काठमाडौँ- मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा बिहीबार बिहान भएको माइक्रोबस दुर्घटनामा आफ्ना स्थानीय नागरिकको मृत्यु भएपछि सर्लाहीको चक्रघट्टा गाउँपालिकाले आज शुक्रबार शोक बिदा दिएको छ।
गाउँपालिकाले सूचना जारी गर्दै दुर्घटनामा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ।
गाउँपालिका अध्यक्ष कृष्णकुमार यादवद्वारा जारी सूचनाअनुसार शुक्रबार गाउँ कार्यपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्थाबाहेक नियमित सेवा सञ्चालन हुने अन्य कार्यालय, सामुदायिक तथा संस्थागत विद्यालयसहित गाउँपालिका क्षेत्रभित्रका सम्पूर्ण सरकारी तथा गैरसरकारी कार्यालयमा एक दिनका लागि शोक बिदा दिइएको हो।
शोक बिदाका दिन स्वास्थ्य संस्थाबाट उपलब्ध हुने आकस्मिक स्वास्थ्य सेवा भने नियमित रूपमा सञ्चालन हुने गाउँपालिकाले जनाएको छ।
यसैबीच, दुर्घटनामा ज्यान गुमाएका प्रत्येक व्यक्तिका परिवारलाई गाउँपालिकाको तर्फबाट जनही ५० हजार रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णयसमेत गरिएको छ।
मकवानपुरको भीमफेदीमा भएको उक्त दुर्घटनामा चक्रघट्टा गाउँपालिका-४, सुन्दरपुरका मात्रै एक गर्भवती महिलासहित १४ जनाले ज्यान गुमाएका छन्।
छठ पर्व मनाउन घर फर्किने क्रममा आफन्त गुमाउनुपरेपछि सुन्दरपुर गाउँ यतिबेला शोकमा डुबेको छ।
काठमाडौँबाट छठ पर्व मनाउन सर्लाहीतर्फ जाँदै गरेको मधेस प्रदेश ०३-००१ ज ०८८० नम्बरको ईभी माइक्रोबस भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा सडकबाट करिब ५०० मिटर तल खसेको थियो।



