ग्यास आयात बढ्यो, अभाव कायमै

हिमाल प्रेस ७ भदौ २०८३ १२:४७ | Sunday, August 23, 2026
ग्यास आयात बढ्यो, अभाव कायमै संखुवासभाको सदरमुकाम खाँदबारीमा ग्यास डिलरबाट खाना पकाउने एलपी ग्यास सिलिण्डर डोकोमा बोकेर घरतर्फ जाँदै स्थानीय महिला। जिल्लामा केही सातादेखि एलपी ग्यासको सहज आपूर्ति नहुँदा उपभोक्तालाई सास्ती भएको छ। तस्बिर : रासस

काठमाडौँ- नेपाल आयल निगमले खाना पकाउन व्यापक रूपमा प्रयोग हुने एलपी ग्यासको आयात तथा आपूर्ति उल्लेख्य रूपमा बढाए पनि बजारमा अभाव कायमै देखिएको छ।

भन्सार विभागका अनुसार नेपालले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा हालसम्मकै उच्च परिमाणमा ५७ हजार ३३४.१ टन एलपी ग्यास आयात गरेको छ। यसको मूल्य आठ अर्ब ४६ करोड रुपैयाँ बराबर छ। एक महिनामा भएको यो आयात अहिलेसम्मकै सबैभन्दा ठूलो हो।

गत आर्थिक वर्षको सोही महिनामा ४४ हजार ३१८.८९ टन एलपी ग्यास आयात गरिएको थियो। त्यसका लागि चार अर्ब ६६ करोड रुपैयाँ खर्च भएको थियो। यस वर्ष साउनमा भएको आयात परिमाणका आधारमा गत वर्षको सोही महिनाभन्दा २९.३७ प्रतिशत बढी हो।

अधिकारीहरूका अनुसार नेपालमा एलपी ग्यासको औसत मासिक माग करिब ४५ हजारदेखि ५० हजार टनसम्म छ। पछिल्ला महिनामा मागअनुसार आपूर्ति सुनिश्चित गर्न आयात निरन्तर बढाइएको तथ्यांकले देखाउँछ।

निगमले असारमा सात अर्ब ७२ करोड रुपैयाँ बराबरको ५२ हजार ५२.५१ टन एलपी ग्यास आयात गरेको थियो। त्यसअघि जेठमा पाँच अर्ब ५२ करोड रुपैयाँ बराबरको ४७ हजार ५९८.०६ टन, वैशाखमा चार अर्ब ६१ करोड रुपैयाँ बराबरको ४४ हजार ३१३.७८ टन तथा चैतमा चार अर्ब १६ करोड रुपैयाँ बराबरको ४१ हजार १०८.१२ टन ग्यास आयात गरिएको थियो।

ठूलो परिमाणमा ग्यास भित्रिए पनि देशका विभिन्न भागका उपभोक्ताले अझै सिलिन्डर पाउन कठिनाइ भइरहेको गुनासो गरिरहेका छन्। आपूर्ति बढे पनि बजारमा ग्यासको सहज उपलब्धता सुनिश्चित हुन सकेको छैन।

आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनामा कच्चा सोयाबिन तेल र डिजेलपछि एलपी ग्यास तेस्रो ठूलो आयातित वस्तु बनेको छ।

पछिल्ला महिनादेखि घरेलु बजारमा देखिएको आपूर्ति अवरोधका बीच ग्यास आयातमा तीव्र वृद्धि भएको हो। इजरायल–इरान द्वन्द्व र त्यसपछि इरानले विश्वको प्रमुख ऊर्जा पारवहन मार्ग स्ट्रेट अफ हर्मुज बन्द गरेपछि एलपी ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्तिमा थप दबाब परेको थियो। यसले एसियाली बजारतर्फको ढुवानी प्रभावित गर्नुका साथै नेपालको आपूर्ति शृंखलामा समेत अनिश्चितता सिर्जना गरेको थियो।

नेपालले एलपी ग्याससहित सम्पूर्ण पेट्रोलियम पदार्थको आवश्यकता भारतबाट पूरा गर्दै आएको छ। भारत सरकारको स्वामित्वमा रहेको इन्डियन आयल कर्पोरेसन (आईओसी) नेपालमा पेट्रोलियम पदार्थ आपूर्ति गर्ने एक मात्र कम्पनी हो।

आपूर्ति अभाव चर्किएपछि सरकारले गत मार्चमा एलपी ग्यास बोटलिङ कम्पनीहरूलाई आधा भरिएका सिलिन्डरसमेत बजारमा पठाउन निर्देशन दिएको थियो। नियमित आपूर्ति कायम गर्न कठिनाइ भइरहेका बेला उपभोक्तालाई ग्यास उपलब्ध गराउने उद्देश्यले अपनाइएको यो अस्थायी व्यवस्थाले तत्कालीन अभाव केही हदसम्म व्यवस्थापन गर्न सहयोग गरेको थियो।

आपूर्ति अवस्था सुधार हुन थालेपछि सरकारले साउनको पहिलो साता आधा भरिएका सिलिन्डर बजारमा पठाउने व्यवस्था हटायो। तर, पूर्ण भरिएका सिलिन्डर बजारमा आउन थालेपछि माग बढ्दा खाना पकाउने ग्यासको अभाव झन् गम्भीर बनेको छ।

अभाव बढ्दै गएपछि सरकारले केही दिन आफ्नै संयन्त्रमार्फत एलपी ग्यास वितरण गरेर प्रत्यक्ष हस्तक्षेपसमेत गरेको थियो। त्यसका बाबजुद बजारमा सहज आपूर्ति हुन सकेको छैन।

काठमाडौँको थलीस्थित अधिकारी स्टोर्सका सञ्चालक चिरञ्जीवी अधिकारीका अनुसार उपभोक्ताले अझै ग्यासका लागि लामो समय कुर्नुपर्ने अवस्था छ।

‘अहिले पनि मानिसहरूले खाना पकाउने ग्यासका लागि दिनहुँ कुर्नुपर्छ। मेरो पसलमा दुई लट सिलिन्डर आएपछि मात्रै नाम दर्ता गरेका सबै ग्राहकलाई ग्यास दिन सक्ने अवस्था छ,’ उनले भने, ‘आशा छ, केही समयपछि अवस्था सहज हुनेछ।’

प्रकाशित: ७ भदौ २०८३ १२:४७ | Sunday, August 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast