काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले ग्यास आपूर्तिको अवस्था, वितरण तथा ढुवानीलाई पारदर्शी बनाइने बताएकी छन्।
सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित संरक्षण समिति बैठकमा अनलाइन ट्र्यकिङ प्रणालीमार्फत ग्यास आपूर्तिको अवस्था, वितरण तथा ढुवानीलाई पारदर्शी बनाइने बताएकी हुन्।
उनले गुगल फर्म को प्रयोग गरी उद्योगहरूबाट सिलिन्डर बिक्री गरिएका डिपो र खुद्रा विक्रेताहरूको अवस्था तथा विवरण संकलन गरी मन्त्रालयको वेबसाइटमा राख्न सुरु गरिएको जानकारी दिइन्।
एउटा–दुइटा सिलिन्डर चाहिने, सुत्केरी महिला वा पहुँच नभएका सामान्य नागरिकलाई सहज रूपमा ग्यास सिलिन्डर उपलब्ध गराउन विभिन्न ठाउँबाट वितरणको व्यवस्था मिलाइएको उनले बताइन्।
उनले आफूले ग्यास बितरण कार्यको अनुगमन गरेको, सर्वसाधारणको फोन उठाएर समस्या सुनेको र आफ्नै नम्बर दिएर नागरिकका समस्या समाधानमा निरन्तर खटिरहेको बताइन्। साथै उनले सिंहदरबार बाहिर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको आउटलेट साउन २८ गतेदेखि सञ्चालनमा आउन लागेकाले त्यहाँ उपलब्ध खाद्य वस्तुहरूको प्रयोग गर्न आग्रह गरिन्।
बैठकमा नेपाल आयल निगमका प्रबन्ध निर्देशक नागेन्द्र साहले एक सातभित्रै ग्यासको सहज आपूर्ति हुने दाबी गरे। उनले सिलिन्डरहरू फरकफरक ब्राण्डका भएकाले साटासाट र व्यवस्थापनमा समस्या परेको हुँदा दीर्घकालीन समाधानका लागि ब्राण्ड तथा कम्पनीहरू मर्जरमा जानुपर्ने धारणा राखे।
सामान्यतया महिनामा ३२ देखि ३३ लाख सिलिन्डर खपत हुने गरेकोमा यस पटक २६ गतेसम्म नै ३४ लाख सिलिन्डर आयात गरी बजारमा पठाइसकिएको उनले जानकारी दिए।
साहले बजारमा आपूर्ति सहज बनाउन निरन्तर प्रयास भइरहेको र असहाय, वृद्ध, तथा सुत्केरी जस्ता अति आवश्यक परेका उपभोक्ताहरूलाई घरमै ग्यास पु¥याउनेसम्मको सहजीकरण गरिएको बताए।
बैठकमा समिति सदस्यहरुले बितरण प्रणाली कमजोर हुँदा ग्यासको अभाव देखिएको भन्दै समाधानका लागि तत्परता देखाउन सुझाव दिएका थिए।
बैठकले नजिकिँदै गरेको चाडपर्व समेतलाई लक्षित गर्दै अत्यावश्यक दैनिक खाद्य वस्तुहरू चिनी, चामल, तेल, तरकारी, मसला आदिको सहज एवं सुलभ आपूर्तिको व्यवस्थापन गर्न सरकारलाई निर्देशन दिएको छ।
त्यस्तै ग्यासमा देखिएको समस्या समाधान गर्न समेत समितिले निगमको ध्यानाकर्षण गराएको छ।


