काठमाडौँ- कर्णालीमा मुख्यमन्त्रीका रुपमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता मंगलबहादुर शाही नियुक्त भएसँगै आज शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ।
शाहीले मंगलबार आफ्नो दलका १४ र सत्ता साझेदार नेकपा एमालेका ९ जना प्रदेशसभा सदस्यको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। ४० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि २० सदस्यको समर्थन आवश्यक पर्छ। शाहीले २३ सदस्यको समर्थन जुटाएपछि नयाँ सरकार गठनको बाटो खुलेको हो।
मुख्यमन्त्रीको शपथ आज हुने भए पनि मन्त्रिपरिषद्ले भने तत्काल पूर्णता पाउने सम्भावना कम देखिएको छ। सत्ता साझेदार माओवादी केन्द्र र एमालेबीच मन्त्रालयको भागबन्डाबारे बुधबारसम्म पनि छलफल जारी रहेको स्रोतले जनाएको छ।
गठबन्धनका एक नेताका अनुसार पहिले कुन दलले कुन मन्त्रालय लिने भन्ने विषयमा सहमति जुटाइनेछ। त्यसपछि मात्रै दुवै दलले आफ्ना–आफ्ना मन्त्रीहरूको नाम टुंगो लगाउनेछन्। मुख्यमन्त्रीको दाबी पेस गर्ने क्रममा एमालेका प्रमुख सचेतक टेकराज पछाई प्रदेश प्रमुखको कार्यालय पुगेका थिए भने समर्थनपत्रमा एमाले संसदीय दलका नेता यामलाल कँडेलको हस्ताक्षर रहेको थियो।


