काठमाडौँ- धेरैका लागि मिस नेपाल सौन्दर्य, आकर्षण र ताजको प्रतिस्पर्धा हो। झिलिमिली बत्ती, र्याम्प र मुस्कानभित्र सीमित देखिने एउटा उत्सव। तर अस्ट्रेलियाबाट मिस नेपाल २०२६ मा सहभागी हुनकै लागि नेपाल आएकी प्रतिमा खड्काका लागि यो मञ्च त्यसभन्दा निकै फरक अर्थ बोकेको छ। उनले मिस नेपाल प्रतियोगिता एउटा विचार समाजसम्म पुर्याउने अवसर रहेको बताइन्। प्रतियोगिता नेपाललाई मानसिक कल्याण, करुणा र सचेत जीवनशैलीको विश्वव्यापी केन्द्रका रूपमा स्थापित गर्ने अभियानका रूपमा उनले लिएकी छन्।
प्रतिमा प्रतियोगितामा सहभागी हुनुअघि नै स्पष्ट रूपमा भनिसकेकी थिइन्- मिस नेपालको मञ्चले एउटा आवाज दिन्छ भने त्यो आवाज मानसिक स्वास्थ्य र सचेत जीवनशैलीको पक्षमा उठ्नेछ।
उनी सौन्दर्यको परिभाषालाई अनुहारभन्दा पर लैजान चाहन्छिन्, जहाँ आत्मविश्वास, आत्मचेतना र मानसिक सन्तुलन नै वास्तविक सुन्दरता हुन्।
बुबा-आमाको पुर्ख्यौली घर सिन्धुपाल्चोक भए पनि प्रतिमाको जन्म काठमाडौँको बानेश्वरमा भयो। सानैदेखि अध्ययनप्रति रुचि राख्ने उनी १२ कक्षा सकेपछि १७ वर्षकै उमेरमा उच्च शिक्षाका लागि अस्ट्रेलिया उडिन्। नयाँ देश, नयाँ समाज र नयाँ संस्कृतिबीच उनले विश्वविद्यालयको डिग्री मात्र हासिल गरिनन्, जीवनलाई हेर्ने नयाँ दृष्टिकोण पनि सिकिन्। उनी आफ्नी हजुरआमा र हजुरबुवाबाट बढी प्रेरित भएकी हुन्। त्यही भएर नै उनी समाजलाई केही दिइरहेकी र थप खारिन यो प्रतिस्पर्धामा उत्रेकी हुन्।
उनले अस्ट्रेलियाको युनिभर्सिटी अफ वेस्टर्न सिड्नीबाट सोसल वर्कमा स्नातकोत्तर र कम्युनिटी सर्भिसेजमा स्नातक अध्ययन पूरा गरिन्। अध्ययनसँगै मानसिक स्वास्थ्य, सामाजिक समावेशिता, समुदाय विकास, नेतृत्व र स्वयंसेवाका क्षेत्रमा सक्रिय रहँदा उनले समाजका विविध तहका मानिसका पीडा, संघर्ष र सम्भावनालाई नजिकबाट बुझ्ने अवसर पाइन्।
त्यही अनुभव र सिकाइलाई नेपालमा उपयोग गर्ने दृढ अठोटका साथ उनी अहिले मिस नेपालको यात्रामा छिन्। प्रतियोगितामा उनको नम्बर १४ परेको छ, जुन प्रतियोगीहरूले आफैँ तानेर पाउने प्रक्रिया हो।

प्रतिमाको दृष्टिमा आजको संसारको सबैभन्दा गम्भीर तर कम चर्चा हुने चुनौती मानसिक स्वास्थ्य हो। उनको प्रश्न सरल छ तर गहिरो पनि-हामी विद्यालयमा अंग्रेजी सिक्छौँ, नेपाली सिक्छौँ, गणित सिक्छौँ, विज्ञान सिक्छौँ, आर्थिक व्यवस्थापन पनि सिक्छौँ। तर आफ्नै मनसँग कसरी संवाद गर्ने ? तनाव कसरी व्यवस्थापन गर्ने? असफलतासँग कसरी जुध्ने? भावना कसरी बुझ्ने? यी सबैभन्दा महत्त्वपूर्ण सीप किन पढाइँदैन?
उनको विश्वास छ, मानसिक स्वास्थ्यको उपचार आवश्यक छ, तर त्यो मात्र पर्याप्त छैन। उपचारभन्दा अघि आवश्यक छ मानसिक कल्याणसम्बन्धी शिक्षा। बालबालिकादेखि वयस्कसम्म सबैले भावनात्मक सन्तुलन, आत्मचेतना र मानसिक दृढताका आधारभूत सीप सिक्नुपर्छ। उनका अनुसार इमोसनल रिजिलियन्स अर्थात् भावनात्मक दृढता आजको समयको सबैभन्दा महत्त्वपूर्ण जीवनकौशलमध्ये एक हो।
प्रतिमा नेपाललाई हिमाल र बुद्धको देशका रूपमा मात्र चिनाउने पुरानो भाष्यलाई विस्तार गर्नुपर्ने आवश्यकता पनि औँल्याउँछिन्। नेपाललाई सगरमाथा र गौतम बुद्धको देश भनेर संसारले सम्मान गर्छ, तर त्यही नेपालसँग अर्को अमूल्य सम्पदा पनि छ- ध्यान, योग, सचेत श्वासप्रश्वास, माइन्डफुलनेस, करुणा र आत्मिक शान्तिको हजारौँ वर्ष पुरानो परम्परा।
उनी भन्छिन्, ‘यी अभ्यासलाई आधुनिक विज्ञान, अनुसन्धान र जीवनशैलीसँग प्रभावकारी रूपमा जोड्न सकियो भने नेपाल मानसिक कल्याणको विश्वगन्तव्य बन्न सक्छ। संसार अहिले तनाव, एक्लोपन र मानसिक असन्तुलनसँग जुधिरहेको बेला नेपालसँग त्यसको वैकल्पिक उत्तर दिने सांस्कृतिक र दार्शनिक आधार पहिले नै विद्यमान छ। आवश्यक केवल त्यसलाई आधुनिक भाषामा विश्वसामु प्रस्तुत गर्ने नेतृत्व हो।’
नेपालको आतिथ्य सत्कार (हस्पिटालिटी) संस्कृतिमा पनि उनले यही सम्भावना देख्छिन्। यहाँ आउने विदेशी पर्यटकले हिमाल हेरेर फर्कने होइन, मनलाई शान्त बनाउने अनुभव पनि लिएर फर्कन सक्ने वातावरण बनाउनुपर्ने उनको धारणा छ। पर्यटनलाई प्रकृतिसँगै मानसिक पुनर्ताजगी र आत्मिक सन्तुलनसँग जोड्न सकियो भने नेपालको पहिचान अझ फराकिलो बन्ने उनको विश्वास छ।
विदेशमा सिकेको ज्ञान र अनुभवलाई नेपालमै फर्काएर समाजका लागि उपयोग गर्ने प्रतिबद्धता प्रतिमामा स्पष्ट देखिन्छ। उनका अनुसार परिवर्तनका लागि विदेशी मोडेलनै अनुकरण गर्नुपर्छ भन्ने छैन्। नेपालको मौलिक संस्कृति, आध्यात्मिक परम्परा र अन्तर्राष्ट्रिय स्तरका सफल अभ्यासबीच सन्तुलित समन्वय गर्न सकियो भने दिगो सामाजिक परिवर्तन सम्भव छ।
उनको जीवन केवल शैक्षिक उपलब्धिमा सीमित छैन। सन् २०१६ देखि उनी आर्ट अफ लिभिङ फाउन्डेसनमा स्वयंसेवकका रूपमा सक्रिय छिन्। हाल उनी दिदीबहिनी विमेन्स नेटवर्क अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्य सचिवको जिम्मेवारीमा पनि छिन्। वर्षौँको स्वयंसेवा, ध्यान र सचेत श्वासप्रश्वासका अभ्यासले मानिसको जीवनमा ल्याउने सकारात्मक परिवर्तनलाई उनले केवल पढेकी मात्र होइन, प्रत्यक्ष अनुभूति पनि गरेकी छन्। त्यसैले उनी मानसिक कल्याणलाई सिद्धान्तभन्दा बढी जीवनशैलीका रूपमा हेर्छिन्।

मानसिक स्वास्थ्यसँगै वातावरण संरक्षण पनि उनको अर्को प्राथमिकता हो। जलवायु परिवर्तनको प्रत्यक्ष असर भोगिरहेको नेपालका हिमाल, नदी, कृषि प्रणाली र प्राकृतिक स्रोतप्रति उनी गम्भीर चिन्ता व्यक्त गर्छिन्। प्रकृतिको स्वास्थ्य र मानिसको मानसिक स्वास्थ्यबीच गहिरो सम्बन्ध रहेको उनको बुझाइ छ। स्वस्थ वातावरणबिनाको स्वस्थ समाज सम्भव नहुने उनी बताउँछिन्।
मिस नेपालको मञ्चबाट उनी केवल युवतीहरूलाई होइन, सम्पूर्ण नयाँ पुस्तालाई एउटा फरक सन्देश दिन चाहन्छिन्- सफलता केवल उपलब्धिको नाम होइन, मानसिक रूपमा सन्तुलित, सामाजिक रूपमा जिम्मेवार र वातावरणप्रति संवेदनशील नागरिक बन्नु पनि सफलता हो।
प्रतिमाको सपना ताज जितेर नै अघि बढ्नुपर्छ भन्ने होइन यसबाट पनि सिकेर अघि बढ्ने र आफ्नो यात्रा थप फराकिलो र परिपक्व हुने उनले सहभागी हुनु अघि नै बताएकी थिइन। उनी आफूलाई एउटा दीर्घकालीन अभियानको यात्रु मान्छिन्। त्यो अभियान हो- नेपाललाई सगरमाथाको देशका रूपमा मात्र होइन, मानसिक कल्याण, करुणा, सचेत जीवनशैली र प्राचीन ज्ञानको विश्व केन्द्रका रूपमा चिनाउने।
व्यक्ति स्वस्थ हुँदा उसको परिवार पनि स्वस्थ अनि परिवार स्वस्थ भए पछि समाज स्वस्थ अनि सहर र देश स्वस्थ भनेर सबैले सोचेमा देश स्वस्थ रहने उनले मिस नेपालमा छनौट भएपछि नै बताएकी थिइन। अहिले उनी अन्तिम २४ मा समूहमा बन्द प्रशिक्षणमा छिन्।
सायद यही कारण उनको मिस नेपालको यात्रा एउटा प्रतियोगिताभन्दा बढी एउटा विचारको यात्रा बनेको छ-जहाँ सौन्दर्य अनुहारमा होइन, चेतनामा बस्छ : जहाँ ताज केवल टाउकोमा होइन, उद्देश्यमा चम्किन्छ।


