काठमाडौँ- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे र नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङबीच भेटवार्ता भएको छ।
सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा दुवै जनाबीच भेटवार्ता भएको हो।
भेटमा आङ्देम्बेको शुक्रबारदेखि हुने चीन भ्रमण, ग्वाङ्झाउमा साउन ३० र ३१ गते आयोजना हुने गैरआवासीय नेपाली संघ (एनआरएनए) को एघारौँ एसिया क्षेत्रीय सम्मेलन तथा नेपाल–चीन द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको छ।
नेता आङ्देम्बेले आफ्नो चीन भ्रमणलाई सम्मेलनको सहभागितामा मात्र सीमित नराखी नेपाल–चीन सम्बन्ध, चिनियाँ विकास तथा शासन अभ्यास र दुई देशका संसद् तथा राजनीतिक दलबीचको सम्बन्धबारे अनुभव आदानप्रदान गरिएको बताएका थिए।
नेपाल–चीन सम्बन्धलाई सरकार सरकारका सम्बन्धमा मात्र सीमित नराखी जनस्तरसम्म विस्तार गर्नुपर्ने धारणा उनको थियो।
राजदूत माओमिङले पनि नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ पार्नुपर्नेमा जोड दिएका थिए।


