काठमाडौँ- झापामा आइतबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई महिलाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार बिर्तामोड नगरपालिका–२ बाह्रकोटीगाउँस्थित भित्री सडकखण्डमा अटो र ट्याक्टर आपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
प्रहरीका अनुसार मे १ ह ३८४२ नम्बरको अटो र मे १ त ७१५३ नम्बरको ट्याक्टर एकआपसमा ठोक्किदा अटो चालक तयामुल हकसहित पाँच जना घाइते भएका थिए।
घाइतेमध्ये झापा गाउँपालिका–४ भामटोलीकी ३५ वर्षीया सुखि बिवीको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
यस्तै कनकाई नगरपालिका–७ दुर्गापुर बजारस्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकलले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ। प्रदेश १–०१–०१ प ३९२९ नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेकी अर्जुनधारा नगरपालिका–९ की ५० वर्षीया मीरादेवी गौतमलाई ठक्कर दिएको थियो।
दुर्घटनामा घाइते गौतमलाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल पठाइएको थियो। उनको उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक अवाले जानकारी दिए।
मोटरसाइकल चालक ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–३ का ३१ वर्षीय गोपाल रम्तेल पनि दुर्घटनामा घाइते भएका छन्। उनको अनुहारमा चोट लागेको र सुरुङ्गास्थित स्थानीय मेडिकलमा उपचार गरिएको छ।
दुवै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


