काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले चालु आर्थिक वर्षमा सरकारका मुख्य काम र अपेक्षित उपलब्धिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न मन्त्रीहरू र मुख्यसचिवसँग कार्यसम्पादन सम्झौता गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री शाह र नेपाल सरकारका मन्त्रीहरूले कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गर्दै सम्झौताको प्रति आदानप्रदान गरेका हुन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार मन्त्रीहरूसँग गरिएको कार्यसम्पादन सम्झौतामा सुशासन, सामाजिक न्याय र समृद्धिसँग सम्बन्धित चालु आर्थिक वर्षका प्रमुख काम तथा उपलब्धिलाई समेटिएको छ।

सरकारले तय गरेका नीति, कार्यक्रम तथा प्राथमिकतालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै अपेक्षित नतिजा हासिल गर्ने उद्देश्यले मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरिएको सचिवालयले जनाएको छ।
यसैगरी आजै प्रधानमन्त्री शाहसँग नेपाल सरकारका मुख्यसचिव गोविन्दबहादुर कार्कीले पनि कार्यसम्पादन सम्झौता गरेका छन्।
सम्झौतामा चालु आर्थिक वर्षमा सरकारका प्राथमिकता तथा प्रशासनिक कार्यसम्पादनलाई प्रभावकारी बनाउने विषय समेटिएको जनाइएको छ।


