काठमाडौँ- गत साउन महिनामा मात्रै ५७ हजार मेट्रिक टन बढी एलपी ग्यास आयात भएको छ। नेपाल आयल निगमका अनुसार पछिल्लो पाँच महिनामध्ये साउनमा सबैभन्दा बढी ग्यास आयात भएको हो।
निगमका अनुसार गत साउनमा ५७ हजार ३१६ मेट्रिक टन ग्यास आयात भएको छ।
गत असारमा ४४ हजार ५४४, जेठमा ३२ हजार ८४२, वैशाखमा ३२ हजार ५६ र चैतमा ३८ हजार ७९९ मेट्रिक टन ग्यास आयात भएको निगमका निर्देशक विनितमणि उपाध्यायले जानकारी दिए।
साउनमा मात्रै देशभर ४० लाख ३६ हजार ३६४ थान सिलिण्डर बिक्री वितरण भएको निगमले जनाएको छ।
असार महिनाको तुलनामा गत साउनमा करिब नौ लाख सिलिण्डर ग्यास बढी बिक्री भएको उनले जानकारी दिए।
एलपी ग्यासको आयात तथा बिक्री वितरण आगामी दिनमा पनि निरन्तर हुँदै जाने उल्लेख गर्दै निर्देशक उपाध्यायले आवश्यकताअनुसार ग्यास खरिद गर्न उपभोक्तालाई आग्रह गरेका छन्।


