उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी
काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले ग्यास अभाव नभई मागमा एकैपटक वृद्धि भएर बजारमा केही असहजता सिर्जना भएको बताएकी छन्।
शुक्रबार प्रतिनिधिसभा बैठकमा उनले खाना पकाउने ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन पहल भइरहेको समेत बताइन्।
उनले सिलिन्डर ट्र्याकिङ प्रणाली निर्माण कार्य प्रारम्भ गरिएको र तत्कालका लागि उद्योगबाट भरिएका सिलिन्डरको बिक्री डिपो र विक्रेता विवरण मन्त्रालयको वेबसाइटमा राख्न थालिएको जानकारी दिइन्।
ग्यास आपूर्तिका लागि भारत सरकारसँग ३ महिनाको आयात कोटा ४९ हजार ५०० मेट्रिक टनबाट बढाएर ६० हजार मेट्रिक टन पु¥याउन सहजीकरणका लागि परराष्ट्र मन्त्रालयमार्फत अनुरोध गरिएको उनले बताइन्। साथै उनले कालबजारी रोक्न निरन्तर अनुगमनको काम पनि भइरहेको उल्लेख गरिन्।
उनले घरायसी प्रयोजनका उपभोक्तालाई प्राथमिकतामा राखी अभिलेख राखेर व्यवस्थित रूपमा बिक्री वितरण गर्न तथा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र दीर्घरोगीलाई प्राथमिकता दिइएको बताइन्।


