आन्ध्र प्रदेशमा आँधी, रेल र हवाई उडान रद्द, शिक्षण संस्था बन्द

हिमाल प्रेस १७ कार्तिक २०८३ ८:२१ | Tuesday, November 3, 2026
2
SHARE
आन्ध्र प्रदेशमा आँधी, रेल र हवाई उडान रद्द, शिक्षण संस्था बन्द

काठमाडौँ- चक्रवाती आँधी ‘मुरासु’ मंगलबार बिहान भारतको आन्ध्र प्रदेशस्थित तटमा ठोक्किएको छ। आँधीका कारण तटीय क्षेत्रमा तीव्र हावा चल्नुका साथै भारी वर्षा भइरहेको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै दक्षिण मध्य रेलवे र पूर्वी तटीय रेलवेका करिब ३२ रेल तथा इन्डिगोका ११ उडान रद्द गरिएका भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

भारतीय मौसम विज्ञान विभागका अनुसार मंगलबार बिहान ३ः३० देखि ५ः३० बजेको बीचमा आँधी नेल्लोर र नरसापुरबीच ओंगोल नजिकैबाट तटमा प्रवेश गरेको हो। त्यसक्रममा प्रतिघण्टा १०० देखि ११० किलोमिटरको गतिमा हावा चलेको थियो। हावाको झोक्काको गति प्रतिघण्टा १२० किलोमिटरसम्म पुगेको विभागले जनाएको छ।

मौसम विभागले सामाजिक सञ्जाल एक्समार्फत दिएको जानकारीअनुसार आँधीको अगाडिको भागमा रहेको ‘वाल क्लाउड’को ठूलो हिस्सा जमिनमा प्रवेश गरिसकेको थियो। ‘वाल क्लाउड’ तीव्र आँधीका बेला मुख्य बादलको तल्लो भागमा देखिने बादल हो। यो सामान्यतया आँधीको त्यस्तो भागमुनि बन्छ, जहाँ वर्षा भइरहेको हुँदैन।

आन्ध्र प्रदेश राज्य विपद् व्यवस्थापन प्राधिकरणका प्रबन्ध निर्देशक तथा रियल टाइम गभर्नेन्स सोसाइटीका प्रमुख कार्यकारी अधिकृत प्रखर जैनले आँधी तट पार गर्ने क्रममा प्रतिघण्टा १०० देखि १२० किलोमिटरको गतिमा हावा चल्ने बताएका थिए।

सोमबार बिहान विशाखापट्टनमको ऋषिकोंडा समुद्री तटमा आँधीको प्रभावका कारण एउटा डुंगा समस्यामा परेको थियो। अधिकारीहरूका अनुसार नेल्लोरमा पनि एउटा डुंगा फसेको थियो। त्यसमा सवार व्यक्तिहरूलाई भने सकुशल उद्धार गरिएको छ।

अधिकारीहरूले अवस्था सामान्य नभएसम्म माछा मार्न समुद्रमा नजान माछा मार्नेहरूलाई आग्रह गरेका छन्। आँधीको प्रभावले तटीय क्षेत्रमा समुद्र अशान्त हुनुका साथै भारी वर्षा भइरहेको छ। ऋषिकोंडा तटमा रहेका मछुवारेहरू र व्यापारीहरूले यसबारे प्रहरीलाई जानकारी गराएका थिए।

आन्ध्र प्रदेश विपद् व्यवस्थापन प्राधिकरणका प्रबन्ध निर्देशक प्रखर जैनले आँधीको प्रभावले सोमबार र मंगलबार दक्षिणी तटीय क्षेत्र तथा रायलसीमामा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको बताएका छन्।

उनका अनुसार उद्धार तथा राहत कार्यका लागि राष्ट्रिय विपद् प्रतिकार्य बल (एनडीआरएफ)का ६ र राज्य विपद् प्रतिकार्य बल (एसडीआरएफ)का ७ टोली तयारी अवस्थामा राखिएका छन्। उनले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेका छन्।

विभागले नोभेम्बर ३ देखि ५ सम्म सडकमा यात्रा नगर्न चेतावनी दिएको छ। भारी वर्षाका कारण पहिरो जाने तथा पहाडबाट चट्टान खस्ने जोखिम रहेकाले यात्रा स्थगित गर्न सर्वसाधारणलाई सुझाव दिइएको छ।

मौसम विज्ञान विभागले आँधीको प्रभावले तेलंगानामा पनि भारी वर्षा हुने जनाएको छ। सोमबार खम्मम, नलगोंडा, सूर्यापेट, महबुबनगर, वानापर्थी र नगरकुर्नुल जिल्लामा ‘ओरेन्ज अलर्ट’ जारी गरिएको थियो। त्यस्तै मुलुगु, भद्राद्री, महबुबाबाद, वारंगल, जनगाउँ, संगारेड्डी, मेडक, हनुमाकोंडा, यदाद्री, मेडचल, हैदराबाद, रंगारेड्डी र विकाराबाद जिल्लामा मध्यम वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ।

विभिन्न राज्यमा भारी वर्षाको चेतावनी

विभागले आँधीको प्रभावका कारण दक्षिण भारतका आन्ध्र प्रदेश, तेलंगना, तमिलनाडु, ओडिसा र केरल राज्यका विभिन्न स्थानमा भारी वर्षा हुने अनुमान गरेको छ छ।

यसका अतिरिक्त कर्नाटक, महाराष्ट्र, मध्य प्रदेश, छत्तीसगढ, झारखण्ड, बिहार र पूर्वोत्तर भारतका केही राज्यमा पनि वर्षा हुने सम्भावना छ।

अघिल्लो आँधीले क्षति, किसान थप चिन्तित

आन्ध्र प्रदेशका विभिन्न क्षेत्रमा आँधी ‘मुरासु’को प्रभाव देखिएको छ। श्री पोट्टी श्रीरामुलु नेल्लोरसहितका जिल्लामा वर्षा भइरहेको छ। आइतबार रातिदेखि नै नेल्लोर, काकिनाडा र डा. बीआर अम्बेडकर कोनासीमा जिल्लामा वर्षा सुरु भएको थियो।

आँधीका कारण कृष्णा, काकिनाडा, श्रीकाकुलम, विजयनगरम, पार्वतीपुरम र मन्यम जिल्लाका विभिन्न स्थानमा पनि वर्षा भइरहेको छ। काकिनाडा र आसपासका क्षेत्रमा वर्षाका कारण सडक जलमग्न भएका छन्। तुनीमा सोमबार बिहानदेखि वर्षा भइरहेको थियो। कृष्णा जिल्लामा हल्का वर्षा भएको छ भने कोनासीमा जिल्लाका अमलापुरम र अम्बाजीपेट क्षेत्रमा पनि पानी परेको छ।

आँधीको जोखिमलाई ध्यानमा राख्दै मन्त्री अचन्नायडूले श्रीकाकुलम जिल्ला प्रशासनलाई सतर्क रहन निर्देशन दिएका छन्।

यसअघि आएको चक्रवाती आँधी ‘अर्नब’का कारण आन्ध्र प्रदेशका विभिन्न क्षेत्रमा बालीमा क्षति पुगेको थियो। त्यसलगत्तै अर्को आँधीको जोखिम बढेपछि किसान थप चिन्तित बनेका छन्।

कृष्णा जिल्लामा धानसँगै बाजरा, बदाम, कपास, उखु र बागवानीजन्य बालीमा पनि क्षति पुगेको छ। बाढीको प्रभावबाट तङ्ग्रिन नपाउँदै फेरि वर्षा भएमा बाली पूर्ण रूपमा नष्ट हुन सक्ने चिन्ता किसानमा छ।

आँधी प्रभावित क्षेत्रमा सर्वसाधारणले भोगिरहेका समस्याबारे ह्वाट्सएपमा उपलब्ध सरकारी सेवा ‘मनमित्र’मार्फत अधिकारीहरूलाई जानकारी गराउन सकिने व्यवस्था गरिएको छ।

विद्युत् आपूर्ति अवरुद्ध भएको, रूख वा पर्खाल ढलेको तथा बाढी आएको जस्ता समस्या उक्त सेवामार्फत दर्ता गराउन सकिने अधिकारीहरूले बताएका छन्।

चक्रवाती आँधी ‘मुरासु’का कारण आन्ध्र प्रदेशका तटीय क्षेत्रमा रेल तथा हवाई सेवा प्रभावित भएका छन्। दक्षिण मध्य रेलवे र पूर्वी तटीय रेलवेका करिब ३२ रेल रद्द गरिएका छन् भने केही रेलको मार्ग परिवर्तन गरिएको छ।

चेन्नई विमानस्थलबाट विजयवाडा, राजमुन्द्री, कडप्पा र तिरुचिका लागि इन्डिगोका ११ उडान नोभेम्बर २ मा रद्द गरिएका थिए। इन्डिगोले विजयवाडा, राजमुन्द्री र तिरुपति विमानस्थलबाट हुने उडानसमेत प्रभावित भएको जनाएको छ। विशाखापट्टनम विमानस्थलको सेवा पनि प्रभावित भएको समाचारमा उल्लेख छ।

रेल वा हवाई यात्रा गर्नुअघि सम्बन्धित रेलवे तथा विमान कम्पनीका आधिकारिक वेबसाइटमा पछिल्लो जानकारी जाँच गर्न अधिकारीहरूले आग्रह गरेका छन्। हवाई यात्रुलाई आफ्नो दर्ता भएको मोबाइल नम्बरमा प्राप्त सन्देशसमेत हेर्न सुझाव दिइएको छ।

आँधीका कारण विभिन्न राज्यमा भारी वर्षा हुने अनुमानपछि विद्यालय तथा कलेज बन्द गरिएका छन्। आन्ध्र प्रदेशका १० जिल्लामा उच्च सतर्कता जारी गरिएको छ। ती जिल्लाका विभिन्न क्षेत्रमा विद्यालय र कलेज बन्द गरिएका छन्। छिमेकी ओडिसामा पनि वर्षाको जोखिमलाई ध्यानमा राख्दै बिदा घोषणा गरिएको छ।

द हिन्दू का अनुसार भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै चेन्नईसहित तमिलनाडुका विभिन्न जिल्लामा सोमबार विद्यालय र कलेज बन्द गर्ने निर्णय गरिएको थियो।

ओडिसाका मुख्यमन्त्री मोहनचरण माझीले आइतबार भुवनेश्वरस्थित विशेष राहत आयुक्तको नियन्त्रण कक्षमा आँधी ‘मुरासु’को अवस्था र सम्भावित मार्गबारे समीक्षा गरेका थिए।

आन्ध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडुले आँधीको तयारीमा जुट्नुपर्ने भएकाले सोमबारका लागि तय भएको दिल्ली भ्रमण रद्द गरेका थिए।

‘मुरासु’ नाम कसले राख्यो?

‘मुरासु’ तमिल भाषाको शब्द हो। यसको अर्थ ठूलो आकारको ढोल हो। परम्परागत रूपमा युद्ध, उत्सव तथा मानिसलाई कुनै खतराबारे सचेत गराउन यस्तो ढोल बजाउने गरिन्थ्यो।

कर्नाटक मौसम विज्ञान विभागका प्रमुख पुवियारसनले ‘मुरासु’ नाम आफूले चेन्नई मौसम विज्ञान विभागमा कार्यरत रहँदा प्रस्ताव गरेको बताएका छन्।

बीबीसी तमिलका अनुसार उनले एउटा भिडियोमा विश्व मौसम विज्ञान संगठन (डब्लूएमओ) ले आँधीको नामकरणका लागि केही मापदण्ड तय गरेको बताएका छन्। ती मापदण्डअनुसार आँधीको नाम धर्म वा राजनीतिसँग जोडिएको हुनु हुँदैन। कुनै व्यक्तिको निजी नाम पनि राख्न पाइँदैन। नामले कसैको भावनामा चोट पुर्‍याउनु हुँदैन। उच्चारण गर्न सजिलो हुनुपर्छ र आठभन्दा बढी अक्षरको हुनु हुँदैन। साथै नामको सर्वसाधारणसँग कुनै न कुनै सम्बन्ध हुनुपर्छ।

पुवियारसनका अनुसार यिनै मापदण्डलाई ध्यानमा राखेर ‘मुरासु’ नाम प्रस्ताव गरिएको थियो। प्राचीन समयमा राजाहरूको शासनकालमा सर्वसाधारणलाई सार्वजनिक सूचना दिन ‘मुरासु’ अर्थात् ठूलो नगरा बजाउने गरिन्थ्यो। विपद्का बेला महत्त्वपूर्ण घोषणा तथा सन्देश सर्वसाधारणसम्म पुर्‍याउन पनि यसको प्रयोग हुन्थ्यो। त्यसैले सर्वसाधारणसँग सम्बन्धित र सजिलै पहिचान गर्न सकिने नाम छनोट गरिएको उनको भनाइ छ।

प्रकाशित: १७ कार्तिक २०८३ ८:२१ | Tuesday, November 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast