काठमाडौँबाट बाहिरिने सबै मुख्य नाका बन्द

हिमाल प्रेस २९ असार २०८३ २१:२६ | Monday, July 13, 2026
72
SHARES
काठमाडौँबाट बाहिरिने सबै मुख्य नाका बन्द बीपी राजमार्ग। फाइल तस्बिर

काठमाडौँ- राजधानीबाट बाहिरिने सबै मुख्य नाकाहरू बन्द भएका छन्। अविरल वर्षाका कारण विभिन्न ठाउँमा पहिरो र बाढी आउँदा सवारी आवागमन बन्द गरिएको हो।

नागढुंगा तथा फर्फिङ/दक्षिणकाली नाकाबाट सवारी बाहिर जान रोक लगाइएको छ। अविरल वर्षापछि प्राकृतिक विपद्लाई मध्यनज गरी यी नाकाहरूबाट सवारी अवागमनमा रोक लगाइएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौँले सोमबार सूचना जारी गरेर अर्को सूचना नभएसम्मका लागि यी नाकाहरू बन्द गरिएको जनाएको छ।

अविरल वर्षाका कारण सडकमा बाढी, पहिरो, ढुंगा खस्ने तथा अन्य प्राकृतिक विपद्को जोखिम बढेकाले सर्वसाधारणको सुरक्षालाई मध्यनजर गरी नागढुंगा हुँदै उपत्यकाबाट बाहिरिने तथा फर्पिङ–दक्षिणकाली–मकवानपुर सडक खण्डमा अर्को सूचना नभएसम्म सवारी आवागमन रोकिएको परिसरले जारी गरेको सूचनमा भनिएको छ।

यता मुग्लिन–नारायणगढ सडकखण्डमा पनि सवारी सञ्चालनमा रोक लगाइएको छ।

जिल्ला प्रशासन कार्यालय चितवनले सोमबार साँझ सूचना जारी गरेर मुग्लिन–नारायणगढ सडकखण्डमा सवारी सञ्चालनमा रोक लगाइएको जनाएको हो।

लगातार भएको वर्षाका कारण मुग्लिन–नारायणगढ सडकखण्डका विभिन्न ठाउँमा पहिरो गएकाले सवारी सञ्चालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ।

‘लगातार भएको भारी वर्षाका कारण नारायणगढ–मुग्लिन सडकखण्डका विभिन्न स्थान स्थानहरूमा पहिरो गई सडक अवरुद्ध हुन पुगेको हुँदा यो सडकखण्ड भएर चल्ने सबै प्रकृतिका सवारी साधानहरूको आवागमन अर्को सूचना प्रकाशन नभएसम्मका लागि पूर्ण रुपमा रोक लगाइएको छ,’ सूचनामा भनिएको छ।

काठमाडौँ उपत्यकाबाट बाहिर यात्रा नगर्न भन्दै सूचनामा रुपन्देही, नवलपरासी बर्दघाट सुस्ता पूर्व भएर काठमाडौँतर्फ यात्रा गर्ने यात्रुलाई चितवनभन्दा अगाडि नजान आग्रह गरिएको छ।

यता काठमाडौँलाई पूर्वी तराईसँग जोड्ने सबैभन्दा छोटो बाटो बीपी राजमार्ग सोमबार दिउँसोदेखि बन्द भएको छ। अविरल वर्षापछि रोशी खोलामा बाढी आउँदा बीपी राजमार्ग बन्द भएको हो।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रवक्ता डीएसपी रविन विष्टले सोमबार दिउँसो साढे १२ बजेदेखि बीपी राजमार्गअन्तर्गतको धुलिखेलदेखि खुर्कोटसम्मको बाटो बन्द रहेको जानकारी दिए।

राति पानी नपरे वा कहिँकतै पहिरो नगए मंगलबार बाटो सञ्चालनमा आउनसक्ने उनले बताए।

प्रकाशित: २९ असार २०८३ २१:२६ | Monday, July 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast