काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले रामशाहपथस्थित काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको निरीक्षण गरेका छन्। बुधबार गुरुङ ट्राफिक व्यवस्थापन लगायतका कामकारबाहीको जानकारी लिन उपत्यका ट्राफिक प्रहरी कार्यालयमा पुगेका हुन्।
गुरुङसँगै सीआईबीका एआईजी उमाप्रसाद चुतर्वेदी पनि रामशाहपथ पुगेका थिए। गृहमन्त्री गुरुङले रामशाहपथमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको जग्गा ट्राफिक प्रहरीको नाममा ल्याउन पहल थालेका छन् ।
खाद्यको १५ रोपनी खाली जग्गा ट्राफिक प्रहरी कार्यालयसँगै जोडिएको छ। सो जग्गा प्राप्तिका लागि आफूले पहल सुरु गरेको निरीक्षणको क्रममा बताएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एकजना अधिकृतले बताए।
सेन्टर फर एक्सेलेन्सको दीर्घकालीन नीति लागु गर्न जग्गा अपुग रहेको ट्राफिक प्रहरीका अधिकृतहरू बताउँछन्। रामशाहपथमा ट्राफिकले प्रदान गर्ने ट्राफिक नियन्त्रण तालिम, ट्राफिक व्यवस्थापन तालिम, ट्राफिक स्केच तालिम र भिड नियन्त्रण तालिमको लागी उपयुक्त पूर्वाधार छैन। अनुशिक्षण तालिम लगायतका कार्यक्रम सञ्चालन गर्न जग्गा र भौतिक संरचना बनाउन मन्त्री गुरुङले पहल थालेका हुन्।




