डोनाल्ड ट्रम्प। तस्बिर : एपी/रासस
काठमाडौँ- अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल (क्रुड आयल) को मूल्यमा उल्लेख्य गिरावट आएसँगै इन्धनको खुद्रा मूल्य घटाउन विश्वव्यापी दबाब बढ्न थालेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पेट्रोल पम्प सञ्चालक र इन्धन विक्रेताहरूलाई तुरुन्तै पेट्रोल र डिजेलको दाम कम गर्न माग गर्दै कडा चेतावनी दिएका छन् ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेर प्रतिब्यारेल ६८ डलरको आसपासमा आउँदा पनि खुद्रा इन्धनको मूल्य भने आवश्यकताभन्दा बढी नै राखिएको भन्दै ट्रम्पले आक्रोश व्यक्त गरेका हुन् ।
आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसलमा लेख्दै ट्रम्पले भनेका छन्, ‘इन्धन विक्रेताहरूले तुरुन्तै मूल्य घटाउनुपर्छ । हालको कच्चा तेलको मूल्यका आधारमा उपभोक्ताहरूबाट बढी रकम असुल भइरहेको छ।’ट्रम्पले आवश्यकताभन्दा बढी मूल्य असुल्नु गैरकानुनी भएको उल्लेख गर्दै यदि विक्रेताहरूले चाँडै मूल्य समायोजन नगरे ठुलो कानुनी र व्यावहारिक झमेलाको सामना गर्नुपर्ने चेतावनीसमेत दिएका छन् ।
विश्व बजारको तथ्याङ्कअनुसार गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि संयुक्त आक्रमण शुरू गरेपछि मध्यपूर्व (पश्चिम एसिया) मा भीषण तनाव उत्पन्न भएको थियो । उक्त द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धन आपूर्तिमा अवरोध आउने डरले ‘ब्रेन्ट क्रुड’ को मूल्य तीव्र रूपमा बढेको थियो ।
युद्ध शुरू हुनुअघि प्रतिब्यारेल करिब ७६ अमेरिकी डलर रहेको ब्रेन्ट क्रुडको भाउ युद्धको उत्कर्षका बेला प्रतिब्यारेल ११० डलरभन्दा माथिसम्म पुगेको थियो । तर पछिल्लो समय मध्यपूर्वमा युद्धविरामको अवस्था सिर्जना हुनु, मुख्य व्यापारिक मार्गहरू पुनः सञ्चालनमा आउनु र आपूर्ति व्यवस्था सहज बन्दै गएका कारण कच्चा तेलको मूल्यमा भारी गिरावट आएको छ ।
हाल अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य युद्ध शुरू हुनुअघिको स्तरभन्दा पनि तल झरिसकेको छ । अहिले ुब्रेन्ट क्रुडु को मूल्य प्रतिब्यारेल ७२ देखि ७३ अमेरिकी डलरको बिचमा कारोबार भइरहेको छ भने ुडब्ल्युटीआई क्रुडु पनि घटेर करिब ६९ देखि ७० अमेरिकी डलरको हाराहारीमा आइपुगेको छ । अघिल्लो महिनाको तुलनामा मात्रै ब्रेन्ट क्रुडको मूल्य २० प्रतिशतभन्दा बढीले घटिसकेको छ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा र प्रशोधित दुवै पेट्रोलियम पदार्थको लागत मूल्यमा ठुलो गिरावट आइसके पनि नेपाली उपभोक्ताले भने यसको प्रत्यक्ष लाभ पाउन सकेका छैनन् । नेपालमा सरकार र नेपाल आयल निगमले इन्धनको मूल्य घटाउन आनाकानी गरिरहेका छन्, जसका कारण उपभोक्तामाथि अनावश्यक आर्थिक भार थपिँदै गएको छ ।
विगतको अभ्यास हेर्दा अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्नेबित्तिकै रातारात मूल्य बढाएर स्वचालित मूल्य प्रणालीको दुहाई दिने सरकार र आयल निगम, अहिले अन्तर्राष्ट्रिय बजारमा मूल्य उल्लेख्य रूपमा घट्दा भने विभिन्न प्राविधिक कारण देखाउँदै पन्छिन खोजेका छन् ।




