मूर्तलाई मूर्त बनाउने मूर्ति हो। अप्रतिम (अद्वितीय वा अनुपम) को प्रतिकृतिलाई प्रतिमा भनिन्छ। यसकारण पूजा गरिने मूर्तिलाई प्रतिमा भनिन्छ। एउटा मूर्तिको अनुकरण गरी अर्को मूर्ति बनाइए प्रतिमूर्ति हुन्छ। हामीसित धेरै मूर्तिशास्त्र र प्रतिमाशास्त्र छन् तर सालिकशास्त्र हुँदैन। शालिक एकजना पौराणिक ऋषिको नाम हो।
अरबीमा उड्ने वा हिँड्नेलाई सालिक वा सालिग भनिन्छ। बुद्धका मात्र मूर्ति देखेका फारसीहरूले फारसी भाषामा मूर्तिलाई बुध भने अनि अरबीमा बुद। नेपालीसहित कुनै भारतीय भाषामा सालिक वा सालिग शब्दको अर्थ लाग्दैन।
मूल अरबीमा सालिक वा सालिक शब्द ‘शलाका’ बाट बनेको हो। यसको अर्थ यात्री वा पथिक हो। कुनै व्यक्ति कुनै विशेष आध्यात्मिक शिक्षक (मुर्शिद) वा सूफी गुरुको शिष्य बनेमा सालिग वा सालिक हुन्छ।
अरबको मरुक्षेत्रमा स्थापित अब्राहमेली धर्म परम्परा (जुडा, इसाई र इस्लाम) मा मूर्तिपूजा प्रावधान पाइँदैन। यो भौगोलिक कारणले हो। त्यस क्षेत्रमा राम्रा माटा भए पो मृणमूर्ति बनिन्थे। राम्रा ढुङ्गा भए पो प्रस्तरमूर्ति बनिन्थे। राम्रा रूख र काठ पाइए पो काष्ठमूर्ति बनिन्थे। पश्चिममा चाहिँ भारतको जस्तै मूर्तिकलाको पुरानो परम्परा छ।
मूर्तिमा घोडाको खुरको स्थितिले आरोहीको भाग्यको कथा बताउँछ। अगाडिको दुवै खुर उठेका छन् भने अश्वारोही युद्धमा मरेका थिए भन्ने बुझिन्छ। अगाडिको एउटा मात्र खुर उठाएको भएमा अश्वारोही युद्धमा घाइते भएका थिए वा पछि ती घाउकै कारणले मरे भन्ने बुझिन्छ। चारै खुर भुइँमा टेकिएका छन् भने आरोहीको मृत्यु युद्धसँग सम्बन्धित नभएको तथा सामान्य प्राकृतिक मृत्यु भएको बुझिन्छ।



