काठमाडौँ- नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न र सरकारसँग विगतमा भएका सहमति कार्यान्वयन गराउन भदौदेखि आन्दोलन गर्ने निर्णय गरेको छ।
आइतबार काठमाडौँमा सम्पन्न महासंघको तेस्रो राष्ट्रिय परिषद् बैठकले भदौबाट चरणबद्ध आन्दोलन गर्ने प्रस्ताव पारित गरेको हो। आन्दोलनको मिति र कार्यक्रम भने महासंघको विस्तारित कार्यालय बैठकले तय गर्नेछ।
महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीका अनुसार सरकारले शिक्षक महासंघसँग विगतमा गरेका सहमति अझै कार्यान्वयन नगरेको र लामो समयदेखि प्रतिक्षामा रहेको विद्यालय शिक्षा ऐन जारी हुन नसकेकाले दबाब सिर्जना गर्न आन्दोलनको निर्णय गरिएको हो।
उनका अनुसार आन्दोलनको उद्देश्य सरकारलाई शिक्षक, विद्यालय, विद्यार्थी र अभिभावकको हितलाई ध्यानमा राखी विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न तथा पूर्वसहमतिहरू कार्यान्वयन गर्न बाध्य बनाउनु हो।
महासंघले आन्दोलनका कार्यक्रम र समयतालिका विस्तारित कार्यालय बैठकबाट सार्वजनिक गर्ने छ।


