सुर्खेत- खाना पकाउने एलपी ग्यासको अभाव बढ्दै गएपछि कर्णाली प्रदेशका साना होटल तथा रेस्टुरेन्ट व्यवसाय प्रभावित भएका छन्। नियमित रूपमा ग्यास नपाउँदा सुर्खेतसहित प्रदेशका विभिन्न जिल्लामा कतिपय साना होटल बन्द भएका छन् भने सञ्चालनमा रहेकाले पनि दाउरा र विद्युतीय चुलोको विकल्प खोज्न थालेका छन्।
प्रदेशको राजधानी सुर्खेतसहित दैलेख, कालिकोट, जुम्ला, मुगु, हुम्ला, डोल्पा, जाजरकोट, सल्यान र रुकुम पश्चिमका बजारमा ग्यास सहज रूपमा उपलब्ध हुन छाडेको व्यवसायीहरू बताउँछन्। ग्यासको आपूर्ति मागको तुलनामा निकै कम हुँदा घरायसी उपभोक्तासँगै होटल, रेस्टुरेन्ट, बेकरी तथा अन्य साना व्यवसाय प्रभावित भएका हुन्।
ठूला होटल तथा रेस्टुरेन्टले नेपालगन्जबाट ग्यास ल्याएर व्यवसाय सञ्चालन गरिरहेका छन्। तर सीमित पूँजी र साधन भएका साना होटल व्यवसायीका लागि बाहिरी जिल्लाबाट ग्यास ल्याउनु सम्भव नभएपछि व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था आएको व्यवसायीहरूको भनाइ छ।
सुर्खेतमा ग्यास बिक्री–वितरण गर्दै आएका व्यवसायी जगत पन्तका अनुसार ग्यास आउनेबित्तिकै डिलरमा उपभोक्ताको लामो लाइन लाग्ने गरेको छ। उनका अनुसार सोमबार १५० सिलिन्डर एलपी ग्यास आएकोमा पाँच सयभन्दा बढी उपभोक्ता लाइनमा बसेका थिए। ‘हिजो सोमबार हाम्रो पसलमा १५० सिलिन्डर एलपी ग्यास आएको थियो। पाँच सयभन्दा बढी नागरिक लाइनमा बसेका थिए,’ पन्तले भने, ‘प्रशासनले भनेअनुसार बिक्रीवितरण गर्दा पनि झण्डै तीन सयभन्दा बढी नागरिकलाई ग्यास पुग्न सकेन।’
डिलरहरूले खाली सिलिन्डर संकलन गरे पनि मागअनुसार नयाँ सिलिन्डर उपलब्ध गराउन नसकेको अवस्था छ। ग्यास आउने जानकारी पाएपछि उपभोक्ता बिहानैदेखि डिलरमा पुगेर घण्टौँ लाइनमा बस्ने गरेका छन्। कतिपय उपभोक्ता दिनभर लाइनमा बसेर पनि रित्तो हात घर फर्किन बाध्य भएका बिक्री वितरण व्यवसायी पन्तले जानकारी दिए।
ग्यास अभावको प्रत्यक्ष असर साना होटल व्यवसायमा परेको व्यसायीहरु बताउछन। ‘ग्यासको अभावले घरपरिवार मात्र होइन, साना व्यवसाय गर्ने व्यक्तिहरू पनि समस्यामा परेका छन्,’ उनले भने, ‘होटल, रेस्टुरेन्ट, बेकरी उद्योगलगायतका व्यवसायमा यसको ठूलो असर परेको छ।’
ग्यासको विकल्पका रूपमा दाउरा वा विद्युतीय चुलो प्रयोग गर्न खोजिए पनि सबै ठाउँमा भरपर्दो विद्युत् सेवा नहुँदा व्यवसाय सञ्चालन गर्न कठिन भएको व्यवसायीहरू बताउँछन्। उनीहरूका अनुसार ग्यास उद्योगबाट आउने कोटा नै मागको तुलनामा निकै कम छ। जति ग्यास आउँछ, त्यसको तुलनामा उपभोक्ताको संख्या धेरै हुँदा अभाव झन् चर्किएको हो।
ग्यासको १० प्रतिशत असहाय र विद्यार्थीका लागि
ग्यास अभावलाई दृष्टिगत गर्दै जिल्ला प्रशासन कार्यालय सुर्खेतले सुर्खेत भित्रिने ग्यासमध्ये १० प्रतिशत असहाय तथा विद्यार्थीका लागि छुट्याउन निर्देशन दिएको छ। जिल्ला प्रशासन कार्यालय सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी डिलबहादुर कार्कीका अनुसार सुर्खेतमा ग्यासको डिपो नहुँदा मागअनुसार आपूर्ति गर्न समस्या भएको हो।
उनका अनुसार सुर्खेत भित्रिने ग्यासको १० प्रतिशत लक्षित वर्गका लागि छुट्याउन निर्देशन दिइएको छ। जसअन्तर्गत ‘क’ र ‘ख’ वर्गका अपांगता भएका व्यक्ति, सुत्केरी, ज्येष्ठ नागरिक र विद्यार्थीलाई पासको व्यवस्था गरी ग्यास उपलब्ध गराउने व्यवस्था मिलाइएको छ। कार्कीका अनुसार सोमबार र मंगलबार गरी ११६ सिलिन्डर ग्यास लक्षित वर्गका उपभोक्तालाई वितरण गरिएको छ।
जिल्ला प्रशासन कार्यालयले ग्यास अभावलाई गम्भीर रूपमा लिँदै बजार अनुगमन तथा बिक्रीवितरणमा निगरानी बढाएको जनाएको छ। सहायक प्रमुख जिल्ला अधिकारी कार्कीले प्रहरीको निगरानीमा ग्यास बिक्रीवितरण भइरहेको र बजारको नियमित अनुगमनसमेत गरिरहेको बताए। उनले भने आपूर्ति सहज बनाउन सम्बन्धित निकायसँग निरन्तर समन्वय गरिरहेका छौँ।’
आयल निगमका अनुसार साउन १ गते देखि २३ गते सम्म सुर्खेतमा ४१ हजार ५ सय १७ सिलेन्डर ग्यास आएको छ।



