काठमाडौँ- खाना पकाउने ग्यासको सहज व्यवस्था गर्न माग गर्दै विद्यार्थीहरूले मंगलबार काठमाडौँमा प्रदर्शन गरेका छन्। लामो समयदेखि ग्यासको अभाव हुँदा विद्यार्थीहरू समस्यामा परेको भन्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) ले त्रिचन्द्र क्याम्पसअगाडि विरोध प्रदर्शन गरेको हो।
प्रदर्शनमा सहभागी विद्यार्थीहरूले सरकारको नीतिका कारण ग्यासको अभाव चर्किएको आरोप लगाउँदै तत्काल सहज र नियमित रूपमा ग्यास बिक्री–वितरणको व्यवस्था गर्न माग गरेका छन्। उनीहरूले खाली सिलिन्डरसहित नाराबाजी गर्दै सरकारको ध्यानाकर्षण गराएका थिए।
काठमाडौँमा अध्ययनरत विद्यार्थी तथा विपन्न वर्ग ग्यास अभावका कारण थप समस्यामा परेको विद्यार्थी मनोज भण्डारीले बताए। ग्यास नपाउँदा भोकै बस्नुपर्ने, होटलमा गएर खाना खाने आर्थिक क्षमता नहुने र सार्वजनिक यातायातको भाडासमेत तिर्न नसक्ने अवस्था सिर्जना भएको उनको भनाइ छ।
विगतमा डिलरमार्फत सहज रूपमा ग्यास वितरण हुँदै आए पनि सरकारले आफ्नै तवरबाट वितरण गर्न खोज्दा अभाव, लामो लाइन र सर्वसाधारणले सास्ती खेप्नुपरेको भण्डारीले बताए।
विद्यार्थीहरूले ग्यासका लागि बस्नुपर्ने लामो लाइनको समस्या तत्काल समाधान गर्न तथा विद्यार्थी र विपन्न वर्गलाई राहत एवं सहुलियत उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।
प्रदर्शनका क्रममा उनीहरूले ‘विद्यार्थीको हातमा कलम चाहिन्छ, खाली सिलिन्डर होइन’, ‘किताब बोकेर पढ्ने कि सिलिन्डर बोकेर लाइन बस्ने?’, ‘नो लाइन भनेको होइन र सरकार, ग्यासमा किन यति लामो लाइन?’ लगायतका नारासहितका प्लेकार्ड प्रदर्शन गरेका थिए।


