लुम्बिनी प्रादेशिक अस्पतालको शव पहिचान सहायता कक्षमा भतिजाबुहारी डा. विमल आचार्य र सुष्मा अर्याल आचार्यको खोजीमा डा. लालमणि आचार्य र आफन्त। तस्बिर : विनोद परियार
बुटवल- टेबुलमाथि क्षतविक्षत शवका तस्बिरसहितको फाइल थियो। त्यही फाइलमा आफ्ना भाइको अनुहार खोजिरहेका थिए रूपन्देहीको शुद्धोधन गाउँपालिका-३ का गोविन्द पंगेनी।
रसुवाको भोटेकोशीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परेर उनका भाइ ३६ वर्षीय नीराजन पंगेनी बेपत्ता छन्। चिलिमे हाइड्रोपावरको २२० केभी प्रसारण लाइनमा कार्यरत निराजन बाढीपछि सम्पर्कविहीन भएका हुन्।
बाढीमा परेकाहरूको शव लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएको खबर पाएपछि बुटवल आएका गोविन्दले शवका तस्बिर हेरे, तर भाइलाई चिन्न सकेनन्।
‘लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा बाढीमा परेकाहरूको शव राखिएको खबर सुनेर आएँ। यहाँ फोटा हेर्दा पनि चिनिएन,’ उनले भने, ‘शव त हेर्न सक्दिनँ।’
गोविन्दका अनुसार आफन्तहरू चितवन, कावासोती, पोखरालगायत ठाउँका अस्पताल पुगेर पनि नीराजनको खोजी गरिरहेका छन्। तर अहिलेसम्म उनको न लास भेटिएको छ, न सासको खबर।
‘शव आयो भन्ने खबर सुन्नासाथ कतै भाइ भेटिन्छ कि भनेर अस्पतालमा आउने गरेको छु,’ उनले भने, ‘हिजो पनि आएँ, आज पनि आएँ तर शव पहिचान गर्न सकिएन।’
गोविन्द नीराजनका ठूलोबुवाका छोरा हुन्। नीराजनका बुवाआमा र एक भाइ रूपन्देहीको शुद्धोधनमा बस्छन्। निराजन भने काठमाडौंमा बस्दै आएका थिए। उनका चार वर्षीया छोरी र श्रीमती चित्रा पंगेनी छन्। चित्रा पनि सरकारी कर्मचारी हुन्।
नीराजनको खोजीमा अस्पताल धाइरहेका गोविन्दको पीडा लुम्बिनी प्रादेशिक अस्पतालमा भेटिने अन्य आफन्तको जस्तै छ।

बाढीले सयौँ मानिस बेपत्ता भएको खबरपछि आफन्तहरू हातमा फोटो बोकेर अस्पताल-अस्पताल धाइरहेका छन्। तर शवमा आफ्ना मान्छे भेटिने आशा पनि पटकपटक निराशामा बदलिएको छ।
कतिपय आफन्तलाई कम्तीमा शव भए पनि भेटियोस् भन्ने आशा छ। तर शवको अवस्था यस्तो छ कि पहिचान गर्नसमेत कठिन छ। स्पष्ट अनुहार देखिँदैन। शरीर क्षतविक्षत छ, चोटैचोट छ।
‘न फोटो हेरेर चिन्न सकिने रहेछ, न त शव हेरेर,’ प्युठान गौमुखी-३ खराका बोमबहादुर पुनको खोजीमा लुम्बिनी प्रादेशिक अस्पताल आएकी उनकी दिदी खिमा बुढामगरले भनिन्।
२६ वर्षीय बोमबहादुर रसुवा हाइड्रोपावरमा मेकानिकल हेल्परका रूपमा कार्यरत थिए। भदौ १० गते प्युठानस्थित घर फर्किने क्रममा उनी रसुवाको मैलुङ पुगेपछि सम्पर्कविहीन भएका हुन्।
‘भाइ बिहान घर जान्छु भनेर हिँडेको थियो। रसुवाको मैलुङ भन्ने ठाउँमा आएपछि सम्पर्कविहीन भयो,’ खिमाले भनिन्।
महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका क्याम्पस प्रमुख डा. लालमणि आचार्य पनि नेपाल सरकारका पूर्व तथा बहालवाला कर्मचारी दम्पती डा. विमल आचार्य र सुष्मा अर्याल आचार्यको तस्बिर बोकेर अस्पताल पुगेका थिए।
कपिलवस्तु हुँदै बुटवल आइपुगेका लालमणि आफ्ना भतिज र बुहारीको खोजीमा छन्। मानसरोवर यात्रामा गएका दम्पती बाढीपछि सम्पर्कविहीन छन्।
५९ वर्षीय विमल नेपाल टेलिकमका सिनियर इन्जिनियरबाट अवकाशप्राप्त कर्मचारी हुन्। सुषमा राष्ट्रिय परीक्षा बोर्डकी बहालवाला उपसचिव हुन्। काठमाडौंको चाबहिलस्थित सरस्वतीनगरमा बस्दै आएका उनीहरूको पुर्ख्यौली घर प्युठानको माण्डवी गाउँपालिका-४ तिघ्रा हो।
‘१० गते बिहान साढे ८ बजेसम्म आमासँग कुरा भएको रहेछ। त्यसपछि आजसम्म कुनै अत्तोपत्तो छैन,’ अर्का दाजु कृष्णप्रसाद आचार्यले भने। उनका अनुसार अस्पतालमा राखिएका तस्बिर हेरेर पनि दम्पतीलाई चिन्न सकिएको छैन।

भोटेकोशी बाढीले आफन्तको पीडा दिनप्रतिदिन बल्झाइरहेको छ। गोरखाको पालुङटार-५ नौखोरगाउँका ३० जना पनि बाढीपछि सम्पर्कविहीन छन्।
गोसाइँकुण्डको धार्मिक भ्रमणका लागि गाउँबाट ३६ जनाको टोली बसमा निस्किएको थियो। तीमध्ये ६ जना हामफालेर ज्यान जोगाउन सफल भए। बाँकी ३० जना सम्पर्कविहीन छन्। उनीहरूको खोजीमा सिंगो गाउँ नै जुटेको छ।
गोरखा पालुङटारबाट आएका सुरेश क्षेत्रीका अनुसार गाउँको टोली ग २ ख ११५२ नम्बरको बसमा गोसाइँकुण्ड भ्रमणमा निस्किएको थियो। त्रिशूली बजार आसपास पुगेपछि बाढीले बस बगाएको आशंका गरिएको छ।
सागर देवकोटा, राममाया देवकोटा, नानुमाया थापा, पद्मकुमारी देवकोटासहित ३० जना अझै सम्पर्कविहीन छन्।
‘हामी आफन्त खोज्दै हिँडेका छौँ, तर कतै पनि पाउन सकिएन,’ सुरेशले भने।
गोरखा पालुङटार-५ नौखोरका ईश्वरबहादुर थापाको परिवारको पीडा पनि उस्तै छ। उनकी श्रीमती, सासू र साली सम्पर्कविहीन छन्।
गोरखाबाट भदौ १० गते बिहान ४ बजे गोसाइँकुण्डका लागि बस हिँडेको थियो। त्रिशूली बजार आसपास पुगेपछि बाढीमा परेको हुनसक्ने ईश्वरबहादुरको अनुमान छ।
उनका अनुसार बिहान ९ बज्न पाँच मिनेट बाँकी हुँदा उनले कार्यालय पुगेर श्रीमती नानुमायासँग कुरा गरेका थिए। त्यसपछि सम्पर्क टुट्यो। ईश्वरबहादुर यान्त्रिक कार्यालय डुम्रे, तनहुँमा कार्यरत छन्।

‘साह्रै पीडा भयो। न लास भेटिन्छ, न सास। हामी पीडैपीडामा अस्पताल डुलिरहेका छौँ,’ उनले भने। लुम्बिनी प्रादेशिकमा बाढीको शवले शवगृह (मर्चरी) भरिएको छ।
लुम्बिनी प्रादेशिक अस्पतालमा नवलपरासीको सुस्तामा भेटिएका १८ शव र नौवटा अंग राखिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) निशान्त श्रीवास्तवले जानकारी दिए।
उनका अनुसार २५ वटा शवमध्ये एक जनाको मात्र पहिचान खुलेको छ। बाँकीको पहिचान हुन सकेको छैन।
बाढीमा बेपत्ता भएकाहरूको खोजीमा आफन्तहरू अस्पताल पुग्ने क्रम रोकिएको छैन। तर अस्पतालको शवगृहमा राखिएका क्षतविक्षत शव र अंगहरूले उनीहरूको प्रतीक्षा झन् पीडादायी बनाइरहेको छ। आफ्नो मान्छे जीवितै भेटिने आशा र कम्तीमा अन्तिम संस्कार गर्न शव भेटियोस् भन्ने चाहनाबीच उनीहरू दिनहुँ अस्पताल धाइरहेका छन्।



