छ।


