काठमाडौँ- नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले गत वर्षको ‘जेनजी आन्दोलन’का क्रममा भएको हिंसात्मक घटनामा घुसपैठ गर्ने र गराउने योजनाकार तथा षड्यन्त्रकारीको पहिचान गरी कानुनी कारबाही गर्नुपर्ने बताएका छन्।
जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली र घाइते तथा सन्तान गुमाएका परिवारप्रति समवेदना व्यक्त गर्दै मंगलबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै महासचिव पोखरेलले शान्तिपूर्ण प्रदर्शनलाई नियोजित रूपमा भड्काएर हिंसात्मक बनाउने षड्यन्त्र भएको दाबी गरेका हुन् ।
उनले भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नुपर्ने, सेवा प्रवाहलाई सहज बनाउनुपर्ने तथा सामाजिक सञ्जालको निर्वाध प्रयोग गर्न पाउनुपर्ने माग जायज रहेको बताएका छन् । यी माग सबैको साझा सरोकारका विषय भएको उनको भनाइ छ। पोखरेलले तत्कालीन सरकारले सामाजिक सञ्जालमाथि प्रतिबन्ध नलगाएको दाबी गर्दै नेपालमा दर्ता हुनुपर्ने नीति अगाडि बढाएको विषय स्पष्ट पार्न नसक्दा नयाँ पुस्ता सडकमा आउन पुगेको उल्लेख गरेका छन् ।
‘नवयुवाहरूको शान्तिपूर्ण प्रदर्शनलाई सुरुदेखिनै नियोजित रूपमा भड्काएर हिंसात्मक बनाउने सुनियोजित षड्यन्त्र भएको थियो भन्ने कुरा अब घामजस्तै छर्लङ्ग भइसकेको छ’, उनले लेखेका छन् ।
शान्तिपूर्ण प्रदर्शनमा घुसपैठ गर्ने र गराउने योजनाकार तथा षड्यन्त्रकारीको पहिचान गरी कानुनी कारबाहीको दायरामा ल्याउनु नै जेनजी आन्दोलनको वास्तविक भावनाको सम्मान हुने पोखरेलको भनाइ छ ।
वर्तमान सरकार जेनजी आन्दोलनको भावनाअनुसार नभई आन्दोलनलाई ‘हाइज्याक’ गर्नेहरूको योजना र प्रभावमा चलेको उनले आरोप लगाए । महासचिव पोखरेलले नवयुवाको भावनाको कदर, मुलुकमा सुशासनको प्रत्याभूति र विधिको शासन स्थापना गर्नु अहिलेको प्रमुख आवश्यकता रहेको बताएका छन् ।
एमाले नवयुवाको भावना र जायज माग सम्बोधन गर्न उनीहरूसँग मिलेर अघि बढ्न प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले पार्टी हिजो पनि नवयुवाको पक्षमा रहेको, आज पनि रहेको र भविष्यमा पनि रहने दाबी गरेका छन् ।
हिजो नवयुवाको भावना र माग सम्बोधनमा कमजोरी भएको भए त्यसलाई सुधार गर्दै अघि बढ्न एमाले प्रतिबद्ध रहेको पनि पोखरेलले उल्लेख गरेका छन् ।
पाेखरेलकाे स्टाटस जस्ताकाे तस्तै
आज भाद्र २३ गते—गत वर्ष ‘जेन्जी आन्दोलन’का क्रममा भएको घुसपैठ र संसद भवनभित्र प्रवेश गर्ने क्रममा भएको झडपमा दर्जनौँ युवाहरूले ज्यान गुमाएका र सयौँ घाइते भएका थिए। उक्त दुःखद घटनाको एक वर्ष पूरा भएको छ। उक्त घटनामा जीवन गुमाउने सबै नवयुवाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उक्त आन्दोलनमा परी घाइतेहरू र आफ्ना सन्तान गुमाउनेहरुप्रति समवेदना प्रकट गर्दछु ।
‘जेन्जी आन्दोलन’का क्रममा नव युवाहरूले अगाडि सारेका भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नुपर्ने, सेवा प्रवाहलाई सुलभ बनाउनुपर्ने र सामाजिक सञ्जालको निर्वाध प्रयोग गर्न पाउनुपर्ने मागहरू अत्यन्त जायज थिए। यी मागहरू हामी सबैको साझा सरोकारका विषय हुन् ।
नेपाल सरकारले त्यतिवेला सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएको थिएन, बल्कि यसलाई नियमन गर्न सहज बनाउनेगरी नेपालमा दर्ता हुनुपर्ने नीति अगाडि बढाएको थियो। तर सरकारले उक्तकुरालाई स्पष्ट गर्न नसक्दा सामाजिक संजालमा अभ्यस्त बनेको नयाँ पुस्ता सडकमा आउन पुग्यो ।
नवयुवाहरूको शान्तिपूर्ण प्रदर्शनलाई सुरुदेखिनै नियोजित रूपमा भड्काएर हिंसात्मक बनाउने सुनियोजित षड्यन्त्र भएको थियो भन्ने कुरा अब घामजस्तै छर्लङ्ग भइसकेको छ। शान्तिपूर्ण प्रदर्शनमा घुसपैठ गर्ने र गराउने योजनाकार तथा षड्यन्त्रकारीहरूको पहिचान गरी उनीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउनु नै ‘जेन्जी आन्दोलन’को वास्तविक भावनाको सम्मान गर्नु हो।
वर्तमान सरकार जेन्जी आन्दोलनको भावना अनुसार नभई, त्यसलाई हाइज्याक गर्नेहरूको योजना र प्रभावमा चलेको स्पष्ट भइसकेको छ। यस्तो संवेदनशील अवस्थामा:
⚬ नव युवाहरूको वास्तविक भावनाको कदर गर्नु,
⚬ मुलुकमा सुशासनको प्रत्याभूति दिनु, र
⚬ विधिको शासन स्थापित गर्नु आजको प्रमुख आवश्यकता हो।
नेकपा (एमाले) नवयुवाहरुको भावनाको सम्मान गर्न र जायज मागहरूलाई नवयुवाहरुसंग मिलेर सम्बोधन गर्न प्रतिबद्ध छ।
नेकपा(एमाले) हिजो पनि नवयुवाहरुको पक्षमा थियो, आज पनि छ र भोली पनि रहने छ । हिजो नव युवाहरुको भावना र मागको सम्वोधनमा केही कमजोरी रहन गएको भए त्यसमा सुधारगर्दै अघि बढ्न नेकपा(एमाले) प्रतिवद्ध छ ।


